सरकारको कामप्रति पूर्वअर्थमन्त्री डा.महत असन्तुष्ट, अर्थतन्त्र सुधारका लागि यस्ता छन् सुझाव



काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको गुनासो गरेका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री महतले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको उल्लेख गरे । सरकारले समयमा नै पुँजीगत खर्च गर्न सकेको भए अहिलेको समस्या नआउने उनको बुझाई छ ।

उनले नेपालमा धेरै ठूलो आकारको बजेट घोषणा गर्ने काम भएको भन्दै गुनासो पोखे । ‘बजेट धेरै ठूलो घोषणा गर्ने अनि कार्यान्वयन गर्न नसक्ने, आन्तरिक र बाहृय ऋण पनि बढाउने, यसले ठूलो घाटा भएको छ’ उनले भने ‘मैले अर्थमन्त्री हुँदा ६-७ वर्ष पहिले कुल तिर्नुपर्ने आन्तरिक ऋण जिडिपीको २५ प्रतिशत बराबर थियो, अहिले बढेर ४० प्रतिशत आन्तरिक ऋण भएको छ । करिब ६० प्रतिशत जति वैदेशिक ऋण छ । जिडीपीको २ प्रतिशतभन्दा बढि आन्तरिक उठ्न हुन्न भन्ने हाम्रो नीति थियो । जिडिपीको अहिले ६ प्रतिशत आन्तरिक ऋण लिने घोषणा गरिएको छ । यसले गर्दा बजेट कार्यान्वयन हुन सकेन ।’

उनले बजेट किन ठूलो बन्यो ? भन्नुको पछाडि केही कारण रहेको बताए । अहिले प्रशासनिक खर्च ठूलो भएको, बाँडफाँड गर्ने पैसा, चालु खर्च अत्यन्तै बढि, विकास खर्च एकदमै कम हुने गरेकाले बजेट ठूलो हुने गरेको महतको भनाइ छ । ‘यही आर्थिक वर्षको कुरा गरौं, बजेटअनुसार खर्च नभएको अवस्था छ’ उनले भने ‘विकास र पुँजीगत खर्च पनि एकदम कम भएको छ। भएको खर्च पनि युक्तिसँगत रुपमा भएको छैन् ।’

कार्यक्रममा महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको सुनाए । विकास आयोजनाहरुको सही तवरले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकासको लागि पहिलो कुरा त आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उनको सुझाव छ । ‘वृद्धिद्धर बढाएपछि गरिबी निवारण पनि हुन्छ । जनताको जीवनस्तर पनि बढ्न थाल्छ । रोजगारीको अवस्था सिर्जना हुन्छ । लगानी बढ्न थालेपछि राष्ट्रिय आय पनि बढ्छ। जिडिपी पनि बढ्छ। रेभिन्यु पनि बढ्न थाल्छ। सरकारको क्षमता पनि बढ्छ’ उनले भने ‘आन्तरिक र वदैशिक लगानी पनि बढ्नुपर्छ । सरकारले पनि आफ्नो क्षेत्रमा लगानी बढाउनुपर्छ ।’

महतले फ्याक्टर प्रोडक्टिभिटी कम भएको भन्दै यसलाई बढाउनुपर्ने सुझाव दिए । ‘आर्थिक वृद्धि बढाउनको लागि फ्याक्टर प्रोडक्टिभिटीको क्षमता विकास गर्नुपर्छ । पूर्वाधार विकास पनि सुधार गर्नुपर्छ । उद्योग, पर्यटन क्षेत्रको पनि विकास गर्नुपर्छ । हाम्रो कृषि र निर्माणको क्षेत्रमा पनि लेवर कम छ । अर्को कुरा, सरकारको क्षमता पनि बढाउनुपर्छ’ उनले भने ‘तीन तहको सरकार छ । संविधानले तीन तहकै सरकारलाई जुन अधिकार दिएको छ, त्यो कार्यान्वयन गर्नुपर्छ । सही ठाउँमा सही मान्छे नियुक्ती गर्नुपर्यो । उपयुक्तताको आधारमा गर्नुपर्यो । योग्यता र क्षमताको आधारमा नियुक्ती गर्नुपर्छ । राजनैतिक सम्बन्धका आधारमा मात्रै नियुक्ती गर्नुहुँदैन् ।’


क्लिकमान्डु