श्रीलंका टाट पल्टिएको घोषणा हुनमात्रै बाँकी, आर्थिक जटिलता अब मानवीय संकटमा परिणत



एजेन्सी । आर्थिकरुपमा टाट पल्टिसकेको तर घोषणा हुनमात्रै बाँकी रहेको दक्षिण एशियाको टापु देश श्रीलंका अब मानवीय संकटको अवस्थामा पुगेको छ । कुनैबेला, दक्षिण एशियाको समृद्ध मुलुकको रुपमा चिनिने यो देश अब मानिसका लागि समेत संकट बन्ने अवस्थामा पुगेको छ ।

मानवीय संकट समाधानका लागि सरकारको खासै ठोस प्रयास देखिएको छैन । अमेरिकी डलरको भण्डारण क्रमशः सकिएको छ । यसले संकटलाई झनै बढाइदिएको छ ।

खाद्यान्न पसल सेनाको नियन्त्रणमा छ । एककिलो दुध खरिद गर्ने कुरा अब सपनाजस्तै भएको छ । एक किलोको प्याकेट होइन, ४०० ग्रामको मात्रै पाइन्छ ।

सेनाको निगरानी भएपनि त्यहाँ आर्थिक अनियमितताका संकेतहरु छरपष्ट भएका छन् । अत्यावश्यक औषधी पाउन छाडिएको छ । ग्यास पसलहरु अब खुल्ने हुन् वा होइनन् कुनै ठेगान छैन । किनकी, अब ग्यास आयात हुने अवस्था क्रमशः सकिएको छ ।

इन्धनका लागि श्रीलंकाले ओमन र इरानसँग चियापत्तीमा साट्ने प्रस्ताव गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । अब श्रीलंकामा सरकार छ वा छैन भने जस्तै भएकोे छ । राजापक्ष परिवारको सत्ता देश र जनताको संकटमा कहाँ उभिएको छ भन्ने प्रश्न पनि यसबीचमा जोडिएर आएको छ ।

देशको समस्या समाधान गर्ने मक्सद राज्य सञ्चालकमा पनि नदेखिएको अनुभूत गर्न थालिएको छ । संकट यति धेरै गहिरिएको छ कि कुनै पनि खालको सामान्य उपायबाट अब श्रीलंकाले मुक्ति पाउने सम्भावना असाध्यै कम भएर गएको छ ।

ग्यास पसल अगाडि भेटिएका एक श्रीलंकन नागरिकले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भने ‘मानिसहरुमा चरम निराशा छ । अब कही कतै पनि राज्य छ भन्ने अवस्थाको सामान्य अनुभव समेत हुन छाडेको छ ।’

उनका अनुसार मासिनहरु पलायन हुन खोजीरहेका छन् । उनीहरु अब बिहान खाए बेलुका के खाऔं, बेलुवा खाए, बिहान कसरी जोगाड गर्ने भन्ने अवस्थामा पुगिसकेका छन् ।

विदेशी मुद्रा भण्डारणमा परेको चापका कारण विद्यार्थीले परीक्षा समेत दिन पाएनन् । कागज किन्ने समेत डलर नहुँदा विद्यार्थीले सबैभन्दा बढी मार खेप्नु परेको छ । ऋणको भार यति धेरै बढेको छ कि अब देशको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

यस खालको संकट इतिहासमै पहिलो पटक देखिएको हो । शक्ति राष्ट्रले समेत श्रीलंका संकटको बारेमा कुनै चासो देखाएको छैन । कुनैबेला चर्को मानवअधिकारको हनन गरेको भन्दै चर्का कुरा गर्ने अमेरिका र पश्चिमा देशले समेत यस मामिलामा हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

यस्तै, आफूलाई आवश्यक पर्दा दिनमै तीन वटासम्म विज्ञप्ति जारी गर्ने चीन र कोलम्बो स्थित चिनियाँ दूतावास समेत हालसम्म चुपचाप छन् । तर, व्यापारिक वा सामरिक स्वार्थमा कुनै संकट आउने अवस्था देखिएको भए चीन, भारत, अमेरिका, यूरोपेली देशहरु यतिबेला अनेकन तर्क वितर्क गरिरहेका हुन्थे नै ।

तर, कमजोर भएको तथा अर्थतन्त्र नै संकटमा परेको बेला कसले पो साथ दिने वा सामान्य मानवीय सम्वेदना देखाउने अवस्थामा समेत आर्थिक शक्ति सम्पन्न देशले कुनै चासो देखाएका छैनन् ।

सत्ता संघर्ष पनि छैन । सामारिक स्वार्थमा समेत कुनै दख्खल नपरेको, बरु आफैं संकटमा परेको बेला किन बोल्ने भन्ने मानसिकताले काम गरेको छ, आर्थिकरुपमा बलिया मानिएका देश र त्यसका सरकार प्रमुखलाई ।

भरतले १ अर्ब डलर बराबरको सुहयोग उपलब्ध गराउने बताएपनि त्यसमा सत्ता र राजनीतिक एवं आर्थिक विषय जोडिएको छ । सहयोग दिँदा पनि स्वार्थको विषय मुखर भएर आएपछि त्यसले सामान्य मानवीयताको अर्थ राख्दैन ।
संकटको घडीमा न त चीनले सहयोग गर्ने बचन दिएको छ । न त भारतले नै कुनै ढाढस दिएको छ । बरु, आआफ्नो स्वार्थको रोटी कसरी सेक्न सकिन्छ भन्ने मौकाको पखाईमा उनीहरु लागेका छन् ।

इतिबेला श्रीलंकामा मुद्रास्फीतिको मार सबैभन्दा बढी परेको छ । बजारमा झण्डै ४८ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सो संकटबाट पार पाउनका लागि धेरै परिवार भारत पुगेका छन् ।

र, भारत प्रवेश गर्ने विषय पनि उनीहरुका लागि त्यति सहज छैन । किनकी, भारत प्रवेश गर्न खोजेका श्रीलंकाली नागरिकलाई भारतीय सीमा रक्षकले धमाधम पक्राउ गर्न थालेका छन् ।

श्रीलंकाको आर्थिक संकट अहिले मानवीय संकटमा परिणत भएपछि त्यसको सबैभन्दा ठूलो मार कमजोर आर्थिक अवस्था भएका मानिसलाई परेको छ । रोजगारीका अवसरहरु खोसिएका छन् । यस्तै, आम्दानीको स्रोतमा समेत चाप परेको छ ।

मानिसमा फैलिएको निराशाले अब केही पनि हुँदैन, हामी त भौकै मर्ने भयौ भन्ने अवस्थामा पुर्याइदिएको छ । किनकी, दैनिक उपभोग्य वस्तुको उपलब्धतामा नै संकट पर्ने आएपछि त्यसले सबैभन्दा ठूलो संकट उत्पन्न गरिदिएको छ ।
श्रीलंकामा अत्यावश्यक सामग्रीको चर्को अभाव र आकाशिएको मुद्रास्फीतिका कारण श्रीलंकाका दर्जनौं परिवारले आफ्नो देश छोडेर अवैधरूपमा भारतीय किनारमा पुग्न थालेका छन् । यसले संकट कुनहदसम्म विस्तारित भएको छ भन्ने देखाउँछ ।

पछिल्लो मंगलबारदेखिको विवरण हेर्ने हो भने कुल १६ श्रीलंकाली नागरिक डुङ्गाबाट भारत पुगेका छन् । उनलाई तमिलनाडु समुद्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीलंकाली नागरिकको पहिलो समूह गत मंगलबार बिहानै तमिलनाडुको धनुष्कोडी पुगेको थियो । यसमा जाफना र मन्नारीका दुई परिवारका तीन वयस्क र तीन बालबालिका थिए ।

तीमध्ये एक, जाफनामा चित्रकारको रूपमा काम गर्ने २७ वर्षीय गजेन्द्रनले भने कि उनी गृहयुद्धको अन्तिम चरणमा भारत आएका थिए र तमिलनाडुको श्रीलंकाको शरणार्थी शिविरमा बसेका थिए ।

त्यसपछि, पाँच वयस्क र पाँच बालबालिकासहित १० जनाको दोस्रो समूह श्रीलंकाको भावुनियाबाट मंगलबार राति धनुषकोडी पुगेको थियो। । श्रीलंकाली नागरिकहरूको पहिलो समूह मंगलबार बिहानै तमिलनाडुको धनुष्कोडी पुगेको थियो ।

कूल ३५ वर्षीय शिवराथिनको पेसा माछा मार्ने हो । भावुनियाबाट धनुषकोडी पुगेका १० जनामध्ये उनी पनि पर्छन् । गत सोमबार बिहानैबाट यात्रा शुरु गरेको उनले बताए । उनीसँगै उनकी श्रीमती, बहिनी, भाउजु र तीन छोराछोरी पनि माछा मार्ने डुङ्गामा भारत पुगेका थिए ।

‘हामीले आफ्नो यात्रा शुरु गरेको करिब दुई घण्टापछि, हाम्रो डुङ्गाको इन्जिन समुद्रको बीचमा फेल भयो, हामीलाई लगभग ३७ घण्टासम्म खाना र पानीबिना अलपत्र पारेको थियो,’ उनले भने ।

धेरै प्रयासपछि इन्जिन मिलाएर मंगलबार राति धनुषकोडी पुगेका थिए । उनी भारत पुगेपछि तमिलनाडु समुद्री पुलिस अधिकारीले उनलाई हिरासतमा लिए र अवैध प्रवेश सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

श्रीलंकाली नागरिक हाल धनुषकोडी मरीन पुलिस स्टेशनमा राखिएका छन् र रामेश्वरम न्यायिक मजिस्ट्रेट अदालतमा पेश गरिनेछ । भारतीय कोस्ट गार्डका अधिकारीहरूले कुनै पनि अवैध प्रवेश रोक्न आफ्नो गस्तीलाई तीव्र पारेको बताएका छन् ।

यसैबीच, श्रीलंकाली नौसेनाका अधिकारीले श्रीलंकालीलाई शरणार्थीको रूपमा भारत आउन रोक्न विशेष योजना बनाएको बताएका छन् ।

नौसेनाका प्रवक्ता क्याप्टेन इन्डिका डे सिल्भाका अनुसार शरणार्थीहरूलाई भारत पुग्नबाट रोक्नको लागि एउटा प्रणाली रहेको बताए । यो शतप्रतिशत प्रभावकारी नहुने भए पनि उनीहरुले यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न पहल गरिरहेका छन् ।

उनले भने, ‘यी मानिसहरू श्रीलंका छाडेर भारत कसरी पुगे भन्ने विषयमा हामीले अनुसन्धान शुरु गरेका छौँ ।’

श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ र त्यही कारण त्यहाँ यस्तो अवस्था आएको हो । मार्च २०२० मा कोविड लकडाउनको समयमा, श्रीलंकाका प्रमुख उद्योगहरू चिया, कपडा र पर्यटन नराम्ररी प्रभावित भएका थिए ।

त्यसपछि स्थिर आयस्रोत नभएको यो टापु देश विस्तारै आर्थिक संकटमा फस्यो । योसँगै केन्द्रीय बैंकको हातमा रहेको विदेशी मुद्रा पनि निरन्तर ओरालो लागेको छ ।

आर्थिक अवस्था नाजुक हुँदै गएपछि अत्यावश्यक वस्तुको मूल्य ऐतिहासिकरूपमा महँगो भएको छ । राज्यका प्रमुख ग्यास आपूर्तिकर्तासँग ग्यास किन्न पैसा नहुँदा खाना पकाउने ग्यासको अभावमा होटल बन्द भएका छन् ।

मानिसहरु अत्यावश्यक सामान किन्न पसल अगाडि लाइन बस्न थाले र सबैका लागि पर्याप्त आपूर्ति नहुँदा कहिलेकाहीँ त्यस्ता वस्तुका लागि हिंसात्मक झडप पनि भएको थियो ।

तर, सन् १९७० को दशकमा सिरिमावो बन्दरनायके प्रधानमन्त्री हुँदा श्रीलंकामा अनिकाल परेको बताइएको छ । तर कतिपयले अहिलेको संकट त्योभन्दा पनि खराब भएको महसुस गरेका छन् ।

यसबाट पनि स्पष्ट देख्न सकिन्छ, संकट कुन हदसम्म पुगेको रहेछ भन्ने बारेमा । के हाम्रो देश पनि सोही बाटोमा त लागेको होइन भन्ने प्रश्न यतिबेला खडा भएको छ ।


क्लिकमान्डु