भारतमा हुने निर्यात ४४%ले बढेपछि नारायणी आयलको आम्दानी २ वर्षमा दोब्बर



काठमाडौं । नारायणी आयल रिफाइनरी उद्योगको व्यवसाय २ वर्षमा करिब दोब्बर भएको छ ।

कम्पनीका अनुसार सन् २०१९ मा कुल ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२१ सम्म आइपुग्दा ९८.८ प्रतिशतले वृद्धि गरी १० अर्ब ७४ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले सन् २०२० को तुलनामा भने सन् २०२१ मा ३१.८ प्रतिशतले कारोबार बढाएको छ । कम्पनीले सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२२ को पहिलो ६ महिनामा ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जसमध्ये ४ अर्ब ९ करोड ६० लाख रुपैयाँ तेल निर्यातबाट मात्रै आम्दानी गरेको छ ।

कम्पनीले क्रुड सोयाबिन, पाम आयल, सनफ्लावर र क्रुड पाम आयलका लागि विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीका अनुसार सञ्चालन आम्दानीमा कच्चा पदार्थको हिस्सा ८३ प्रतिशत छ ।

कम्पनीले सनफ्लावर, सोयाबिन र तोरीको तेल बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार सन् २०२१ मा भारतमा अत्यधिक मात्रामा सोयाबिन तेल निर्यात गरेको जनाएको छ । जसका कारण आम्दानीमा उल्लेख वृद्धि भएको हो ।

कम्पनीका अनुसार कम्पनीको कुल आम्दानीमा सोयाबिन तेलबाट हुने आम्दानीको हिस्सा ५२ प्रतिशत जबकी सोयाबिन तेल निर्यातको हिस्सा ७० प्रतिशत छ ।

कम्पनीले पछिल्लो ३० वर्षदेखि खान योग्य तेलको प्रोसेसिङ र मार्केटिङ गर्दै आएको छ । कम्पनीका उत्पादन आन्तरिक बजारमा खपतसँगै निर्यात समेत हुँदै आएका छन् ।

उद्योगमा मुलुकको प्रतिष्ठित ग्रुप चाचन फ्यामली ग्रुपको लगानी छ । ग्रुपले तेलसँगै सिमेन्ट उद्योगमा समेत लगानी गरेको छ । कम्पनीको बोर्डमा ६ जना सदस्य छन् ।

कम्पनीले उद्योगको प्लान्ट बारा जिल्लामा छ । कम्पनीले सन् २०२१ मा गरेको कुल आम्दानीको ४४ प्रतिशत हिस्सा भारतमा गरिएको निर्यातबाट प्राप्त गरेको थियो । कम्पनीले भारतमा पनि विशेष गरी पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश, राजस्थान र दिल्लीमा उत्पादन निर्यात गर्दै आएको छ ।

कम्पनीले पूर्वको इटहरी र पश्चिममा पोखरामा सेल्स डिपोमार्फत कारोबार गरिरहेको छ भने मुख्य कारोबार वीरगञ्जस्थित कार्यालयबाट हुँदै आएको छ ।

कम्पनीले त्रिशक्ती, स्माइल, आरोग्य, श्री, निलमणी, कुन्दन र निलकमल ब्राण्डमा आन्तरिक बजारमा तेल बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु