बैंकमा तरलता अभाव, घरजग्गा कारोबारमा देखिएन असर



काठमाडौं । कोरोना महामारीले आर्थिक मन्दी खेपिरहेको अवस्थामा तरलता अभावले झनै समस्या निम्त्याएको छ ।

अहिले बजारमा तरलताको चरम अभाव छ । तर, तरलता अभावको समस्या निम्तिएपछि घरजग्गा कारोबार भने कुनै कमी आएको छैन । तरलताको चरम अभावकै बिच गत फागुनमा साउनपछि कै सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ ।

मासिक ७० हजारको हाराहारीमा किनबेच हुँदै आएकोमा फागुनमा मात्रै करिब ७५ हजार घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार फागुन महिनामा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको देखाउँदछ ।

उक्त संख्या चालु आर्थिक वर्षको मासिक रूपमा कारोबार भएको उच्च संख्या हो । बजारमा तरलता अभाव भइरहेको अवस्थामा घरजग्गामा उच्च रूपमा कर्जा प्रवाह हुँदा समस्या निम्तिएको बताउँदै आएका छन् ।

साथै, जग्गा अनुत्पादक क्षेत्र भएकाले घरजग्गाका लागि कम कर्जा प्रवाह हुनुपर्ने सरोकारवालाले बताउँदै आएका छन् । बजारमा विभिन्न समस्याका बाबजुद घरजग्गा कारोबारमा भने कुनै कमी आएको छैन ।

तरलता अभावले मूल्यमा केही असर पारेको देखिएपनि किनबेचमा खासै असर नपुगेको घरजग्गा कारोबार व्यवसायीहरू बताउँछन् ।व्यवसायीहरूका अनुसार तरलता अभावले गर्दा प्रत्यक्ष रूपमा ठुलो संख्यामा घरजग्गा कारोबार गर्ने व्यवसायीलाई बढी असर पारेको बताउँछन् । तर, साना व्यवसायी र खरिद गर्ने सर्वसाधारणहरूलाई खासै असर नपुर्‍याएको व्यवसायीहरूको भनाइ छ ।

नेपाल प्रोपोर्टी मार्केटको सञ्चालक अमोल प्रधानले तरलता अभावले घरजग्गा कारोबारमा कुनै असर नपरेको बताए । उनकाअनुसार ठूला व्यवसायी होस् वा सानो व्यवसायी होस् घरजग्गा बिक्री गर्ने सर्वसाधारणलाई हो ।

सर्वसाधारणहरूले घरजग्गा खरिद गर्नका लागि लामो समयदेखि रकम जम्मा गरेको हुन्छ । त्यसैले, बजारमा जस्तो सुकै अभाव देखिएपनि घरजग्गा कारोबारमा खासै असर नपर्ने उनको बुझाइ छ । नेपाली बजारमा गत कात्तिकदेखि विस्तारै तरलता अभाव देखिन थालेको थियो । करिब ६ महिनाअघिबाट शुरु भएको तरलता अभाव अहिलेसम्म सहज हुन सकेको छैन ।

 तरलता अभावले अधिकांश क्षेत्रमा असर पारेपनि घरजग्गा कारोबारमा कम असर परेको घरजग्गा व्यवसायीहरूले बताएका छन् । गत कात्तिकबाट तरलता अभाव हुन शुरु भएदेखि चैत २० गतेसम्ममा ३ लाख ६९ हजार ४२१ घरजग्गा किनबेच भइसकेको छ । जसमा देशभरबाट कात्तिकमा ५० हजार ८३ वटा घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८, माघमा ५९ हजार ५१६ र फागुनमा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको छ । साथै, चैत महिनाको २० गतेसम्ममा ४६ हजार २०६ घरजग्गा किनबेच भइसकेको छ । 

स्मार्ट दि स्टेटका सञ्चालक रोसन घिमिरेले तरलता अभावकै कारण घरजग्गा कारोबार नरोकिएको बताए । उनकाअनुसार तरलताले केही हदसम्म कारोबार कम भएपनि किनबेच नै नभएको अवस्था भने सिर्जना भएन । 

‘अहिले चुनाव पनि नजिकिँदै छ । चुनाव नजिकिएसँगै किनबेचमा केही कमी आउने देखिन्छ,’ उनले भने, ‘चुनावपश्चात् भने जुनसुकै अवस्थामा पनि किनबेच बढ्नेछ ।’त्यसैगरी, कोभिडका कारण धेरै व्यापार व्यवसायी असर पुर्‍याएको अवस्था छ । तर, घरजग्गा एक पटक लगानी गरेपछि कुनै समस्या नआउने भएकाले मानिसको घरजग्गा कारोबारमा बढ्दो आकर्षण रहेको उनको भनाइ छ । 

तरलता अभावपश्चात् राष्ट्र बैंकले घरजग्गा कारोबार कडाइ गर्ने हिसाबले विभिन्न नीति नियम लागू गरे पनि घरजग्गा किनबेच कम नहुने व्यवसायीहरूको बुझाइ छ । व्यवसायीहरूका अनुसार सर्वसाधारणले कमाएको पैसा खर्च हुने भनेकै जग्गा भएकाले घरजग्गा कारोबारमा तरलता अभावले कुनै असर परेको छैन ।

साथै, एक पटक किनिसकेको जग्गा कुनै पनि हालतमा मूल्य नघट्ने हुँदा सबैभन्दा बढी भरपर्दो लगानीको रूपमा लिने गर्छन् । जसले गर्दा मानिसले बढी घरजग्गामा खर्च गर्ने उनीहरूको भनाइ छ । 

त्यस्तै, अहिले २० दिनको अवधिमा भने देशभरबाट ४६ हजार  २०६ वटा घरजग्गाको किनबेच भइसकेको छ । अहिले बजारमा चरम तरलताको अभाव हुँदासमेत सो संख्यामा किनबेच हुन भनेको सामान्य मान्नुपर्ने विभागले जनाएको छ । विभागका अनुसार बजारमा तरलता अभाव देखिएपनि घरजग्गा कारोबारमा केही मन्दी आएको छ ।

तर, जुन हिसाबले मानिसहरूले तरलता अभावका कारण घरजग्गा किनबेचमा असर पुग्ने बताएका थिए । सो अनुसारको अवस्थामा आउनका लागि निकै समय लाग्ने विभागको भनाइ छ ।


क्लिकमान्डु