मीरगंज पुल भासिएपछि समस्यामा बिराटनगरका उद्योगी, काठमाडौंलाई छैन चासो



बिराटनगर । दुई वर्षअघि बिराटनगरमा एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएपछि व्यापार गर्न सहज हुने आशामा उद्योगी नविन रिजाल थिए ।

बिराटनगरलाई आधार मानेर उद्योग व्यवसाय गर्ने रिजाल मात्र नभएर सो क्षेत्रका सबै व्यवसायीहरु आइसीपी बनेपछि व्यवसाय गर्न सजिलो हुने आशामा थिए ।

भारतको सहयोगमा बनेको आइसीपी सञ्चालनमा आएपनि बिराटनगर क्षेत्रका उद्योगी व्यवसायीले आयात गर्ने रुट मीरगंज पुल भासिएपछि व्यवसायीले लागत बढेको छ ।

दुई वर्षअगाडि आइसीपीको उद्घाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दा नै सो पुलमा समस्या आएको थियो । बिराटनगरका क्षेत्रलाई आधार बनाएर उद्योग व्यवसाय गर्नेहरुको आइसीपी सञ्चालनमा भएपछि पुलमा समस्या नदेखिने बुझाइ थियो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल मीरगंज पुलमा देखिएको समस्याले सामान ल्याउन रिरुट गर्नुपर्दा प्रतिकिलो २ रुपैयाँ लागत बढेको बताउँछन् ।

‘मीरगंज पुल भत्किएपछि यसको ठाउँमा अर्को पुल बनेपनि सञ्चालनमा आउन सकेको छैन, भारतीय पक्षको व्यवहारले निराश बनाउने खालको देखिएको छ,’ रिजालले क्लिकमाण्डूसँग भने ।

काठमाडौंबाट आउने नेता तथा उच्च सरकारी अधिकारीलाई बिराटनगर क्षेत्रका उद्योगी व्यवसायीले मीरगंज पुलको समस्याको बारेमा जानकारी गराएका हुन्छन् ।

केही दिन अगाडि बिराटनगर पुगेका कांग्रेसका बरिष्ठ नेता शेखर कोइराला सहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र नेता मिनेन्द्र रिजाललाई व्यवसायीले मीरगंज पुलको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न अनुरोध गरेका थिए ।

व्यापार संघका अध्यक्ष रिजाल मीरगंज पुलको समस्या समाधान गर्नका लागि व्यक्तिगत पहलमा धेरै पटक भारतका सरकारी अधिकारीहरुसँग भेट गरिसके । गतसाता रिजाल भारतीय अधिकारीसँग भेट्न उतै थिए ।

रिजालबाहेक बिराटनगर क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीले मीरगंज पुलमा देखिएको समस्या समाधान गर्न र सहज रुपमा आपूर्ति व्यवस्थापन गर्न अनुरोध गरिरहेका छन् ।

‘संघका सदस्यले व्यक्तिगतरुपमा भेटेर मीरगंज पुलको समस्या समाधान नहुने देखियो, काठमाडौंले समस्या समाधानको लागि लाग्नुपर्ने भयो,’ रिजालले भने ।

बिराटनगरबाट ४ किलोमिटर दक्षिणमा मीरगंज खोलामा बनेको पुल भासिएपछि आयात र निर्यात व्यापार प्रभावित भएको छ । गत महिना बिराटनगरमा आएका भारतको बिहार राज्यका उपमुख्यमन्त्री तारकेश्वर प्रसादलाई बिरानटगरका उद्योगी व्यवसायीले पुलको समस्या समाधान गर्न अनुरोक गरेका थिए ।

प्रदेश नम्बर १ का आन्तरिक मामला तथा कानुनमन्त्री केदार कार्कीले भारतको बिहार राज्यका उपमुख्यमन्त्री मीरगंज पुलको समस्या समाधान नभएको कारण नेपाल व्यवसायीको लागत बढेको तथा व्यापार गर्न असजिलो भएको भन्दै समस्या समाधान गर्न अनुरोध गरेका थिए ।

बिराटनगर भ्रमणको क्रममा भारतको बिहार राज्यका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले मीरगंज पुलको समस्या बारेमा आफू जानकार रहेको र छिटै समस्या समाधान गराउने आश्वासन दिएका थिए ।

बिराटनगर भन्सार आयातको हिसाबले चौथो र निर्यातको हिसाले दोस्रो भन्सार नाकामा पर्छ । आइसीपी सञ्चालनमा आएपछि आयातको हिसाबले दोस्रो नाका हुने अनुमान बिराटनगर क्षेत्रका उद्योगी व्यवसायीको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल आइसीपी बनेपछिको फाइदा बिराटनगरका उद्योगी व्यवसायीले उठाउन नसकेको बताउँछन् ।

‘आइसीपी बनेपछि रेलबाट सिधै सामान आएको भए लागत घट्ने थियो, बिराटनगरमा आइसीपी आएपनि मीरगंज पुल भासिएपछि झनै लागत बढ्ने अवस्था भयो,’ प्याकुरेलले क्लिकमाण्डूसँग भने ।

भारतीय सरकारी अधिकारीसँग बिराटनगरका उद्योगी तथा व्यापारीहरुले मीरगंज पुलको बिकल्पमा दुईवटा बिकल्प प्रस्तुत गरेका थिए । व्यवसायीले मीरगंजको इँटा भट्टाको रुट तथा अरहिया कुर्साकाटा रुट प्रयोग गर्न दिन माग गरेका थिए ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बिराटनगर नाकाबाट १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस्तै ३७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।


क्लिकमान्डु