वस्तु निर्यात गर्ने कि पैसा ?



जनता उत्पादनसँग जोडिन पर्नेमा उपभोक्ताका रुपमा स्थापित हुँदैछन् । जनताको क्रयशक्ति एकदम कमजोर भएर जाँदैछ । देश विकासले गति लिन सकेको छैन ।

सरकार करको दर बढाउन व्यस्त छ । आयकरको मुख्य स्रोत भन्सार शुल्क बनेको छ । धेरै राजस्व संकलन गर्ने र भन्सारलाई नै तोकेर राजस्व उठाउनु पर्ने बाध्यता छ । यो राम्रो संकेत होइन ।

वैदेशिक आम्दानीको एकमात्र स्रोत वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको मेहनत र परिश्रमले देशको सम्पूर्ण व्यापार घाटाको व्ययभार थामेको छ । यस्तै प्रकारले युवा जनशक्ति विदेश पलायन हुँदै जाने, व्यापार घाटालाई नियन्त्रण नगर्ने र हाम्रा हराभरा जमिन यसरी बाँझो राख्ने प्रवृत्ति बढ्दै गए एक दिन हाम्रो सामु ठूलो पहाडको चुनौती थपिने छ ।

जसलाई पन्छाएर हामी अगाडि बढ्न सक्दैनौं । त्यसैले समयमा नै सम्पूर्ण उद्योगी, व्यापारी र सरकारले अब देशको बारेमा सोच्ने हो की आफ्नो व्यक्तिगत स्वार्थलाई मात्र अगाडि बढाउने हो ? सबैभन्दा पहिले राष्ट्र र राज्यका लागि सोचौं, राष्ट्र समृद्ध भए राज्यभित्रका तमाम उद्योगधन्दा चलायमान हुन्छन् ।

जनताका लागि रोजगारी सिर्जना हुन्छ । जसका कारण सम्पूर्ण जनताको क्रय शक्ति बढ्नेछ । यस विषयमा अब खुल्ला बहस गर्ने बेला आएको छ ।

देशको आर्थिक यस्तो अवस्था चिन्ताजनक अवस्थामा छ । मारमा परेका उद्योगी, व्यापारी र जनताहरु मुकदर्शक छन् । बैंकमा निक्षेप अभावले अहिले देशको आर्थिक अवस्था झन विकराल बन्न पुगेको छ । बैंकका कर्मचारी झोला बोकेर घर दैलो गरेको गरेकै छन् । यसको जड शुत्र पत्ता लगाई दीर्घकालीन समाधान खोज्नुपर्छ ।

सम्पूर्ण विषय केलाएर हेर्दा देशमा यस्तो विषम आर्थिक अवस्था सिर्जना हुनुको कारण देशसँग वैदेशिक मुद्राको अभाव वा वैदेशिक मुद्रा आउने बाटो साँघुरिनु नै हो ।

हामी जति नै धनी भए पनि जब देशमा वैदेशिक मुद्रा सञ्चिति हुँदैन त्यस देशको अर्थतन्त्र धराशायी हुँदै जान्छ । अत्यावश्यक र दैनिक उपभोग्य वस्तु आयात गर्न सक्दैन ।

हाम्रो देशको अर्थतन्त्रको वैदेशिक मुद्रा डलर सञ्चितीका दुईवटा बाटा छन् । पहिलो निर्यात व्यापार – जुन आयातको तुलनामा नगन्य मात्रामा छ ।

हामी पैसा निर्यात गरेर सामान आयात गर्नेमा ठूलो धनराशी खर्च गर्छौं । जुन कुराले देशको अर्थतन्त्रलाई कमजोरमात्र होइन सधैभर धरासायी बनाई रहेको हुन्छ । हाम्रो जमिन, जल ,जङगल र खनिज वस्तुको सदुपयोग गर्न नसक्दा यस्तो परिस्थिति बनेको हो ।

देशभित्र उत्पादन गर्न सकिने वस्तुहरुको आयात नियन्त्रण, उत्पादनमा प्रोत्साहन गर्न नसक्नु पनि यसको कारण हो । जबसम्म किसानले उत्पादन गरेका वस्तु हामी उपभोग गर्ने बानी बसाल्दैनौं वा सस्तोका लागि दोस्रो वा तेस्रो मुलुकको वस्तुमा निर्भर गर्दछौँ, हाम्रो आयात यसरी नै बढिरहनेछ ।

किसानको हातमा रुपैयाँ पुर्याउनु भनेको क्रय शक्ति र उपभोक्ता बढाउनु हो । यो विषय महत्वपूर्ण र एकदम आवश्यक छ । माथि उल्लेखित जमिनको उत्पादन ,जलको आवश्यकता र खनिज पदार्थको खानी गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दा खोली आत्मनिर्भर भै निर्यात गर्न सके देशको चाँडै उन्नति हुन सक्छ ।

साथै, किसान र उद्योगीबीच सम्बन्ध र आवश्यकता बढ्नेछ । स्वदेशमा रोजगारीको सिर्जना गर्न सकिनेछ । राज्यले यी सबै कामको लागि किसानलाई अनुदान, उद्योगी र निर्यातकर्तालाई प्रोत्साहन र सम्मान दिन सक्नु पर्दछ । झन्झटिलो प्रक्रियालाई हटाउनु आजको आवश्यकता हो ।

दोस्रो वैदेशिक रोजगारीमा गएका हाम्रा नेपाली युवाले पठाएको रेमिट्यान्स सबैभन्दा ठूलो विदेशी मुद्राको स्रोत हो । वार्षिक करिब १० खर्ब रुपमा नेपालले रेमिटेन्सको रुपमा प्राप्त गर्छ । यो रकम विदेशी सामान आयात गर्दा खर्च हुने गरेको छ ।

यति ठूलो रकमलाई हामीले किन स्वदेशको उद्योगधन्दा, रोजगारी र आधुनिक कृषि प्रणालीमा खर्च गर्न सकेनौं ? कमसेकम अति आवश्यक वस्तुबाहेक अन्य आयातमा कटौती गर्न सके आधा रकम हामी बचाउन सक्नेछौं र उत्पादन र रोजगारी क्षेत्रको विकासमा खर्च गर्न सके यसले भविष्यमा देशका लागि र सम्पूर्ण क्षेत्रका व्यवसायीहरुका लागि दूरगामी अर्थ राख्नेछ ।

यो लेख ‘चेम्बर स्मारिका-२0७८ को अर्थतन्त्रको पुनरुद्धारबाट साभार गरिएको हो ।


क्लिकमान्डु