लगानीकर्ताले दुस्मन ठानेका गभर्नर निलम्बनमा पर्दा पनि सेयर बजार घटेको घट्यै



काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । जे–जति कारण सेयर बजार प्यानिक भएपनि लगानीकर्ताहरुले भने त्यसको दोष राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीलाई दिँदै आएका थिए ।

गभर्नर अधिकारीले सेयर बजारमा हुने लगानीमा केही कडाइ गरेपछि लगानीकर्ताहरुले उनलाई आफूहरुको दुस्मन भएको बताउँदै आएका थिए ।

गत चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्दा अधिकांश लगानीकर्ताहरु खुसीले गदगद् भएका थिए । किनभने, उनीहरुले सेयर बजारको दुस्मन ठानेका गभर्नर अधिकारीलाई सरकारले हटाउने नियतले छानविन गर्न कमिटि गठन गरेको छ । यो सँगै उनी निलम्बनमा परेका हुन् ।

तर, लगानीकर्ताको त्यो दोष भने बजारले पुष्टि गरेन ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेलगत्तै लगानीकर्ताहरुले अब बजारमा बहार छाउने भन्दै चर्चा गरेका थिए । तर, यो अवधिमा (आइतबार)सम्म आइपुग्दा बजार ६७.६८ अंकले घटेको छ । चैत २८ गते बजार २४५५.२० बिन्दुमा रहेको थियो । त्यसअघिको कारोबारमा चैत २५ गते बजार २४५३.३२ बिन्दुमा रहेको थियो ।

सरकारले गभर्नरलाई निलम्बन गरेपछि चैत मसान्तमा एक दिन मात्रै बजार बढ्याे बाँकी कुनै पनि दिन बजार बढेको छैन । चैत २९ गते बजार २३९५.०४ बिन्दुमा रोकिएको बजार ३० गते भने केही बढ्याे । गत वर्षको अन्तिम दिन ३० गते बजार ३०.२४ अंकले बढेर परिसूचक २४१५.२४ बिन्दुमा रोकिएको थियो । बजारले २३०० को बिन्दु गत वर्षमा नै छोएको थियो । त्यसले वैशाखमा पनि निरन्तरता पाएको छ ।

वैशाखको पहिलो कारोबार दिन नै बजारले लगानीकर्तामा निरासा छाएको छ । आइतबार बजार २९.६० अंकले घटेको छ ।

नेप्से सूचक र कारोबार रकम दुबै घटेपछि गभर्नर निलम्बनमा रमाएका लगानीकर्ताहरु निराश बनेका छन् । यसले के पनि बताउँछ भने नेपाली सेयर बजारका लगानीकर्ताहरुले वास्तविकता भन्दा पनि कसैले केही भन्यो भने त्यसको लहैलहैमा लाग्दा रहेछन् । यदि लगानीकर्ताले दाबी गरेजस्तै गभर्नरको नीतिका कारण सेयर बजार घटेको थियो भने उनी निलम्बनमा परेसँगै बढ्नुपर्ने हो । तर, लगातार घटिरहेको छ ।

निलम्बित गभर्नर अधिकारीले मौद्रिक नीतिमा ४÷१२ को नीति लिएको, सिसिडी रेसियो हटाएर सिडी रेसियो लागू गरेको जस्ता कारण बजारमा गिरावट आएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।
तर, सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको साता बितिसक्दा पनि बजारमा गिरावट आउनेक्रम भने रोकिएको छैन । बजार घटेपपछि केही नै केही बाहना बनाउने लगानीकर्ताले अहिलेको गिरावटलाई तरलता अभावसँग जोडेका छन् ।

राष्ट्र बैंकको नीतिका कारण बजार घटेको भन्ने लगानीकर्ता अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएर बजारले गति लिन नसकेको बताउँन थालेका छन् ।

नजिकिँदो स्थानीय तह निर्वाचनले बजार बढ्ने धेरैको अपेक्षा रहेको र त्यो अपेक्षा पुरा नभएपछि गभर्नरको कारबाहीले बजार बढ्छ भन्ने लगानीकर्ता अहिले जिल्लै परेका छन् ।

बियरिस टे«न्ड समातेको बजारलाई जसले जति नै बाहना बनाएपनि सुधारको बाटोमा आउने सम्भावना न्यून रहेको जानकार लगानीहर्ताहरुको तर्क छ । विभिन्न बाहनालाई देखाएर बजारमा उछाल आउँछ भन्ने लगानीकर्ताको भाषणबाजीलाई बजारले अस्विकार गरेको छ ।


क्लिकमान्डु