यी ६ आयोजनाबाट भारतले बिजुली किन्ने, तामाकोशीको किन गरेन खरिद ?



काठमाडौं । भारत सरकारले नेपालमा ३६४ मेगावाट बिजुली किन्ने सहमति प्रदान गरेको छ ।

भारत सरकारको सहमतिपछि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मार्फत नेपालमा उत्पादित बिजुली भारतमा बिक्री हुनेछ । गत वर्ष नेपालबाट ३९ मेगावाट बिजुली भारतमा विक्री गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड सहित १० वटा आयोजनाबाट उत्पादित बिजुली भारतमा बिक्री गर्ने प्रस्ताव पठाएको थियो ।

तर, भारत सरकारले मर्स्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट, मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाको ६७ मेगावाट, देबीघाट जलविद्युत आयोजनाको १४.५५ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाको २३.२३ कालिगण्डकी जलविद्युत आयोजनाको १४० मेगावाट र लिखु चार जलविद्युत आयोजनाको ५१ मेगावाट बिजुली खरिद गर्ने सहमती दिएको हो । 

भारत सरकारले सहमति  दिएका ६ आयोजना मध्ये ५ वटा आयोजना नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा छन् । यस्तै लिखु ४ त्रिवेणी ग्रुप अन्तर्गत रहेको ग्रीन भेन्चरले निर्माण गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले अन्य आयोजनाको समेत बिजुली किन्ने बताउँछन् । 

‘भारतले तामाकोसी लगायत अन्य आयोजनाको विषय थप जानकारी मागेका छन्,’ घिसिङले क्लिकमाण्डूसँग भने, ‘हामी अब खिम्ती, चिलिमे लगायतका आयोजनाको समेत बिजुली विक्री गर्ने प्रस्ताव भारतमा पठाउन लागेका छौँ ।’

घिसिङले नेपाली लगानीमा निर्माण भएको ठूलो आयोजना अपर तामाकोशीले बिजुली भारतले खरिद गर्ने दाबी गर्छन् । तर, स्रोतहरूले भने अपर तामाकोसी आयोजना निर्माणमा चाइनिज ठेकेदार कम्पनी संलग्न रहेकाले भारतले तामाकोसीले बिजुली किन्न नखोजेको बताउँछन् । 

नेपालमा जलाशययुक्त आयोजना भन्दा नदी प्रवाहित जलविद्युत आयोजना बढी भएकाले सुख्खा याममा नेपालमा भारतबाट बिजुली आयात गर्नु पर्छ । तर, बर्खा याममा भने नेपालमा निर्माण भएका जलविद्युत आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्छन् । गत वर्ष भारतले नेपालमा उत्पादन भएको सम्पूर्ण बिजुली खरिद नगर्दा बर्खामा नेपालमा बिजुली खेर गएको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट बिजुली खरिद गर्नुको साथै नेपालको जलविद्युतमा लगानी गर्ने घोषणा गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले गत कात्तिकमा बिजुली विक्री गर्ने गरी पठाएको प्रस्तावमा भारतका प्रधानमन्त्री मोदीको घोषणा लगत्तै भारतको ऊर्जा मन्त्रालय सकारात्मक बनेको हो । त्यसपछि, भारत सरकारले नेपालका ६ जलविद्युत आयोजनाबाट बिजुली किन्ने सहमति प्रदान गरेको छ । 


क्लिकमान्डु