आइपीओ ल्याउने तयारी गरेको आईएमईको आम्दानी निरन्तर घट्दै



काठमाडौं । सर्वसाधारणका लागि सेयर निष्काशन (आइपीओ) जारी गर्ने तयारी गरिरहेको इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) रेमिट्यान्स लिमिटेडको आम्दानी निरन्तर घट्दै गएको छ ।

देशकै सबैभन्दा ठूलो र पूरानो रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमइको आइपीओ ‘ब्लूचिप’ बन्ने अपेक्षा गरिएका बेला कम्पनीको आम्दानी भने निरन्तर ओरालो लागिरहेको छ ।

विगतका वर्षहरूमा १ अर्ब बढी आम्दानी गर्दै आएकोमा पछिल्लो दिनमा भने आम्दानी घट्दै आएको देखिन्छ ।

इक्रा नेपालका अनुसार आईएमईको आम्दानी घट्दो अवस्थामा रहेको जनाएको छ । कम्पनीले सन् २०१९ मा १ अर्ब ११ करोड ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । सो वर्ष १ अर्ब बढी आम्दानी गरेको कम्पनीको सन् २०२० मा आम्दानी घटेको छ ।

सन् २०२० मा कम्पनीले ९३ करोड ४० लाख रुपैयाँमात्रै आम्दानी गरेको इक्रा नेपालले जनाएको छ । त्यस्तै, सन् २०२१ मा आम्दानी झनै घटेर ७९ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ ।

त्यसैगरी, कम्पनील सन् २०२२ को दोस्रो त्रैमासिकसम्ममा ३८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले आफ्नो आम्दानी घट्दै गएकोमा मुख्य दुई कारण औंल्याएको छ । जसमा कम्पनीले आन्तरिक तथा बाह्य रेमिट्यान्सको कमिशन घटेको र अर्को फरेक्स गेनले धेरै असर पारेको उल्लेख गरेको छ ।

आन्तरिक तथा बाह्य क्षेत्र रेमिट्यान्स कारोबारमा स्थापित रेमिट्यान्स कम्पनीको पछिल्लो दिनमा नाफा घट्दै गएकाले बजार हिस्सा पनि घट्दै गएको देखिन्छ । कम्पनीका अनुसार अहिले नेपालमा रेमिट्यान्स कम्पनीहरूको बढ्दो प्रतिस्पर्धा भएकाले बजारमा हिस्सा सन् २०२१ मा २२ प्रतिशतमा सिमित भएको छ । सन् २०१९ मा कम्पनीको बजार हिस्सा २६ प्रतिशत थियो ।

कम्पनीका अनुसार बाह्य रेमिट्यान्स कारोबारमा सन् २०१९ मा ०.२५ प्रतिशत कमिशन थियो भने सन् २०२१ मा आइपुग्दा घटेर ०.१८ प्रतिशत कायम भएको छ । साथै, आन्तरिक कारोबारमा सन् २०१९ मा ०.७३ प्रतिशत कमिशन रहेकोमा अहिले ०.६६ प्रतिशत कायम भएको छ । तर, सन् २०२० मा ०.७५ प्रतिशत थियो ।

विदेशी मुद्राको परिमाणमा पनि क्रमशः घट्दै गएकाले कम्पनीको बजार हिस्सा र मुद्राको दरमा असर पुगेको कम्पनीले जनाएको छ । जसले गर्दा सन् २०२० मा १५ प्रतिशत र सन् २०२१ मा १६ प्रतिशतले कम्पनीको आम्दानी घटेको जनाएको छ ।

आईएमई रेमिट्यान्सले ६० प्रतिशतमात्रै आन्तरिक रेमिट्यान्सबाट आम्दानी गरेको जनाएको छ ।
चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको संयुक्त लगानी रहेको आईएमई गु्रपले विगत लामो समयदेखि बैंकिङ, इन्स्योरेन्स, हस्पिटालिटी र इन्स्फ्रस्टक्चरमा काम गर्दै आएको छ ।

दुई दशकदेखि देशभित्रै रेमिट्यान्सको सेवा प्रवाह गर्दै आएको छ ।

कम्पनीले आन्तरिक तथा बाह्य देशमा आफ्नो सञ्जाल बनाएको छ । कम्पनीको अहिलेसम्म २० वटा मनि ट्रान्सफर अपरेटर र आन्तरिक बजारमा ३० हजार प्रत्यक्ष एजेन्ट रहेकाले आन्तरिक तथा बाह्यरुपमा सेवा दिँदै आएको छ । आईएमईको बजार हिस्सा सन् २०२१ मा २२ प्रतिशत रहेको छ । कम्पनीका अनुसार जुन निकै सकारात्मक हो ।

नेपालमा रेमिट्यान्सको योगदान निकै ठूलो भएता पनि मुख्य १० वटा देशको हिस्सा ९० प्रतिशत रहेको छ । सबैभन्दा बढी रेमिट्यान्स् आउने देशमा कतार, युएई, भारत र मलेसियालगायत अन्य देशहरु रहेका छन् ।

आइपीओ निष्काशनका लागि आईएमई ४ वर्षअघि नै पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ । धेरै रेमिट्यान्स भित्र्याएको भन्दै सरकारले लगातार आईएमईलाई सीआइपी सम्मान पनि गर्दै आएको छ । आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ ।


क्लिकमान्डु