कोरोना महामारीः १० वर्ष लाग्ने ‘डिजिटल लिट्रेसी’ २ वर्षमै प्राप्त



काठमाडौ । नेपालमा डिजिटल भुक्तानीका लागि सबैभन्दा ठूलो चूनौती नै ‘डिजिटल शिक्षा’ हो । मोबाइल वालेटदेखि बैंकहरुले डिजिटल भुक्तानी बढाउन विभिन्न प्रयास गरिरहेका छन् ।

मोबाइल वालेट र बैंकहरुले डिजिटल शिक्षाका लागि विभिन्न काम गरिरहेको बेला दुई वर्षअघि मुलुकमा कोरोना संक्रमण फैलियो । कोरोना संक्रमणले धेरै क्षेत्रलाई नकारात्मक असर पार्यो तर डिजिटल भुक्तानीका लागि भने ‘बरदान’ सावित भयो ।
कोरोना संक्रमणको अवधि यस्तो रह्यो जसले १० वर्ष लाग्ने ‘डिजिटल लिट्रेसी’ दुई वर्षमै भएको छ ।

पाँच वर्षदेखि खल्ती वालेटबाट डिजिटल कारोबार बढाउन लागेका अमित अग्रवाल कोरोना संक्रमणको दुई वर्षको सबैभन्दा ठूला उपलब्धि ‘डिजिटल शिक्षा’ भएको बताए ।

‘हाम्रा लागि सबैभन्दा ठूलो चूनौती व्यवहार परिवर्तन गर्नु थियो,’ अग्रवाल भन्छन्, ‘कोभिडको दुई वर्षमा व्यवहारमा ठूलो परिवर्तन आएको छ । जुन सामान्य अवस्थामा १० वर्ष लाग्थ्यो ।’

धेरै मान्छेहरु डिजिटल भुक्तानीका लागि झन्झट मान्थे । यसप्रति आम मानिसको विश्वास पनि कमी थियो । त्यो अविश्वास चिर्ने काम यो कोरोना संक्रमणले गरेको छ ।

कोरोना संक्रमणको अवधिमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का कनेक्ट आइपीएसलगायतका विभिन्न च्यानलरुको प्रयोग व्यापक भयो । पछिल्लो दुई वर्षको अवधिमा डिजिटल पहुँच र यस सम्बन्धी चेतनामा वृद्धि भएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेषमान सिंह प्रधान बताउँछन् ।

भुक्तानीका लागि अन्य माध्यम नहुँदा डिजिटल च्यानलको प्रयोग गर्न सबै जना बाध्य भए । जसले गर्दा कहिले डिजिटल सेवा प्रयोग नगरेकाले पनि कनेक्ट आइपीएस खोले वा कुनै पनि डिजिटल भुक्तानीको एप खोले । यस अवधिमा पूर्णरुपमा नयाँ ग्राहक डिजिटल भुक्तानीम आएको प्रधानको भनाइ छ ।

लकडाउन हेटेपछि भने ती ग्राहक पुनः क्यासमै फर्किने हुन कि भन्ने चिन्ता थियो ।

‘कोरोनापछि पहिलो पटक प्रयोग गर्नेहरु पुनः क्यासमा जाने हुन की भन्ने पनि थियो तर उनीहरु फर्किएनन्,’ प्रधानले भने ।

चेतनासँगै समग्र डिजिटल कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ । कोरोनाअघि सतप्रतिशतले डिजिटल भुक्तानीमा वृद्धि भइरहेको थियो भने यस अवधिमा तीन सय प्रतिशतले वृद्धि भएको अग्रवालको भनाइ छ ।

उनले खल्तीकै उदाहरण थिए । कोभिडअघि ६ लाखले खल्ती वालेट साइन अप गरेका थिए । अहिले साइन अप गर्ने उपभोक्ताको संख्यो २१ लाख पुगेको छ ।

‘हामीले खल्ती सञ्चालनमा ल्याएको पाँच वर्ष भयो । तीन वर्षमा ६ लाख साइन अप भएकोमा पछिल्लो २ वर्षमा १५ लाख साइन अप गर्ने थपिएका छन्,’ अग्रवालले भने ।

यस्तै तीव्ररुपमा अन्य वालेटको ग्राहक पनि थपिएका छन् ।

कनेक्ट आइपीएसमा भएको कारोबार संख्याले पनि पछिल्लो २ वर्षमा डिजिटल भुक्तानीमा छलाङ मारेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ सालमा कनेक्ट आइपीएसको कारोबार साढे २८ लाख थियो । यसै वर्ष कोरोना संक्रमण व्यापक भए ।

अर्को आर्थिक वर्ष २०७७/७८ मा कनेक्ट आइपीएसको कारोबार १ करोड ९० लाख पुगेको थियो । एक वर्षमा झन्डै ९ गुणाको वृद्धि भएको छ ।

यो चालु आर्थिक वर्षमा पनि कारोबार संख्यामा उल्लेख्य वृद्धि भइरहेको प्रधानको भनाइ छ ।

‘फागुन मसान्तसम्म २ करोड १८ लाख कारोबार भएको छ,’ प्रधानले भने, ‘यो वर्ष गत वर्षको भन्दा दोब्बर कारोबार हुनेवाला छ ।’

कोरोना संक्रमणले डिजिटल भुक्तानी नभइ नहुने सेवाको रुपमा परिणत गरिदिएको छ । पहिला डिजिटल भुक्तानीलाई भ्यालु एड सर्भिसका रुपमा लिने गरेकोमा अहिले यो अत्यावश्यक सेवाको रुपमा परिणत भएको प्रधानले बताए ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि कोरोना संक्रमणमा डिजिटल पेमेन्ट ह्वात्तै बढेको देखिन्छ । २०७७ साउनदेखि २०७८ माघ महिनासम्ममा कनेक्ट आईपीएसको कारोबारमा ३५० प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकले डिजिटल पेमेन्टको विवरण सार्वजनिक गर्न शुरु गर्दा २०७७ साउन महिनामा कनेक्ट आइपीएसको कारोबार ६ लाख ९६ हजार ४ सय ४७ भएकोमा गएको माघमा ३१ लाख ४० हजार १ सय ८० पुगेको छ । कारोबार रकमका हिसाबले हेर्ने हो भने उक्त अवधिमा ५१ अर्ब ३० करोड ६ लाखबाट २ खर्ब ३६ अर्ब ४२ लाख ३० हजार पुगेको छ । यो ३६० प्रतिशतले वृद्धि भएको छ ।

२०७७ साउनमा मोबाइल वालेटको कारोबार १ करोड १७ लाख ९५ हजार ५७ रहेकोमो माघ महिनामा १ करोड २९ लाख ५७ हजार ३ सय ५३ पुगेको छ । यो २७ प्रतिशतले वृद्धि हो । कारोबार रकमका हिसाबले हेर्दा १० अर्ब २२ करोड २० लाखबाट १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका गभर्ननर क्युआर कोड प्रयोगमा आफै फिल्डमा खटिन थालेपछि यसको प्रयोगमा पनि व्यापक वृद्धि भएको छ । २०७७ भदौदेखि गएको माघसम्मको तथ्यांक हेर्दा क्युआर कोडको प्रयोग ८१३ प्रतिशतले वृद्धि भएको छ ।

२०७७ भदौमा क्युआर कोड कारोबार १ लाख ९५ हजार १६ रहेकोमा २०७८ माघमा १७ लाख ८२ हजार ३ सय ६३ पुगेको छ । कारोबा रकमका हिसाबले हेर्दा उक्त अवधिमा ५८ करोड ९० लाखबाट ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

लकडाउनकै अवधिमा हेर्ने हो भने डिजिटल पेमेन्टको कारोबार भने घटेको थियो । डिजिटल वालेटको आम्दानीमा ह्रास आयो ।
‘पहिलो लकडाउन त के भएको भन्ने कसैलाई थाहा थिएन,’ अग्रवाल भन्छन्, ‘त्यसले हामी सबैलाई नकारात्मक असर गर्यो ।’

त्यो बेला डिजिटल भुक्तानीनै भएन । धेरै सेवाहरु बन्द भए । जस्तो कि हवाइ सेवा, फिल्म हल, ई–कमर्श, पसलहरु, डिजिटल पेमेन्टका एजेन्टहरु बन्द भए । मान्छेले बिजुलीका बिल तिरेनन् । मान्छेहरु बाहिरी गतिविधिमा नगएपछि कारोबार घट्छ । अहिले पनि विदाको समयमा डिजिटल पेमेन्टको कारोबार घट्छ ।

यसै कारणले लकडाउनको सयमा कारोबार ५० प्रतिशतले कमी आएको अग्रवाल बताउँछन् ।

कोरोना संक्रमणले डिजिटल भुक्तानीको तीव्ररुपमा बढाएको छ । जसले गर्दा भविष्य भनेकै डिजिटल हो भन्नेमा सबै विश्वस्त भएका छन् ।

‘भविष्यमा डिजिटल जानै पर्छ । कति चाँडो पुगिन्छ भन्ने मात्र हो,’ अग्रवाल भन्छन् ।

कोरोना संक्रमणले डिजिटल कारोबार मात्र बढाएको छैन । यसले आम मानिसको काम गर्ने शैलीलाई नै परिवर्तन गरिदिएको अग्रवाल बताउाछन् । अन्य क्षेत्रमा मात्र होइन सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरु पनि ‘वर्क फ्रम होम’ गर्ने चलन थिएन ।

पहिला ठूला कार्यक्रम गर्नलाई लाखौं खर्च गरेर होटलमा जानैपर्छ भन्ने थियो । अहिले त्यो मानसिकता परिवर्तन भएको छ । सयौ जना सहभागी भएर जुम, गुगल मिटबाट त्यस्ता कार्यक्रम हुन थालेका छन् ।

डिजिटल पेमेन्टका कारण काठमाडौंको ट्राफिक जामसमेत घटाएको अग्रवालको तर्क छ ।

‘काठमाडौंको ट्राफिक डिजिटल पेमेन्टले गर्दा धानिरहेको छ,’ अग्रवाल भन्छन्, ‘डिजिटल पेमेन्ट नभएको भए अहिलेसम्म यहाँको ट्राफिक जाम बंगलादेश वा बैंग्लोर जस्तो हुन्थ्यो ।’

मान्छेहरु सानो पेमेन्टका लागि विहानैदेखि बैंक धाउनु पर्थ्यो । सार्वजनिक यातायातको राम्रो व्यवस्था छैन । हरेक मान्छे घर वा कार्यालयबाट कुनै न कुनै साधान लिएर हिँड्नुपर्ने हुन्थ्यो ।

अहिले कम्तीमा त्यो बाध्यता छैन । घर वा कार्यालयबाट विहान वा बेलुका ८, ९ बजे पनि डिजिटल भुक्तानी गर्न सकिने भएको छ । त्यसलै कोरोना संक्रमणमा डिजिटल पेमेन्ट, प्रयोगकर्ता बढेसँगै मान्छेको व्यवहारमा परिवर्तन आएको अग्रवाल बताउँछन् । अनलाइन मिटिङ र वर्कफ्रम होमको परम्परा पनि यसबीचमा शुरु भएको छ ।


सन्तोष न्यौपाने