जनतालाई देउवा सरकारको महंगी उपहारः दूध, अण्डा, मासु, चामल र दालको मूल्य थेग्नै नसक्ने गरी बढ्यो



काठमाडौं । आज उपभोक्ता अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तर पछिल्लो समय अचाक्ली बढेको वस्तुको मूल्यबारे भने सरकारको ध्यान पटक्कै गएको देखिन्न । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले महंगी नियन्त्रणमा चुक्दा उपभोक्ताहरु अचाक्ली महंगो मूल्यमा सेवा तथा वस्तु खरिद गर्न बाध्य भएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको माघ महिनासम्मको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फिती ५.९७ प्रतिशत छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिती २.७० प्रतिशत मात्रै थियो । जसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिती ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिती ५.९६ प्रतिशत थियो ।

खाने तेलको मूल्य बढ्न थालेको करिब १ वर्ष पुग्न लाग्यो । पछिल्लो ९ महिनामा मात्रै खाने तेलमा प्रतिलिटर २५० रुपैयाँदेखि ४०० रुपैयाँले बढेको छ । खाने तेलको मात्रै होइन भान्छामा हरेक दिन प्रयोग हुने दुध, अण्डा, मासु, चामल, दालको मूल्य छोइनसक्नु गरी महंगिएको छ ।

जसले गर्दा उपभोक्ताको भान्छाको बजेट बढेको छ । पछिल्लो ६ महिनादेखि लगातार बढिरहेको उपभोग्य वस्तुको मूल्यवृद्धि रोक्न सरकारले केही काम पनि गरेको छैन ।

पछिल्लो दुई सातायता बढेको मूल्यवृद्धिलाई रुस र युक्रेनबीचको युद्धलाई कारक मानिएको छ । पहिलेदेखि नै बढिरहेको मूल्यवृद्धिमा रुस-युक्रेनको युद्धले थप मूल्यवृद्धि बढाएको भने पक्कै हो । पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि हुँदाको असर सबै वस्तु तथा सामानमा परेको हो ।

उपभोग्य वस्तु मात्रै होइन निर्माण सामग्रीको मूल्य पनि बढेको छ । एक साताअघिसम्म प्रतिकेजी १ सयदेखि १०७ रुपैयाँसम्म पाइने डण्डीको मूल्य बढेर अलिहे १२५ रुपैयाँसम्म पुगेको छ ।

यता सुनको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । गत साता सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुग्यो ।
रुस संसारको तेस्रो ठूलो कच्चा तेल उत्पादक देश तथा कृषि उत्पादनमा दुबै देशको योगदान ठूलो भएको अवस्थामा यी दुई देशसँगको व्यापारमा कठीनाइ आएसँगै मूल्यवृद्धिमा असर परेको हो । यी दुई देशबीचको युद्धका कारण खाद्यान्नसँगै लत्ताकपडा, सवारी साधनको समेत मूल्य बढेको छ ।

त्यसैगरी पेट्रोलियम पर्दाथको मूल्य बढ्दा तरकारी फलफूल दुधलगायतका दैनिक उपभोग्य सामानको पनि मूल्य बढ्ने बढेको हो । कोरोना महामारीले गर्दा सप्लाई चेन नमिल्दा वृद्धि भएको मूल्यमा रुस र युक्रेनको युद्धले महंगी अझ बढेको हो ।

पेट्रोलको मूल्य एक महिनामा ११ रुपैयाँले बढ्यो
पेट्रोल, डिजललगायतका इन्धनमा पछिल्लो एक महिनामा एक लिटरमा ११ रुपैयाँले बढेको छ । इन्धनमा मूल्यवृद्धि हुँदा त्यसको असर अन्य सबै सेवा तथा वस्तुमा परेको छ ।

गत माघ ५ गतेसम्ममा १३९ रुपैयाँ कायम भएको पेट्रोलको मूल्य आज आइपुग्दा १५० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । त्यसैगरी, गत माघमा १२२ रुपैयाँ मूल्य कायम भएको डिजेलको मूल्य अहिले १३३ पुगेको छ । साथै, ग्याँस १५ सय ७५ रुपैयाँ मूल्यमा बिक्री वितरण भइरहेको छ ।

खाने तेलको मूल्य प्रतिलिटर ४०० रुपैयाँसम्म बढ्यो
पछिल्लो ९ महिनाको तथ्यांक हेर्ने हो भने खाने तेलको मूल्य लिटरमा ४०० रुपैयाँसम्मले बढेको छ । पछिल्लो एक महिनामा मात्रै एक लिटरमा ३० रुपैयाँसम्मले बढेको छ ।

एक महिना अघिसम्म प्रतिलिटर २५० रुपैयाँ कायम भएको सनफ्लावर तेलको मूल्य अहिले २७५ देखि २८० रुपैयाँसम्म बिक्री गरेको छ ।

त्यसैगरी, भटमासको तेल एक महिना अघिसम्म प्रतिलिटर २४० रुपैयाँ कायम भएकोमा अहिले प्रतिलिटर २७० रुपैयाँ कायम गरेको छ भने एक महिनाअघिसम्म ३ सय रुपैयाँ कायम भएको तोरीको तेलको मूल्य प्रतिलिटर ३ सय ४० रुपैयाँ कायम भएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले बताए ।

उनकाअनुसार पछिल्लो एक महिनामा मात्रै नभएर हप्ता दिनमै उद्योगीहरूले मूल्य बढाएर बजारमा बिक्री गर्न थालेको छ ।
‘एक हप्ताअघि प्रतिलिटर २६८ रुपैयाँ मूल्य पर्ने सनफ्लावरको मूल्य तोकेको सनफ्लावरको तेलमा अहिले प्रतिलिटर २७५ रुपैयाँ तोकेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘उक्त मूल्यवृद्धिले व्यापार गर्नै मुस्किल भएको छ ।’

चामल, दाल र गेडागुडीको मूल्य बढ्यो
हाल पेट्रोलियम पदार्थको मूल्य बढेकाले व्यापारीहरूले ढुवानी खर्च बढेको भन्दै अधिकांश खाद्यान्नमा मूल्य बढाएका छन् । खुद्रा व्यवसायीहरूले केही नाफा राखेर बिक्री गर्ने भएकाले उद्योगीबाटै उच्चरुपमा मूल्यवृद्धि भएर आउँदा व्यापार गर्नै मुस्किल भएको उनीहरूको भनाइ छ । साथै, बजारमा कतिपय वस्तुको अभाव देखाएर मूल्यवृद्धि गरेको खुद्रा व्यवसायीहरूको दाबी छ ।

करिब एक महिनाको अन्तरालमा बजारमा पाइने २५ केजीको अधिकांश कम्पनीको जिरा मसिनोको चामलमा प्रतिबोरा १ सयदेखि १५० रुपैयाँसम्म मूल्यवृद्धि भएको तुलाधारको भनाइ छ । त्यसैगरी, दाल, चिनी, गेडागुडीलगायत अन्य वस्तुमा पनि प्रति केजी १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढाएको उनले बताए ।

दानाको मूल्य बढ्दा अण्डा र मासुको मूल्य बढ्यो
बजारमा अधिकांश वस्तुको मूल्य बढ्दा दानाको मूल्य पनि बढेको छ । एक महिनाअघिसम्म प्रतिकेजी १ सय रुपैयाँमा पाउने भटमासको पिना अहिले ११५ रुपैयाँ र ३९ रुपैयाँ रहेको मकैको प्रतिकेजी ४७ रुपैयाँ पुगेको छ । दानामा भएको मूल्यवृद्धिका कारण कुखुराको मासु र अण्डाको मूल्य बढेको छ ।

कुखुराको अण्डा र कुखुराको मासु उत्पादनका लागि अति आवश्यक वस्तु दानाको मूल्य बढ्दा अण्डा र कुखुराको मासुको मूल्य अचाक्ली रुपमा बढेको छ ।

एक महिना अघिसम्म प्रतिक्रेट अण्डा ३९० रुपैयाँ रहेकोमा अहिले प्रतिक्रेट ४२० रुपैयाँ मूल्य कायम भएको छ । साथै, एक महिनाअघिसम्म ३६० रुपैयाँ प्रतिकेजी कुखुराको मासु अहिले ३९० रुपैयाँदेखि ४०० रुपैयाँ मूल्यमा बिक्री वितरण भएको छ ।

दुध र दुग्धजन्य वस्तुको मूल्य बढ्यो
सरकारले दुधको मूल्य बढाएसँगै दुधबाट बन्ने अन्य वस्तुको मूल्य पनि बढेको छ । सरकारले डीडीसीको सहकार्यमा दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको थियो । त्यसपछि निजी क्षेत्रका व्यवसायीहरुले दुधको मूल्यमा थप १ रुपैयाँ बढाएर प्रतिलिटर १० रुपैयाँ बढाएका छन् । एक महिनाअघिसम्म प्रतिलिटर ७६ रुपैयाँ रहेको दुधको मूल्य अहिले ८६ रुपैयाँ पुगेको छ ।

दुधको मूल्य बढेसँगै फागुन १ गतेदेखि दुग्धजन्य दही, पनिर, बटर, चिज, घ्यू, खुवा, रसबरी, आइसक्रिम, मिठाईको पनि मूल्य बढेको छ ।

डण्डीको प्रतिकेजी २० रुपैयाँसम्म बढ्यो
पछिल्लो समय निर्माण कार्यले तीब्रता लिने समयमै डण्डीको मूल्य अत्यधिक बढेको छ । केही हप्ता अगाडिसम्म प्रतिकेजी अधिकतम १०७ रुपैयाँसम्म कायम भएको डण्डीको मूल्य अहिले प्रतिकेजी १२५ रुपैयाँसम्म पुगेको छ ।

उपभोक्ता मारमा
अधिकांश वस्तुमा मूल्यवृद्धि हुँदा पनि सरकार जिम्मेवार नभएको अधिकारकर्मीहरूको भनाइ छ । चुनावी माहोल नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धि अत्यधिक छ । सरकारले नै मिलेमतोमा मूल्य बढाएको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले आरोप लगाए ।

उनले चुनावका लागि उद्योगीसँग चन्दा माग्नु पर्ने भएकाले उद्योगीले मूल्यवृद्धि गराउँदा पनि सरकारले केही नगरेको उनको भनाइ छ ।

उपभोक्ता मञ्च नेपालका महासचिव शत्रुधनप्रसाद देवले सरकारले मूल्यवृद्धि अनुगमन गर्ने निकाय निकै कमजोर भएकाले उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य भएको बताए ।

उनकाअनुसार पछिल्लो समयमा रुस र युक्रेनबीच भएको द्वन्द्वको बाहाना बनाउँदै अत्यधिक मूल्य बढ्दासमेत अनुगमन हुन सकेको छैन । त्यसैले, सरकारले नै मूल्यवृद्धिमा प्रोत्साहन गरेको उनले भनाइइ छ ।


अरिष्मा मोक्तान