कोरोना अवधिमै ७३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा मात्रै ३० अर्ब बढी



काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा धेरै मर्का परेको क्षेत्र हो पर्यटन । केही होटल व्यवसाय बन्द भए । पर्यटन आगमन नहुँदा धेरै पर्यटन व्यवसायी पलायन पनि भए ।

कोरोना संक्रमणको यही दुई वर्षको अवधिमा भने सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिवद्धता पर्यटन व्यवसाय क्षेत्रमा आएको छ । उद्योग विभागको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा पर्यटन क्षेत्रमा ३० अर्ब ६० करोडभन्दा धेरैको लगानी प्रतिवद्धता आएको छ ।

मुलुकमा २०७६ चैतदेखि कोरोना संक्रमण फैलिएको थियो । कोरोना संक्रमण रोक्न भनेर सरकारले चैत ११ देखि पहिलो लकडाउन घोषणा गरेको थियो । उद्योग विभागको तथ्यांकअनुसार २०७६ चैत ११ देखि २०७८ चैत ११ सम्म पर्यटन क्षेत्रमा १७८ वटा परियोजना सञ्चालन गर्न उक्त प्रतिवद्धता आएको छ । यी परियोजनामा ६ हजार ८ सय ९ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ ।

पर्यटन क्षेत्रमा आएको यो प्रतिवद्धतामध्ये अधिकांस होटल तथा रेष्टुरेष्ट संचालनको लागि आएको छ । पर्यटन क्षेत्रमा आएको लगानीको प्रतिबद्धतामध्ये १६७ वटा होलट तथा रेष्टुराँ सञ्चालनको लागि लगानीको प्रतिबद्धता आएको छ ।

त्यसबाहेक ७ वटा स्पा, ३ वटा कन्स्ट्रक्सन सर्भिस इन्ड्रष्ट्री र एउटा इन्टरनेसनल कार्गो होल्डिङ सर्भिस सञ्चालन गर्न भनेर लगानी आएको छ । यी परियोजना अधिकांश काठमाडौं र अरु केही कास्की, ललितपुर, मुगु, काभ्रे, भक्तपुर, बारा, पर्सा र सुनसरीमा सञ्चालन हुने उल्लेख छ ।

पर्यटन क्षेत्रमा आएको ३० अर्ब रुपैयाँसँगै मुलुकमा कोरोना संक्रमण फैलिएको दुई वर्षको अवधिमा ७३ अर्ब रुपैयाँभन्दा धेरैको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार २०७६ चैत ११ देखि २०७८ चैत ११ सम्म मुलुकमा ७३ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता (एफडीआई) आएको हो । दुई वर्षको अवधिमा ३८२ परियोजनाको लागि उक्त प्रतिवद्धता आएको छ । जसले १६ हजार ७ सय ३३ जनालाई रोजगारी दिने उल्लेख छ ।

पर्यटन क्षेत्रपछि सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिवद्धता आएको क्षेत्र हो सेवा क्षेत्र । सेवा क्षेत्रमा १ सय १७ परियोजना सञ्चालन गर्न भन्दै २८ अर्ब ३९ करोड ४० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सेवा क्षेत्रमा आएका यी परियोजनामा ५ हजार ६ सय २६ जनालाई रोजगारी दिने जनाइएको छ ।

त्यस्तै, उत्पादनमूलक परियोजनाको लागि ६ अर्ब ८२ करोड ४० लाख रुपैयाँको एफडीआईको प्रतिवद्धता आएको छ। ४८ वटा परियोजना सञ्चालान गर्दै २ हजार १ सय ६८ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।

त्यसपछि धेरै वैदेशिक लगानीको प्रतिवद्धता आएको क्षेत्र हो सूचना तथा सञ्चार प्रविधि । सूचना तथा सञ्चार प्रविधिमा ४ अर्ब ५७ करोड ५१ लाख रुपैयाँको लगानी गर्ने प्रतिवद्धता आएको छ । २७ वटा परियोजना सञ्चालन गरेर १ हजार ३ सय ६८ रोजगारी दिने प्रतिवद्धता रहेको छ ।

त्यस्तै, ऊर्जामा आधारित ५ परियोजनाको लागि १ अर्ब ६० करोड र कृषि तथा वनमा आधारित परियोजनाको लागि १ अर्ब १२ करोड रुपैयाँ बराबरको लगानीमा ७ वटा परियोजना संचालन गर्ने प्रतिवद्धता आएको छ ।


क्लिकमान्डु