२२ वर्ष खाडी बसेका पदमले काठमाडौंमा खोले सरसफाइ कम्पनी, कमाइ महिनाकै १४ लाख



काठमाडौं । आठ वर्षअघिसम्म काठमाडौंमा भवन सरसफाइ गर्ने कम्पनी खासै थिएनन् । फाट्टफुट्ट भएका पनि व्यवस्थित थिएनन् ।

त्यही बेला तनहुँका पदम महतले काठमाडौं सामाखुसीमा सानो कोठा भाडामा लिए । दुबईबाट सरसफाइ गर्ने एउटा मेसिन ल्याए । २ वटा भ्याकुम मेसिन किने र एकजना स्टाफ राखे ।

पदमले ब्रोसर डिजाइन गरे ।

‘हामी तपाईंको घर, कोठालाई आधुनिक मेसिनले सफा गरिदिन्छौं । फोहोर कार्पेट फाल्नु पर्दैन । सफा गरेर नयाँ जस्तै टल्काउँछौं । हामीलाई सम्झनुस् । फोन नम्बर…’ पर्चामा लेखे ।

पर्चा घरघरमा बाँडे । दुई महिना यस्तै प्रचार गरे । त्यसपछि पदमको फोनको घण्टी बज्न थाल्यो ।

गाडी भाडामा लिए । गाडीमा दुबईबाट ल्याएको मेसिन र भ्याकुम क्लिनर हाले र घरघरमा दौडिन थाले ।
एकजनाले मेसिन चलाए, अर्कोले भ्याकुम ।

बिस्तारै उनीहरुको कामले चर्चा पाउन थाल्यो । व्यस्तता बढ्दै गयो । अर्को दुई मान्छे थपे । कमाउँदै गए । लगानी पनि थप्दै गए । एक दुईजना थप्दै जाँदा १५० जनासम्म कर्मचारी पुगे ।

२०७० सालमा स्थापना भएको क्लिनिङ फ्यासिलिटी कम्पनी काठमाडौंमा स्थापित भइसकेको छ । सानो कोठादेखि हाउजिङ, अपार्टमेन्ट, दूतावाससम्म सफाइ गर्छन् उनले ।

२२ वर्ष खाडीको अनुभवबाट खारिएका पदमले काठमाडौंमा सरसफाइ व्यवसायबाट मासिक १४ लाखसम्म आम्दानी गर्छन् ।

काठमाडौंमा आधुनिक प्रविधि र व्यवसाय फस्टाइरहेका बेला पदम महतको व्यवसाय झांगिदो छ । एसएलसी दिएर विदेश हिँडेका महतले नयाँ व्यवसायप्रति सन्तुष्ट छन् ।

कलिलै उमेरमा विदेश
मुलुकमा २०४६ सालको राजनीतिमा आन्दोलन चल्दै थियो । भर्खर एसएलसी दिएका तनहुँका १७ वर्षे पदम महत पनि त्यही आन्दोलनमा हुलिएका थिए ।

आन्दोलनले उग्ररुप लियो । पदम मिसिएको हुलमा ठूलो अशान्ती भयो । राज्यपक्षको तारो बने पदम । कुन दिन के हुने भन्ने चिन्तामा थिए बाबुआमा ।

‘यो आशान्तीमा बस्नुभन्दा बरु विदेश गए हुन्छ भन्ने मनस्थितिमा पुग्नु भयो बुबाआमा,’ पदम भन्छन्, ‘मलाई पनि ज्यान जोगाउन ठीक हो जस्तो लाग्यो ।’

साथीभाइले विदेश जाने माहोल मिलाइदिए । २०४७ सालमा उनी साउदी अरबको रियाद पुगे ।

जुंगाको रेखी बस्दै गरेको ठिटो एकै पटक खाडीको तातो भुंग्रोमा परे ।

कन्ट्रक्सन कम्पनी लेबरको काम थियो । तलब ४ सय रियाल । जतिबेला एक रियालको नेपाली मूल्य १३ रुपैयाँ थियो ।

काम धेरै गाह्रो थियो । टेन्ट हालको ठूलो हलमा सुत्नु पर्ने ।

‘काममा जाँदा यो बच्चा किन आयो होला भन्थे,’ पदम सम्झन्छन्, ‘मलाई भने अशान्तबाट भुक्त भएँ भन्ने जस्तो लागिरहेको थियो ।’

मुलुकमा प्रजातन्त्र आयो । उनी पनि १८ महिनापछि नेपाल फर्किए ।

एक वर्षपछि एक जनाले सिंगापुर लैजान्छु भन्यो । सिंगापुर गए । दलालले फसायो । लुकेर बस्नुपर्ने रहेछ । ११ महिनामै सिंगापुर प्रहरीले समात्यो र नेपाल फर्काइदियो ।

विदेश हिँड्ने बानी परिसकेको थियो । एक वर्ष बित्दानबित्दै कतारबाट सेल्स म्यानको अफर आयो । विदेशको काम र भाषामा केही दख्खल भइसकेका थिए ।

कतारमा सेल्स म्यानका लागि अप्लाइ गरे । तलब १२ सय कतार रियाल थियो । सेल्स म्यान उनको राम्रो भयो ।

‘दश वर्ष काम गरे,’ पदम भन्छन्, ‘सेल्स म्यान इन्चार्जसम्म पुग्दा तलब १८०० सम्म पुगेको थियो ।’

एक दशक कतार बसेर नेपाल फर्किए पदम । अब नेपालमा केही गर्नुपर्छ भन्ने उनलाई लागिरहेको थियो । नेपालमा सरसफाइ गर्ने सर्भिस कम्पनी खोल्ने प्रयास गरे ।

‘कम्पनी रजिष्ट्रारमा यस्तो कम्पनी दर्ता गर्न नै अप्ठारो भयो,’ उनले सुनाए, ‘त्यहाँका कर्मचारीले नै बुझेनन् ।’

त्यहीबेलामा दुवईको इमार प्रोपर्टी भन्ने रियलस्टेट कम्पनीबाट हाउस क्लिनिङ सुपर भाइजरको भ्याकेन्सी आयो ।

बेलायत र दुवईका लगानीकर्ता भएको इमार ठूलो कम्पनी थियो । ६ महिनापछि परिवार पनि लैजाने मिल्ने । पदमले पति अप्लाइ गरे ।

कम्पनीले ४ सय जनालाई अन्तर्वार्ता लियो । पदमसहित ५ जना छनोटमा परे । शुरुको तलब १२ सय थियो ।
‘१०३ किलोमिटर क्षेत्रफलमा फैलिएको हाउजिङ थियो,’ पदम भन्छन्, ‘त्यसको हाउस किपिङको टीम लिडर थिएँ म ।’

ठूलो क्षेत्रमा १३ हजार हाउजिङसहितको सहर थियो ।

मान्छेले बनाएका ६४ ताल, ३४ स्वीमिङ पुल, २ वटा गल्फ कोर्स, २ वटा फाइभ स्टार होटल र सयौं फिटनेस क्लव थिए ।

उनी १० वर्ष दुवई बसे ।

‘मैले त्यहाँ धेरै मेहनत गरें,’ पदम भन्छन्, ‘कम्पनीले मलाई ठूलो विश्वास गरेको थियो ।’

केही कतै केही भयो भने उनकै खोजी हुन्थ्यो ।

प्रमोसन हुँदै गयो । उनको अण्डरमा सयौं कर्मचारी थिए । उनकै लागि कम्पनीले २–३ वटा गाडी दिएको थियो । तलब ७ हजार रियलसम्म पुग्यो ।

एकपटक श्रीमतिलाई लिएर घुम्न निस्किएका थिए । तीव्र्र गतिमा अर्को गाडी उनको गाडीमा ठोक्किन पुग्यो ।
ठोक्किन आइपुगेको गाडीका मान्छेको ‘अन द स्पट’ मृत्यु भयो । भाग्यले पदमका जोडीलाई केही भएन ।
छोरी घरमै छोडेका हिडँेका पदम झल्झली छोरीको याद आयो ।

‘बाबुआमा सिद्धिएको भए ? त्यो सानो बच्चाको हालत के हुन्थ्यो होला,’ उनी भन्छन्, ‘त्यसपछि मलाई लामो समय भइसक्यो बरु नेपालमै फर्किन पर्छ भन्ने सोच्न थालें ।’

सन् २०१२ मा परिवारसहित नेपाल फर्किए ।

साथीहरुको धोका र आफ्नो सफलता
सानै उमेरमा विदेश हिँड्न शुरु गरेका पदम नेपाल फर्किदा देशमा धेरै परिवर्तन आइसकेको थियो । प्रजातन्त्रका लागि लड्दा लड्दै विदेशीएको केटो नेपालमै बस्ने भनेर आउँदा गणतन्त्र आइसकेको थियो । आफू पनि परिपक्क भइसकेका थिए ।

तर, नेपालमा व्यवसाय गर्ने परिस्थिति कस्तो छ बुझ्न बाँकी नै थियो ।

हरेक दिन सयौं युवा विदेश हिँडिरहेका थिए । जसले गर्दा मेडिकल गर्ने व्यवसाय धेरै फस्टाएको थियो ।

नेपालमा रहेका साथीहरुले उनलाई भने, ‘विदेश जानेको परीक्षण गर्ने मेडिकल खोल्नुपर्छ । यसमा पैसो छ ।’
त्योसँगै कन्सलटेन्सी पनि चलाउने सल्लाह गरे उनीहरुले ।

उनलाई थाहा थियो, हरेक दिन विदेशिने युवाहरु बिना जानकारी, बिना क्षमता विदेशमा गइरहेका थिए । विदेश जाँदा के तयार गर्ने, नियमहरु कस्ता हुन्छन्, के के काम सिकेर जाँदा सजिलो हुन्छ भन्ने सिकाउने उनको पनि चाहना थियो ।

‘विदेश हिँडेको २२ वर्षको अनुभवका आधारमा उनीहरुलाई केही सिकाउनु राम्रो हुन्छ भन्ने मलाई पनि लाग्यो,’ पदम भन्छन्, ‘हामीले मेडिकल र कन्सलटेन्सी खोल्यौं ।’

तर, सोचे जस्तो भएन । कन्सलटेन्सी राम्रोसँग चलेन । पदमले सोचेका थिए, ‘विदेश जानेहरु आफ्नो क्षमता विकास गर्न पक्कै कक्षा लिन आउँछन् ।

परिस्थिति भने फरक रहेछ । यहाँ त पैसाको भरमा सर्टिफिकेट बन्दो रहेछ । सबै मिलेमतोमा कागज बनाउँदा रहेछन् । कक्षा नै नलिइकन ओरियन्टेसनको सर्टिफिकेट बनाउँदा रहेछन् ।

‘कक्षामा कोही पनि नआउने रहेछन्, उनी भन्छन्, ‘बरु डबल पैसा दिन्छु, सर्टिफिकेट मात्र दिनुस् न भन्ने धेरै ।’

उनलाई भने यस्तो दुई नम्बरी काम गर्न मन लागेन ।

मेडिकललमा पनि उनी सफल हुन सकेनन् । सहकार्य गर्ने भनेका साथीहरुले उनलाई धोका थिए । कम्पनी स्थापित गरेपछि सँगै हिँड्न गाह्रो भयो ।

‘यी कम्पनीमा मेरो झन्डै १२ लाखभन्दाबढी पैसा डुब्यो,’ उनी भन्छन्, ‘ज्ञान नै नभएको क्षेत्रमा हात हाल्नु मेरो गल्ती थियो । कसलाई दोष दिने ?’

हारखाइसकेका पदम आफै बनाएको अफिसबाट दुई वर्षमै आफै निस्किनु पर्यो ।
उनले सोचे, ‘अब सानै काम शुरु गर्छु ।’

फ्यासिलिटी कम्पनी खोल्ने सोच १० वर्षअघि कै थियो । फेरि त्यही कम्पनी खोल्ने निर्णय गरे । एकजना वकिल हायर गरे । कम्पनी कार्यालय गए र आफ्नो कामको बेलिविस्तार लगाए ।

उनको मुख्य उद्देश्य घरघरमा विभिन्न सेवाहरु दिने थियो । जस्तो कि कुनै पनि घर, भवनलाई चाहिने सरसफाइ, सेक्युरिटी, प्लमिङ, इलेक्ट्रिसिटी, एसी बिग्रए भत्किएको बनाउनेदेखि सबै मेन्टिनेन्स सम्बन्धी सेवा दिने भनेर क्लिनिङ फ्यासिलिटी म्यानेजमेन्ट (सीएफएम) नाम कम्पनी दर्ता गरे ।

२०७० सालमा काठमाडौं सामाखुसीमा सानो कोठा भाडामा लिए । दुवईबाट सरसफाइ गर्ने एउटा मेसिन ल्याए । जसको मूल्य २ लाख ७८ हजार रुपैयाँ थियो । २ वटा भ्याकुम मेसिन किने । शुरुको लगानी झन्डै ५ लाख रुपैयाँ भयो । पशुपतितिर डुल्दै हिँड्ने युवालाई ल्याए ।

पदमले ब्रोसर डिजाइन गरे ।

‘हामी तपाईंको घर, कोठालाई आधुनिक मेसिनद्वारा सफा गर्छौं । फोहोर कार्पेट फाल्नु पर्दैन । हामीले सफा गरेर नयाँ जस्तै टल्काउँछौं । हामीलाई सम्झनुस् । फोन नम्बर…’ भनेर पर्चामा लेखे ।

ती स्टाफले घरघरमा पुगेर पर्चा बाँड्न थाले । सामाखुसीदेखि क्षेत्रपाटी, गोगबु हुँदै काठमाडौंका धेरै ठाउँमा पर्चा बाँडे ।

पदम भने अफिस व्यवस्थापनमा लागिरहे । दुई महिनासम्म प्रचारको काम भयो ।

त्यसपछि बल्ल पदमको फोन बज्न थाल्यो ।

गाडी भाडामा लिए । गाडीमा दुवईबाट ल्याएको मेसिन र भ्याकुम क्लिनर हाले र घरघरमा दौडिन थाले ।
एकजनाले मेसिन चलाए, अर्कोले भ्याकुम ।

बिस्तारै उनीहरुको कामले चर्चा पाउन थाल्यो । व्यस्तता बढ्दै गयो । अर्को दुई मान्छे थपे । कमाउँदै गए, लगानी पनि थप्दै गए । एक दुईजना थप्दै जाँदा १५० जनासम्म कर्मचारी पुगे ।

आज पदमको क्लिनिङ फ्यासिलिटी कम्पनी काठमाडौंमा स्थापित कम्पनी बनिसकेको छ । सानो कोठादेखि ठूल्ठूला अपार्टमेन्ट, हाउजिङसम्म उनले सफा गर्छन् ।

उनले एउटा सानो फ्ल्याटदेखि दूतावासका बिल्डिङ, अपार्टमेन्ट, हाउजिङ, एनजीओ, आइएनजीओ, युरोपेनियनदेखि साना घरहरुको सफा गरिरहेका छन् ।

सानो गौचरनको केएल रेसिडेन्ट, बच्र एण्ड सांग्रिला ठाडो ढुंगाको, सिटी भ्यू, सिल्भर हिलदेखि विभिन्न अपार्टमेन्ट र हाउजिङ सफा गर्छन ।

त्यस्तै, नर्वेजियन दूतावासको बिल्डिङ, कोरियन दूतावासको बिल्डिङ, युरोपियन युनियनदेखि विभिन्न दूतावास पनि उनको कम्पनीले नै सफा गर्छ ।

‘यी बिल्डिङ र संस्थामा वार्षिक कन्ट्रयाकका सफा गर्छौं,’ पदम भन्छन्, ‘अन्य ठाउँमा अर्डरका आधारमा हुन्छ ।’

पाँचसात जनाको समूह बनाएर तीन टीममा बाँडेका छन् । ती टीमले हरेक दिन सरसफाइको काममा दौडिरहेका छन् । समूहअनुसार उनीहरु विभिन्न ठाउँमा जान्छन् ।

‘एउटा तीन तले घरलाई पूर्णरुपमा सफा गर्न ३ दिनदेखि पाँच दिन लाग्छ,’ पदमले भने, ‘कामको चाँप धेरै नै छ ।’

सरसफाइसँगै उनले हाउस क्लिनिङका तालिम पनि दिन्छन् । विदेश पठाउने म्यानपावरहरुले उनकोमा यस्तो तालिम लिन पठाउँछन् ।

अहिले महिनाको १० देखि १४ लाखसम्मको आम्दानी हुन्छ । जसबाट २५ प्रतिशतभन्दा धेरै मार्जिन बस्ने उनी बताउँछन् । ‘१४ लाख आम्दानी हुँदा ४ लाख नेट नाफा छ,’ उनी भन्छन् ।

अहिले मुख्य सरसफाइको काम हो । त्यसबाहेक प्लम्बिङ, इलेक्ट्रिसियन, एसी, पेन्टिङको पनि काम गर्छन् ।

मुलुकले भोगेको शक्तिशाली भूकम्प र त्यसपछिका नाकाबन्दीले उनलाई ठूलो असर गर्यो । त्योभन्दा ठूलो असर त अहिले चलिरहेको कोरोना संक्रमणले बनाएको छ । १५० सम्म पुगेका कर्मचारी अहिले ८० जनामा झरेको उनी बताउँछन् ।

नेपालमा सरसफाइको कामलाई महत्व नदिएको जस्तो पदमलाई लाग्छ । २२ वर्ष विदेशमा बस्दा उनले देखेका छन्, विदेशमा ठूला बिल्डिङहरुले सरसफाइ अति महत्व दिन्छन् ।

‘नेपालमा भने करोडौं लगानी लगाएर बिल्डिङ बनाउँछन तर त्यसको सरसफाइ र मेन्टिनेन्स बजेट नै छुट्याउँदैनन्,’ उनी भन्छन्, ‘अब सोच परिवर्तन गर्नुपर्छ ।’

सरसफाइ व्यवसायलाई आधुनिक तरिकाले अगाडि बढाउनु पर्ने र यसलाई सम्मानको दृष्टिकोणले हेर्नुपर्ने उनको धारणा छ ।


सन्तोष न्यौपाने