२२ महिना कार्यकाल भएका बोर्ड अध्यक्ष हमाल ८ विषयमा अध्ययन गर्दै, कहिलेबाट सुरु होला काम ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सोमबार पाँच तारे होटल सोल्टीमा पत्रकारसँग अन्तरक्रिया गर्ने जानकारी सर्कुलेट गरेका थिए ।

अध्यक्ष भएपछि पत्रकारसँग पहिलो अन्तरक्रिया गर्न लागेका हमालले आफ्ना केही रणनीति सार्वजनिक गर्छन् भन्ने अनुमान धेरैको थियो । बोर्ड ६ महिनासम्म नेतृत्वबिहीन हुँदा कैयौँ कामहरु रोकिएका थिए । जसले गर्दा हमालसँग अपेक्षा बढ्नु स्वभाविक हो ।

फागुन ५ गते बोर्डको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते कार्यभार सम्हालेका थिए । २७ वर्ष पुरानो, धितोपत्र बजारका ५४४ संस्थालाई नियमन गर्ने ठूलो संस्थाको अध्यक्ष हमालले यसअघि औपचारिक धारणा नराखेकाले पनि उनले के भन्लान् भन्ने चासो थियो ।

उनी अध्यक्ष हुँदै गर्दा सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता खोल्नेको संख्या ५० लाखभन्दा बढी भइसकेको छ । १२ लाख ५० हजारले अनलाइन सेवा लिइसकेका छन् । यस अर्थमा ५०औं लाख लगानीकर्ताका अपेक्षामा खरो रुपमा उत्रन सक्नु उनका लागि चूनौतीपूर्ण हुने नै भयो ।

कर्पोरेट पृष्ठभूमि भएका हमालसँग विदेशमा २० वर्ष काम गरेको अनुभव छ । उनी गैर आवासीय नेपाली संघ थाइल्याण्डका पूर्वअध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

अन्तरक्रिया कार्यक्रमको शुरुमा हमालले करिब १८ मिनेट जति कार्यकालका योजना सुनाए । त्यसपछि पत्रकारसँग अन्तरक्रिया शुरु गरे ।

हमालले कार्ययोजना सुनाउँदै गर्दा बोर्डको आफ्नै भवन नभएको भन्दै भवन शिलान्यासको योजना सुनाए, तर बनाइसक्ने भने होइन । यसले बोर्डका कर्मचारीमा उत्साह सञ्चार नहुने कुरै भएन । तर भवन अहिले बोर्डसँग भएको जग्गामा नभइ नयाँ र उपयुक्त स्थानमा हुने तर्क गरे । बोर्डका नाममा अहिले जडिबुटी स्थित मनोहरा खोला किनारमा करिब ७ रोपनी जग्गा छ ।

त्यसपछि हमालले बोर्डमा जनशक्ति कमी भएको गुनासो गरे । जनशक्तिको क्षमता नभएको भन्दै क्षमता बढाउन र त्यसका लागि प्रविधि नभएको अर्को गुनासो गरे ।

हमालले तयार पारेर ल्याएको ६ बुँदे कार्ययोजनामा संस्थागत क्षमता अभिवृद्धि गर्ने, धितोपत्र बोर्डको सुपरीवेक्षणलाई बलियो बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, ऐन नियमलाई संशोधन गरेर समय सापेक्ष बनाउने, सेयर कारोबारमा लाग्ने शुल्कको पुनरावलोकन गर्ने, साना लगानीकर्ताको सुरक्षा गर्ने, वित्तीय साक्षरतामा बढी समय र लगानी गर्ने, बजार विविधिकरणका लागि नयाँ औजार ल्याउने, क्यापिटल मार्केट इन्स्टिच्युट स्थापना गर्ने र गुनासो सुनवाइ गर्न एप बनाउने लगायत थिए । लगानीकर्ताका लागि बोर्डका अध्यक्षबाट सुनाइएका योजना नयाँ भने होइनन् ।

तर, हमालले निकै प्राथमिकता दिने विषय साना लगानीकर्ताको सुरक्षाको विषय नै हो । उनले यसअघिका अध्यक्षहरुले जस्तै साना लगानीकर्ताको हितमा काम गर्छु भन्ने भनाइलाई दोहोर्याए ।

‘साना लगानीकर्ताको हितमा काम गर्छु, साना लगानीकर्तालाई नियमनकारी निकायले हेरेको छ । नजरमा राखेको छ । उनीहरुको हितमा काम हुनेछ । बजारमा उनीहरुको सर्वोत्तम भूमिका हुनेछ,’ उनले भने । तर यी काम कसरी गर्ने भन्ने प्राविधिक पक्षमा भने उनले मुख खोलेनन् । हमालले यति भनिसकेपछि शुरु भयो अन्तरक्रिया अर्थात् प्रश्नोत्तरको सिलसिला ।

स्मरणशक्ति राम्रो नभएको भन्दै एक–एक गर्दै प्रश्नका जवाफ दिन थाले । जति जति प्रश्न तेर्सिए उनले चित्त बुझ्दो जवाफ दिनुको साटो आफू भर्खरै आएकाले ‘अध्ययन गर्दै छु’, ‘अध्ययन हुँदैछ’ ले उत्तर टुंग्याउन थाले ।

सबैलाई थाहा भएकै विषय के हो भने, उनको बोर्डको कार्यकाल २ वर्षका लागि मात्रै हो । यस अर्थमा उनको २ वर्षे कार्यकाल अध्ययन गर्दैमा बित्ने भने भन्दै सहभागीहरु खासखुस गर्न थाले ।

सरकारले हमाललाई अध्ययन गर्न मात्रै गर्न पठाएको होइन । अध्यक्षका रुपमा बोर्डमा आएपछि सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउनु छ, प्रविधिमैत्री बनाउनु छ । नयाँ स्टकको माग पनि शुरु भएको छ । ब्रोकरको सेवा बिस्तार गर्नुछ । सके बैंकका सहायक कम्पनी नसके ब्रोकरलाई देशव्यापी बनाउनु छ । कमोडिटी बजार ल्याउनु छ । यस्ता काम त कति छन् कति । तर अध्यक्ष हमालको योजना अध्ययन, अध्ययन र अध्ययनमा मात्रै सीमित रहेको उनको बक्तव्यबाट नै देखिन्छ ।

कहाँ र के हुँदैछ अध्ययन ?

१) कमोडिटी बजार विस्तारका लागि ऐन बनेको छ । तर वेयर हाउस, सेटलमेन्टको नियमावली, ब्रोकरेजको नियमावली बनाउने र छुटै नियमावली बनाएर कमोजिटी बजार सञ्चालन गर्नुछ । यो योजना कहिले पूरा हुने हो उनी आफै अन्योलनमा छन् ।

२) इन्ट्रा डे कारोबार सबै लगानीकर्ताको माग हो । त्यस विषयमा आफ्नो टीमले अध्ययन गरिसकेको दाबी गर्ने हमालले कति अध्ययन भएको र कहिले सकिन्छ भन्नेबारे जवाफ दिएनन् ।

३) बुक बिल्डिङ विधिमार्फत् आइपीओ ल्याउन अण्डरराइटिङ फेयर हुनुपर्ने, मापदण्ड क्लियर गर्नुपर्ने आवश्यक रहेको भन्दै प्रिमियम रकम ठीक हो कि होइन हेर्ने बताए । उनले यसमा पनि अध्ययन गरेर सबैलाई बुक बिल्डिङमा आउने वातावरण बनाउने बताए । उनले यस सम्बन्धी निर्देशिका अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गर्दै प्राइसिङ फियर हुनुपर्ने उनको भनाइ छ । यसका लागि अध्ययन गरेर काम गरिने हमालले बताए ।

४) नेपालमा सूचीकृत भएका कम्पनीलाई विदेशमा सूचीकृत गर्ने विषयमा पनि उनले अध्ययन आवश्यक रहेको बताए । यसका लागि केही समय आवश्यक पर्ने भन्दै विभिन्न मापदण्ड पूरा गर्नुपर्ने हमालको भनाइ छ ।

५) नयाँ स्टक आवश्यक छ वा छैन भन्ने विषयमा एक दशकभन्दा बढी समयदेखि बहस भइरहेको छ । यसको लागि धितोपत्र बोर्डले अध्ययन कमिटि गठन गरेर अध्ययन समेत गरिसकेको छ । अध्ययनले नयाँ स्टक आवश्यक ठानेको छ । स्टकलाई प्रतिस्पर्धी बनाउने सबैको चाहना छ । यो बजारमा तत्काल अर्को स्टक चाहिन्छ वा चाहिदैन भन्ने विषयमा गहन अध्ययन आवश्यक उनले बताए । नयाँ स्टक कुन मोडलको आवश्यक हो भन्ने विषयमा उनले अध्ययन आवश्यक रहेको मात्रै दाबी गरे ।

६) बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन पनि गहन अध्ययन आवश्यक रहेको अध्यक्ष हमालले सुनाए । उचित ढंगले अवसर दिनुपर्ने भए पनि कतिपयले बैंकका सहायक कम्पनीलाई ब्रोकर दिने र कतिपयले सबै काम बैंकलाई दिने हो भने अरुले के गर्ने भनिरहेको भन्दै यसको गहन अध्ययन रहेको बताए ।

७) हमालको अध्ययनको सूचीमा अर्को विषय पनि छ, ‘विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने वा नदिने’ । यसका लागि बोर्डमा अध्ययन समिति बनेको र त्यो समितिले अध्ययन गरिरहेको बताए । अध्ययनले रेमिट्यान्स पठाउनेलाई आवश्यक परेमा आइपीओमा आरक्षणको व्यवस्था गरिने उनको ठोकुवा छ ।

८) सेयर बजारमा इन्ट्रा डे कारोबारको माग भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा यस्तो कारोबार भइरहेको भन्दै नेपालमा पनि यो लागू गर्नका लागि अध्ययन आवश्यक रहेको सुनाए ।

जागिर खान आएको होइनः हमाल

कार्यकालको योजना सुनाउँदै गर्दा हमालले आफु बोर्डमा जागिर खान नआएको भन्दै कसैले आफुलाई कुनै पनि आरोप लगाउनुअघि पृष्ठभूमि हेर्न आग्रह गरे । उनले २ वर्षे कार्यकालमा आफूले नयाँ सञ्चार प्रवाह गर्ने र सबैले साथ दिएको खण्डमा ४ वर्षमा गर्ने काम २ वर्षमै सक्ने समेत दाबी गरे । उनले यो भनिरहँदा हलको माहोल भने अर्को बनिसकेको थियो ।

हमालको यो प्रस्तुती सुन्दै गर्दा बोर्डकै कर्मचारी पनि सँगै बसेको सहकर्मीको अनुहारमा हेरेर आँखाको इसारामा हेरौला भनेर बात मारिरहेको दृश्य प्रष्ठ देखिन्थ्यो । हलमा भएको सञ्चारकर्मी पनि उपत्यकामा बढ्दै गएको गर्मीसँगै उफ गरेर आँङ तानिरहेका थिए । हमाल भने दोहोर्याएर सबैले साथ दिए आफु २ वर्षको काम ४ वर्षमा सक्ने दाबी कस्दै थिए ।

कार्यक्रममा हमालले पुँजी बजारको बिकास, बिस्तार र विविधिकरणमा ध्यान दिन अध्ययन आवश्यक रहेको बताए । कार्यक्रम अवधिभर गर्न नपर्ने काम केही पनि देखेनन् । धेरै गर्नुपर्ने काम छन्, तर कसरी ? यो प्रश्न सायद हमालको मनमा पनि उत्तिकै उब्जिएको होला, जसरी लाखौ लगानीकर्ताको मनमा उब्जिएको छ ।

कस्तो अमिलो दृश्य

कार्यक्रम सुरु भएको १ घन्टा १२ मिनेटमा एक जना संचारकर्मीले प्रश्न गर्न खोजे । उनलाई माइक दिइएन । माइक नदिएपछि उनले जबरजस्ती प्रश्न गर्न खोजे । प्रश्न गर्न खोजेको केही समय अघि नै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अब समय सकियो खाजा खाँदै कुरा गरौ भनिरहेका थिए । अध्यक्ष हमालले पनि होटलको आफ्नै समय हुने भन्दै प्रश्न गर्न रोक्न खोज्दै थिए । हमालले रोक्न सकेनन् । त्यो बेलासम्म धेरै संञ्चारकर्मी र बोर्डका कर्मचारी हलमा उभिएर आपसमा गफिन थालिसकेका थिए ।

यतिकैमा अध्यक्ष हमालप्रति एकजना सञ्चारकर्मीको प्रश्न तेर्सियो ‘बोर्डको अध्यक्षमा नियुक्तीको प्रक्रिया शुरु भएदेखि नै हजुरको चर्चा शुरु भयो । जसमा सेटिङ मिलिसक्यो अब नयाँ स्टकलाई लाइसेन्स दिनका लागि तपाईंको नियुक्ति भएको भन्ने सुनिन्छ । तपाईंले अध्ययन गरेर मात्रै लाइसेन्स दिने भन्नु भएको छ, अध्ययन गरेर मात्रै लाइसेन्स दिने की हो कि तपाईंले कार्यकालमा नदिने हो ?’

प्रश्न आउँदा हलमा भएका सबैजना उठिसकेका थिए । प्रश्न गर्ने र सुन्ने बाहेक अरुको ध्यान त्यता थिएन । बरु हलमा भएका कर्मचारी र सञ्चारकर्मीहरु अध्यक्षको प्रस्तुतीको बारेमा पानी पिउँदै चर्चा गरिरहेका थिए ।

यतिकैमा अध्यक्षका आवाज हलमा गुञ्जियो । एउटा गम्भिर प्रश्न आएको छ, कृपया सबैले सुनिदिनुहोला । उनले भने, ‘सरकारले मलाईं क्षमताका आधारमा विश्वास गरेर नियुक्त गरेको हो । नयाँ स्टकको लाइसेन्सका विषयमा आउँछ वा आउँदैन भन्न सक्दैन ।’ त्यसपछि जुरुक्क उठेर हमालले कार्यक्रमको बिट मारे । उनको अवाजलाई हलमा धेरैले चासो दिएनन् । बोर्डले सूचीकृत कम्पनी अर्थात सोल्टि होटलमा आयोजना गरेको औपचारिक कार्यक्रम सकियो ।

यतिबेला बोर्ड अध्यक्षले आफ्नो योजना सुनाइ रहँदा बोर्डको नेतृत्वमा कस्तो व्यक्ति चाहिन्छ भनेर पनि चर्चापरिचर्चा हुने गरेको छ । धितोपत्र बोर्ड जस्तो ठूलो नियामक निकायको नेतृत्वमा जाने व्यक्तिले व्यक्तिगत स्वार्थलाई बाहिरै राखेर जानुपर्ने, बोर्डको अध्यक्ष सरकारको सल्लाहकार हुनुपर्ने, अध्यक्षको पहलमा पुँजीबजारको विकास र बिस्तार गर्नु आजको आवश्यक रहेको सबैको बुझाई छ । लगानीकर्ताहरु पनि यतिबेला आफ्नो माग सम्बोधन गर्न सक्ने, सेयर बजारलाई अनावश्यक रूपमा संकुचन नलगाउने व्यक्ति खोजिरहेका छन् ।

तत्कालिन समयमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नरको संयोजकत्वमा बनाएको समितिले पुँजी बजारमा तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने काम भनेर ५२ वटा बुँदा पूर्णरुपमा कार्यान्वयन भइसकेको छैनन् । अझै पनि १ दर्जन काम बाँकी नै छन् ।

सेयर लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन र समय सापेक्ष बनाउन माग गर्दै आएका छन् । मार्जिन ल्यान्डिङ अझै कार्यान्वयनमा आएको छैन । सेयर बजारमा कर्नरिङ, इन्साइडर ट्रेडिङ हुँदा पनि नियामक निकायले धेरै चासो दिएको पाइँदैन ।

अहिले बुक बिल्डिङ सबैको चासोको विषय बनेको छ । यी मात्रै नभएर यस्ता धेरै काम गर्नुपर्ने चूनौती नवनियुक्त अध्यक्ष हमालकै काँधमा आइपुगेको छ ।

प्राथमिक सेयर निष्कासन गर्ने कम्पनीले सामूहिक लगानी कोष (म्युच्युअल फण्ड)लाई अनिवार्यरुपमा छुट्याउनु पर्ने र खुलामुखी म्युच्युअल फण्ड निष्कासन र प्रवर्द्धनमा जोड दिनुपर्ने विषय पनि चर्चामा छ । आइपीओको न्यूनतम १० कित्ता बाँडफाँटको नीतिलाई धितोपत्र ऐनमा नै व्यवस्था गर्नुपर्ने सबैमा माग छ ।

दोस्रो बजारमा कम्पनीका सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीको सेयर कारोबारलाई बढीभन्दा बढी पारदर्शी बनाइनुपर्ने माग पनि उठेको छ । इन्ट्रा डे कारोबारलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने र आज बेचेको सेयरको पैसाले सोही दिन सोही कम्पनीको वा अन्य कम्पनीको सेयर किन्न पाउनुपर्ने लगानीकर्ताको माग छ । यी लगायतका काम अब कसरी अघि बढाउने हुन, लगानीकर्ता त्यसैको प्रतिक्षामा छन् । यी काम हमालले आफ्नो करिब २ वर्षको कार्यकालमा गर्ने हुन् वा अध्ययन गरेर मात्रै बस्ने हुन् त्यो भने हेर्न बाँकी छ ।


क्लिकमान्डु