सफ्टवेयर डेभलपमेन्ट उद्योगका लागि चीन र अमेरिकाबाट आयो ४० करोड वैदेशिक लगानी



काठमाडौं । मुलुकमा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) सम्बन्धी व्यवसाय सञ्चालनका लागि पछिल्लो ८ महिनामा ४० करोड रुपैयाँ वैदेशिक लगानी आउने भएको छ ।

वैदेशिक लगानी स्वीकृत गर्ने निकाय उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म सूचना प्रविधि सम्बन्धी विभिन्न पाँच परियोजनाका लागि ४० करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको हो ।

यस्ता उद्योग व्यवसायहरु सफ्टवेयर एण्ड वेवसाइट डेभलपमेन्ट, वेवपेज डिजाइन, आउसोर्सिङ, विजनेस प्रोसेस आउसोर्सिङ (बीपीओ) सम्बन्धित व्यवसायहरु छन् ।

यी उद्योगहरु छिमेकी देश चीनबाट २ वटा र अमेरिकाबाट तीनवटा आएका छन् । चीनबाट २५ करोड रुपैयाँ र अमेरिकाबाट १५ करोड रुपैयाँका परियोजना स्वीकृत भएको छन् ।

शतप्रतिशत विदेशी लगानी रहेका यी उद्योगमा ५ सय ११ रोजागरी सृजना हुने विवरणमा उल्लेख छ ।

चीनबाट आएका दुई परियोजनाहरुमा सफ्टवेयर डेभलपमेन्ट उद्योग सञ्चालन गर्न भनेर १० करोड रुपैयाँ लगानी प्रतिवद्धतासहित साउन २० गते स्वीकृति भएको छ ।

त्यस्तै चीनबाट आएको अर्को परियोजना हो सफ्टवेयर डेभलपमेन्ट एण्ड वेभपेज डिजाइन इन्ड्रट्रिज । जुन परियोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइएको छ । यसकम १७० जनालाई रोजगारी उपलब्ध हुने तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, अमेरिकाबाट कास्की जिल्लामा उद्योग स्थापना गर्ने भन्दै सफ्टवेयर एण्ड वेवसाइट डेभलपमेन्ट इन्ड्रस्ट्रिजको लागि ५ करोड रुपैयाँ बराबरको लागनी आउने भएको छ ।

त्यस्तै, ललितपुरमा उद्योग सञ्चालन गर्ने उद्देश्यका साथ सफ्टवेयर डेभलपमेन्ट एण्ड विजनेस प्रोसेस आउन सोर्सिङका लागि ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइएको छ । जहाँ ५८ जनालाई रोजगारी उपलब्ध हुने उल्लेख छ ।

काठमाडौंमा विजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) सञ्चालन गर्नका लागि ५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । जसमा १२५ जनाले रोजगारी पाउनेछन् ।

यी उद्योगहरुले ३२९ केभिए विद्युत् खपत गर्नेछन् ।

पछिल्लो आठ महिनामा १२२ परियोजना सञ्चालन गर्ने उद्देश्यका कुल २९ अर्ब ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा ७ हजार ७ सय ७५ रोजगारीको प्रतिवद्धता जनाइएको छ ।

यी उद्योगहरुमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ५५ परियोजनाको लागि ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको लागनी प्रतिवद्धता आएको छ ।

त्यस्तै, सेवा क्षेत्रमा ३८ परियोजनाका लागि १६ अर्ब १० करोड, उत्पादनमूलक उद्योगमा १९ परियोजनाका लागि ३ अर्ब २४ रुपैयाँ, कृषिमा आधारित ४ उद्योगका लागि ६० करोड र एउटा ऊर्जा परियोजनाका लागि ५ करोड ६२ लाख रुपैयाँको परियोजना स्वीकृति भएको छ ।


क्लिकमान्डु