मोबाइलसहित ४७ वस्तुको आयातमा बैंकले एलसी रोकेपनि तत्काल अभाव नहुने



काठमाडौं । बढ्दो आयातले नेपालको विदेशी सञ्चिती घट्दै गएपनि नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दै लगेको छ ।

राष्ट्र बैंकले गत पुस ५ गते १८ वटा वस्तुको आयातमा शतप्रतिशत र २ वटा वस्तुको आयातमा ५० प्रतिशत मार्जिन प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, उच्चरुपमा आयात भएको भन्दै पुनः राष्ट्र बैंकले माघ २६ गते ४७ वटा वस्तुको आयातमा एलसी खोल्नुपर्ने व्यवस्था गर्यो । उक्त व्यवस्थाले पनि आयातमा कुनै कमी नदेखिएपछि राष्ट्र बैंकले आयातलाई कम गर्नका लागि कडा रुपमा प्रस्तुत भएको छ ।

हालै राष्ट्र बैंकले बैंकहरूलाई एलसी लागू गरिएको वस्तुको आयातमा एलसी नखोल्न निर्देशन दिएको थियो । सोहीअनुसार नेपाल बैंकर्स संघले आइतबार एलसी नखोल्ने निर्णय गरेको छ । बैंकर्स संघले ४७ वटा वस्तुसहित मोबाइल आयात पनि एलसी रोक्ने निर्णय गरेको छ । मोबाइलफोन आयात गर्नका लागि यसभन्दा अघि नगद मार्जिनको व्यवस्था गरेको थिएन ।

तर, मोबाइलफोनको आयात बढी भएको हुँदा गाडीसहितका वस्तुमा मोबाइलसमेत राखेर आयातमा एलसी रोक्ने निर्णय गरेको संघले जनाएको छ ।

बजारमा बिलासिताको वस्तुको रुपमा सुनचाँदी, मोबाइलफोनको आयातमा एलसी रोक्ने निर्णय गरेसँगै यसको प्रभाव बजारमा कस्तो पर्छ भन्ने सबैको चाँसोको विषय बनेको छ । साथै, आगामी दिनमा कालोबजारी, मूल्य बढाउनलगायतका समस्या आउन सक्ने अनुमान गरेको छ ।

तर, हालै बैकर्स संघले मोबाइल आयातमा एलसी रोक्ने निर्णय गरेपनि तत्काल मोबाइल अभाव नहुने नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुलाद्यो बताउँछन् ।

उनकाअनुसार सरकारले विदेशी सञ्चिती घट्दै गएको अवस्थामा मोबाइल फोन आयातमा कडाइ गरेको छ । यसले बजारमा खासै प्रभाव नपर्ने देखिन्छ ।

‘अहिले बजारमा पर्याप्त मात्रामा मोबाइलफोन स्टकमा रहेको छ,’ उनले भने, ‘बजारको अवस्था पनि सुस्ताएको हुनाले तत्काल अभाव हुने छैन ।’

गतवर्ष उच्चरुपमा मोबाइलफोनको बिक्री भएको थियो । तर, यो वर्ष कोरोनाको असर कम र कोरोनाले आर्थिक मन्दी खपिरहेको अवस्थाले गर्दा मोबाइलफोनको व्यापार कम हुँदै गएको उनको भनाइ छ ।

त्यस्तै, नेपालमा वार्षिक ५० लाखको हाराहारीमा मोबाइलफोन सेट खपत हुने गर्दछ । तर, अहिले व्यापारीलगायत सम्पूर्ण गरेर नेपालमा १५ लाखभन्दा बढी मोबाइलफोन सेट मौज्दात रहेकाले एलसी रोक्ने निर्णयले अभाव नहुने उनले जिकिर गरे ।

‘उच्च रुपमा आयात हुँदै आएको वस्तुमध्ये मोबाइलफोन पनि हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘नेपालले ८ महिनाको अवधिमै पर्याप्त मोबाइलफोन आयात गरेको देखिन्छ । त्यसैले, १५ लाख मोबाइलफोन सेट मौज्दात रहेकाले आगामी ६ महिना बजार धान्न सक्छ ।’

तर, बजारमा निकै चर्चित ब्रान्ड सामुसुङ, एमआईका मोबाइलफोन भने अभाव हुन सक्ने उनको बुझाइ छ । बजारमा सबैभन्दा बढी बिक्री हुने भएकाले आयात गर्न नसक्दा उक्त मोबाइलफोनको अभाव हुन सक्छ ।

तर, उक्त मोबाइलको बिकल्प अर्को प्रयोग गर्ने हो भने अभाव नहुने उनको दाबी छ । नेपालले ८ महिनाको अवधिमा मात्रै ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४२ लाख ६० हजार मोबाइलसेट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, सरकारले सुनचाँदीलाई विभिन्न चरणमा आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले सुनचाँदी आयातमा एलसी नखोल्न निर्देशन दिएसँगै बैंकर्स संघले एलसी नखोल्ने निर्णय गरेको छ ।

वैशाखदेखि विवाहलगायत अन्य चार्डपर्व अत्यधिक हुने गर्दछ । जसले गर्दा बजारमा उच्चरुपमा सुनचाँदीको व्यापार हुने गर्दछ । तर, सोही अवधिमा सुनचाँदी आयातमा एलसी रोक्न लगाएसँगै बजारमा सुनचाँदी अभाव हुन सक्ने सबैको अनुमान छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर शाक्यले संघले गरेको निर्णयले तत्काल असर नपरे पनि आगामी दिनमा असर पर्ने बताए । उनकाअनुसार हाल बजारसँग ५ महिनासम्म धान्न सक्ने सुनचाँदी भएकाले तत्काल अभाव हुने देखिँदैन ।

‘बजारमा भएका सुनचाँदी बेच्ने हो भने ५ महिनाको लागि धान्न सक्ने अवस्था छ,’ उनले भने ।

त्यस्तै, बैंकर्स संघले विगत ४ दिनदेखि नै आयातित सुनको मौज्दात सकिएर व्यवसायीहरूलार्ई दिन बन्द गरेको उनले बताए ।

अहिले सुन रोक्ने निर्णयले साना व्यवसायीलाई भने असर पारेको उनको भनाइ छ । तर, ठूला सुनचाँदी व्यवसायीले आफ्नो स्टक मात्रै बेच्ने हो भने पनि ५ महिनासम्म टिक्न सक्ने क्षमता रहेको छ ।

५ महिनापश्चात भने के हुन्छ भन्ने स्थितिले बताउने उनले जिकिर गरे । नेपालले ८ महिनाको अवधिमा चाँदीको पाउडरलगायत चाँदी गरेर १५ अर्ब ३६ करोड ६४ लाख रुपैयाँ बराबरको १ लाख ६१ हजार ६८० केजी चाँदी र ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको ४३ सय ४५ केजी सुन आयात गरेको छ ।

एलसी रोक्ने निर्णयले तत्कालका लागि अभाव नदेखिए पनि कालीगढहरूको भने अहिले देखिनै रोजगारी गुमेको उनले बताए ।


क्लिकमान्डु