१ करोड ९० लाख टन स्टीलको फोहोरबाट यस्तो बन्यो सडक



एजेन्सी । के फोहोरबाट अनेकन निर्माण गर्न सकिन्छ ? किन नसकिनु, अवश्य पनि सकिन्छ । औद्योगिक क्षेत्रबाट निस्कने फोहोर वा बाँकी रहेका सामग्रीबाट असाध्यै राम्रो सडक बनाउन सकिन्छ ।

भारतको पहिलो स्टीलको कारखानाबाट निस्केको फोहोर प्रयोग गरेर सडक बनाइएको छ । उक्त सडक गुजरातमा निर्माण भएको समाचार विवरणहरुमा जनाइएको छ । गुजरातको सुरतमा १९ मिलियन टन स्टील प्लान्टको फोहोरबाट एक किलोमिटर लामो ६ लेन चौडा सडक निर्माण गरिएको छ ।

गुजरातको सूरत सहरको हजिरा औद्योगिक क्षेत्रमा एक किलोमिटर लामो स्टील सडक बनाइएको छ । कूल ६ लेन चौडाईको यो सडक बनाउन स्टील प्लान्टको १ करोड ९० लाख टन फोहोर प्रयोग भएको छ ।

हाजिरा बन्दरगाहको यो सडक ठूला सवारी साधनको आवतजावतका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ । स्टील फोहोरबाट बनेको यो सडकबाट अहिले दैनिक १८ देखि ३० टन वजनका एक हजारभन्दा बढी ट्रक ओहोरदोहोर गर्ने गरे पनि सडक बिग्रिएको छैन ।

भारतका विभिन्न स्टील प्लान्टहरूबाट हरेक वर्ष लाखौं टन फोहोर उत्पादन हुन्छ । यो फोहोर पहाड जस्तै थुप्रिएको छ ।

फोहोर व्यवस्थापनमा गम्भीर बनेको भनिएको भारतीय सरकारले यसलाई देशको विकास निर्माणमा प्रयोग गरिरहेको दाबी गरेको छ । लामो अनुसन्धानपछि गुजरातमा यो स्टील फोहोरबाट सडक बनाइएको बताइन्छ । यो पाइलट प्रोजेक्ट थियो । अब देशका विभिन्न राज्यमा निर्माण हुने राजमार्ग पनि स्टिलको फोहोरबाट बन्ने भएका छन् ।

स्टील फोहोरबाट बनेको गिट्टी
स्टील सडक निर्माणमा लामो प्रक्रियापछि पहिले स्टीलको फोहोरबाट गिट्टी बनाइयो र त्यसपछि त्यही गिट्टीलाई सडक बनाउन प्रयोग गरियो । यो प्रयोगपछि मुलुकमा सस्तो र बलियो सडक निर्माण हुन थाल्ने विज्ञहरू बताउँछन् ।

परियोजना वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् र केन्द्रीय सडक अनुसन्धान संस्थान र नीति आयोगको सहयोगमा स्टीलको फोहोरबाट सडक निर्माण गरिएको हो ।

सीएसआरआईका अनुसार सडकको बाक्लोपन पनि ३० प्रतिशतले घटेको छ । यो नयाँ विधिले मनसुनको समयमा सडकलाई कुनै पनि क्षति हुनबाट जोगाउन सक्छ । यदि यो परिक्षण पूर्ण रुपमा सफल भएको खण्डमा सडक निर्माणमा नौलो प्रयोग प्रचलनमा आउनेछ ।


क्लिकमान्डु