पूर्वका उद्योगीलाई तरलता अभावले नयाँ परियोजना ल्याउन समस्या



बिराटनगर । सरकारले बिलेट आयातमा लाग्ने भन्सार शुल्क बढाएपछि यसको उत्पादनको लागि लगानी थप्ने प्रक्रियामा रहेको प्रिमियर स्टिललाई बैंकमा देखिएको तरलता अभावले समस्या पारेको छ ।

प्रिमियर स्टिलका सञ्चालक अनुपम राठी तरलता अभावले लगानी थप्न समस्या भएको बताउँछन् ।

मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका राठीसँग सदस्यहरुबाट आउने गुनासो बैंकमा भएको तरलता अभाव र बैंकले बढाएको ब्याजदरको बढी हुन्छ ।

‘बैंकबाट पहिले नै स्वीकृत गरेको ऋण नपाउने समेत नपाउने अवस्था छ भने ब्याजदर बढ्दा लागत बढेको छ, प्रिमियर स्टिलकै युनिट थप्नको लागि बैंकबाट ऋण नपाएर अन्य स्रोतबाट व्यवस्थापन गर्नु परेको छ,’ राठीले क्लिकमाण्डूसँग भने ।

बैंकहरुमा भएको तरलता अभावको समस्याले देशभरका उद्योगी र व्यवसायीलाई भएको छ । पुरानो औद्योगिक नगरी बिराटनगर क्षेत्रका उद्योगी व्यवसायीहरु बैंकहरुमा भएको तरलता अभावले व्यवसाय गर्न नै कठिन भएको बताउँछन् ।

अघिल्लो साता बिराटनगर पुगेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यवसायीहरुले तरलता अभावले पारेको समस्याको बारेमा सुनाएका थिए । राष्ट्र बैंकले आयातमा लागू गरेको नगद मार्जिन तथा सहजरुपमा ऋण नपाएपछि व्यापार व्यवसाय नै गर्न कठिन भएको गुनासो उद्योगी व्यवसायीको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल उद्योगीहरुले नयाँ प्रोजेक्ट लगाउन नै तरलता अभावको कारण समस्या भएको बताउँछन् ।

‘हिँजोका दिनसम्म सहजरुपमा पाइरहेको कर्जा सहज रुपमा नपाउदा व्यापारको साइकल नै बिग्रने खतरा भएको छ,’ प्याकुरेलले क्लिकमाण्डूसँग भने ।

एकसाता क्लिकमाण्डूको पूर्वक्षेत्रका स्थलगत अवलोकनको क्रममा व्यवसायीको पहिलो गुनासो नै बैंकको तरलतासँग सम्बन्धित नै थियो । बैंकले ब्याजदर बढाएको तथा व्यापार गर्नका लागि नसकिने स्थिति देखिएको गुनासो व्यवसायीको छ । उद्योग संगठन मोरङमा अहिले उद्योगीले सुनाउने पहिलो गुनासो नै बैंकको ब्याजदरसँग सम्बन्धित हुन्छ ।

इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर चलाउने बलराम आचार्य नीति नियम परिवर्तन हुँदा ग्राहकले खोजेको सामानहरु नपाउने स्थिति देखा परेको बताउँछन् ।

‘नगद मार्जिनको व्यवस्थाले सामान नै नपाउने अवस्था आयो, व्यापार गर्न निकै मुस्किल हुने स्थिति देखिएको छ,’ उनले भने ।

बिरानगरमै बसेर उद्योग चलाउने व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनका दिनेश गोल्छा तरलता अभाव उद्योगी तथा व्यवसायीका लागि व्यवसाय चलाउनका लागि कठिन स्थितिमा पुगेको बताउँछन् । यस्तै धारणा बिराटनगरमै बस्ने गोल्छा अर्गनाइजेशनका अर्का सदस्य सुरेन्द्र गोल्छाको छ ।

उधारो बढ्यो
सिमेन्ट तथा स्टिल उत्पादन गरिरहेको व्यवसायिक घराना राठी समूहका सदस्य समेत रहेका अनुपम राठी बैंकमा देखिएको तरलता अभावले उधारो नउठ्ने समस्या देखिएको बताए ।

‘पैसा अभाव भएपछि बजारमा उधारो नउठ्ने समस्या प्रमुखरुपमा देखिएको छ, उधारो समस्या गम्भिर भएर जाने देखिन्छ,’ राठीले भने ।

व्यापार संघका उद्योग तर्फका उपाध्यक्ष विकास कुमार बेगानी तरलता अभावले उधारो उठाउन नसक्ने स्थितिमा बिराटनगर क्षेत्रका व्यवसायी रहेको बताउँछन् । संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रोग्मी सबैभन्दा पहिलो गुनासो बैंकबाट ऋण नपाएको र ब्याजदर बढेको गुनासो बढी भएको बताउँछन् ।

गत भदौदेखि बैंकिंग प्रणालीमा लगातार तरलताको अभाव छ । जसको प्रत्यक्ष असर व्यवसायी हुँदै उपभोक्तासम्म पुगेको छ । सरकारले तत्कालै यो समस्याको समाधान गर्न नसके निकट भविष्मै देशले ठूलो संकट व्यहोर्नुपर्ने देखिन्छ ।


क्लिकमान्डु