विदेशी लगानीको न्यूनतम सीमा घटाइने, कार्यदलले शुरु गर्यो अध्ययन



काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेका बेला सरकारले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेस होल्ड घटाउने गृहकार्य शुरु गरेको छ ।

विदेशी मुद्रा ल्याउने विभिन्न उपाय खोजिरहेको बेला सानो सानो व्यवसायमा पनि विदेशी लगानी ल्याउन सकिन्छ कि भनेर सरकारले त्यस सम्बन्धमा अध्ययन शुरु गरेको छ ।

अहिले विदेशबाट न्यूनतम ५ करोड रुपैयाँ लगानी ल्याउनु पर्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ आएपछि पहिलाको लगानीको सीमालाई बढाएर ५ करोड रुपैयाँ पुर्याइएको हो ।

सानो सानो क्षेत्रमा विदेशी लगानी नचाहिने भन्दै पाँच करोड रुपैयाँको थ्रेस होल्ड राखिएको भए पनि अहिले भने जसरी भए पनि विदेशी मुद्रा ल्याउने नीतिअनुसार अध्ययन अगाडि बढाइएको हो ।

विदेशी लगानीको सीमा परिवर्तन गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन गर्न कार्यदल पनि गठन भएको छ । सरकारले महिना दिनअघि उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा उक्त कार्यदल गठन भएको थियो ।

‘विभिन्न खालको सुझाव आएकाले यसको छलफल शुरु भएको छ,’ क्लिकमाण्डूसँग कुरा गर्दै तिवारीले भने, ‘अहिलेको सिलिङलाई पुनरावलोकन गर्न सकिने भए प्रतिवेदन तयार गर्ने भनेर हामीलाई म्यान्डेट दिइएको छ ।’

कार्यदल गठन भएसँगै विभिन्न सरोकारवालासँग छलफल शुरु भएको उनले बताए । महिनादिनभित्र प्रतिवेदन तयार गरेर मन्त्रालयमा पेश हुने उनले बताए ।

सरकारले विदेशी लगानीको थ्रेस होल्ड ५ करोड रुपैयाँ पुर्याएपछि यो रकम धेरै भयो भनेर गुनासो आइरहेको थियो ।

सूचना तथा प्रविधि, सफ्टवयर, होटल रेष्टुराँ जस्ता क्षेत्रमा पाँच करोडभन्दा कम लगानीमा पनि धेरै काम गर्न सकिने भएकाले पाँच करोडको सीमा राख्दा ती क्षेत्रमा लगानी नआउने उनीहरुको भनाइ थियो ।

विभिन्न क्षेत्रबाट विदेशी लगानीको न्यूनतम सीमा धेरै भयो भन्ने सुझावहरु आइरहेकाले यसलाई ‘रिभ्यु’ गर्न लागिएको तिवारीको भनाइ छ ।

‘कतिपय व्यससाय, आइडियाहरुमा त्यत्ति धेरै लागनी किन चाहियो भन्ने कुराहरु आइरहेका छन्,’ उनले भने, ‘हामी यस विषयमा स्टेक होल्डरसँग छलफल गरिरहेका छौं । उनीहरुका कुरा सुनिरहेका छौं ।’

नेपालमा उद्योग विभाग र नेपाल लागनी बोर्डमार्फत् विदेशी लगानी स्वीकृत हुन्छ । ६ अर्ब रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृति उद्योग विभागले गर्छ भने ६ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी लगानी बोर्डले गर्छ ।

न्यूनतम लगानीको सीमा तोकिए पनि ऐनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले लगानी गर्ने रकम र लगानीको हिस्साको अधिकतम सीमा तोकेको छैन ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियवमाली, २०७७ ले लगानीको रकमको आधारमा लगानीकर्ताको वर्गिकरण गरेको छ ।

पाँच करोड रुपैयाँखदेखि पच्चीस करोड रुपैयाँसम्मको लागनी गर्ने विदेशी लगानीकर्तालाई साधारण विदेशी लगानीकर्ता, पच्चीस करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्मको लागिनी गर्ने विदेशी लगानीकर्तालाई विशिष्ट विदेशी लगानीकर्ता भनेको छ ।

त्यस्तै, एक अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी गर्ने विदेशी लगानीकर्ताहरुलाई अतिविशिष्ट लगानीकर्ता भनेर वर्गीकरण गरेको छ ।


क्लिकमान्डु