दुहवीका २२ वर्षे अमन चौधरीले शुरु गरेको ‘प्राउड पोशाक डट कम’, ‘कल्चरल ड्रेस’को हब बनाउने लक्ष्य



सुनसरी । एउटा सानो कोठामा अमन चौधरीले कम्प्युटरमा कोडिङको काम गर्दै थिए । छेवैमा उनी आफैले बनाएका लाइटिङ सिस्टम थिए । जसका बजार मूल्य १० हजार पर्ने रहेछ ।

‘त्यो लगानी गर्नुभन्दा आफैं बनाउँदा राम्रो,’ उनलाई लाग्यो ।

भित्तामा सेतो, हरियो रंगका पर्दा छन् । जसलाई उनी पृष्ठभूमि बनाएर फोटो खिच्छन् । त्यो पनि आफ्नै मोबाइलबाट ।

क्यामरा पनि किनौं भन्ने उनलाई नलागेको होइन तर अलिक महंगो पर्ने रहेछ । त्यसैले तत्काललाई मोबाइलबाटै चलाएका रहेछन् । किनभने उनलाई थाहा छ, स्टार्टअप शुरु गर्दा धेरै कुरा ‘कम्प्रमाइज’ गर्नुपर्छ ।

यो हो सुनसरीको दुहवी चोकैमा रहेको अमन चौधरीकोप्राउड पोशाक डट कम

कोठाको भाडा ४ हजार छ ।

अमनको यही सानो कोठालाई हेर्दा लाग्छ, कुनै पनि सफल स्टार्टअपको शुरुवात यसैगरी हुन्छ । जहाँ व्यवसायको ठूलो उद्देश्य छ, काम गर्ने जाँगर तीव्र छ र व्यवसायको सम्भावना उच्च ।

उनले नेपालमा यस्तो प्लेटफर्म बनाइरहेका छन् जहाँबाट नेपालका हरेक जातजातिका ‘कल्चरल ड्रेस’ उपलब्ध हुनेछन् । जस्तो कि थारु, राई, नेवार, लिम्बु, तामाङ सबैको समूदायको ‘कल्चरल ड्रेस’ उनले उपलब्ध गराउने जमर्को गरेका छन् ।

‘प्राउड पोषाक डट कम कल्चरल ड्रेस पाउने अनलाइन प्लेटफर्म हो,’ आफ्नो कार्यालयमा आफ्नो स्टार्टअपको बारेमा क्लिकमाण्डूको साक्षात्कारमा उनले भने, ‘मेरो चाहना हरेक किसिमका ‘कल्चरल ड्रेस’ यहाँबाट उपलब्ध होस् भन्ने हो ।’
उनका अनुसार अहिले कुनै पनि अनलाइनमा कल्चरल ड्रेस पाइँदैन ।

पहिलो चरणमा यसको शुरुवात आफ्नै समूदायको पोशाकबाट उनले गरेका छन् । उनले थारु महिलाहरुले लगाउने ‘अचरा खड्की’ र पुरुषहरुले लगाउने धोती बनाइरहेका छन् । जसलाई अनलाइनमार्फत् अर्डर लिन्छन र घर–घरमै पुर्याउँछन् ।

थारु समूदायका जस्तै अन्य जातजातिको पोशाक यसरी नै मुलुकभर र विदेशमा रहेका नेपालीमाझ पुर्याउने लक्ष्य उनको छ ।

अहिले उनको प्राउड पोशाक डट कममा जति पनि थारु समूदायका पोशाक राखेका छन् ती सबै आफ्नै मोबाइलबाट खिचिएका तस्बिरहरु हुन् ।

अमन चौधरी दुहवी, भलुवामा घर भएका २२ वर्षका ठिटा हुन् । इटहरि इन्टरनेसनल कलेजबाट ब्याचलर इन इन्फरमेसन एण्ड टेक्नोलोजी (बीआईटी) गरेका अमनको घरमा आमा र दिदी हुनुहुन्छ ।

आमाले माछा तथा खसी पालनलगायतको कृषि पेशा गर्नुहुन्छ । जसबाट उनले छोरा अमन र छोरीलाई शिक्षादीक्षा दिइरहेकी छन् ।

‘बीआईटी पढेका अमनलाई ‘कल्चरलल ड्रेस’को व्यवसाय गर्ने रहर कसरी आयो त ?,’ दुहवीको उनकै कार्यालयमा पुगेका हामीले सोधौं ।

उनले ‘ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी’ तेस्रो वर्षको प्रोजेक्ट गर्दै थिए । त्यहीबेला नेपालमा कोरोना संक्रमण शुरु भइसकेको थियो । कोरोना संक्रमण भएर लकडाउन भएपछि सबै ठप्प प्रायः भयो ।

उनले विभिन्न अनलाइनमा थारुको कल्चरल ड्रेस ‘अचरा खड्गी’ खोजे । दराजदेखि विभिन्न अनलाइनमा हेरे तर कतै पाएनन् ।

थारुको मात्र होइन, अन्य समूदायको कल्चरल ड्रेस पनि अनलाइनमा उपलब्ध थिएनन् ।

उनले आफ्नो बीटेकको अन्तिम वर्षको प्रोजेक्टलाई पनि प्राउड पोशाक डट कमलाई आधार मानेर शुरु गरे ।

‘त्यो प्रोजेक्टमा मैले थारु समूदायको कल्चरल ड्रेसमात्रै राखेंं,’ खड्की भन्छन्, ‘त्यसपछि अरु कल्चरल ड्रेस पनि राख्न सकिन्छ भन्ने सोच आएको हो ।’

र, कात्तिकको अन्तिम सातादेखि प्राउड पोशाक डट कमको व्यवसायिक शुरुवात गरे ।

नयाँ काम शुरु गर्नका लागि त्यति सजिलो भने भएन । वेवसाइट बनाउनै पर्यो । सानो भए पनि कार्यालय राख्नै पर्यो । केही कप्युटर लगायतको सामान पनि नजोडी भएन ।

तर यति धेरै सामानको जोहो गर्नका लागि लगानीका लागि पर्याप्त रकम थिएन ।

बीटेक पढेका अमनले आफै वेवसाइट बनाए । अनलाइनबाट आएको अर्डरलाई कसले सामान तयार गर्ने त ? उनले अचरा खड्की बनाउने ट्रेलर खोजे । डिजाइन, फोटोसपको काम उनी आफै गर्थे ।

त्यो सँगसँगै अनलाइनबाट आएको अर्डरको भुक्तानी प्रणालीका लागि इसेवा, खल्ती जस्ता भुक्तानी सेवा प्रदायकलाई जोडे ।
उनीसँग यति सानो काम गर्नका लागि समेत लगानी पनि थिएन । तर मनमा मनमा जुन व्यवसायिक सोच थियो, त्यसले यो काम गर्नका लागि उप्रेरित गरिरह्यो ।

लगानीका लागि आफ्ना हितैषी मित्रहरुलाई भने, ‘मसँग यस्तो आइडिया छ, मलाई सानो लगानी गरिदिनु पर्यो ।’

सञ्जय, प्रविन, सुमिन, सोनी, अंकिताहरुले २/२ हजार रुपैयाँका दरले उनलाई सहयो गरे ।

उनीसँग व्यक्तिगत प्रयोजनका लागि ल्यापटप तथा कार्यालयका लागि आवश्यक अन्य सागग्री पहिलेदेखि नै थिए । उनले त यही व्यवसायका लागि ३० हजार रुपैयाँ बराबरको सामान पनि किनेका छन् । जसबाट अमनको आमाले पनि छोराको कामलाई अगाडि बढाउन धेरै सहयोग गरेकी छन् ।

‘आमा मलाई धेरै मोटिभेट हुनुहुन्छ,’ अमन भन्छन्, ‘यहाँले जहिले पनि प्रोत्साहन गर्नुहुन्छ । उहाँको साथबिना यो शुरु गर्न सम्भव थिएन ।’

बीटेकको अध्ययन पूरा भएपछि आमाले भन्नुभयो, ‘अब जागिर खानुपर्छ ।’ तर अमनको सोच भने अर्कै थिए ।

सकेसम्म आफ्नै केही गर्ने । उद्यमी बन्ने ।

‘जागिर पनि गरौंला तर म अहिले केही नयाँ काम गर्न चाहन्छु । जहाँबाट केही आम्दानी पनि हुन्छ,’ उनले आमालाई आफ्नो योजना सुनाए ।

आमाले अमनको कुरालाई काट्न सकिनन् । बरु, आमा उनलाई लिएर उद्योग संगठन मोरङको कार्यालय विराटनगर पुगिन । र, त्यहाँ गएर भनिन्, ‘मेरो छोराले यस्तो काम गर्दैछ, कृपया ऋण मिलाइ दिनुपर्यो ।’

उद्योग संगठन मोरङको कार्यलयमा महानिर्देशक चुडामणि भट्टराई थिए । भट्टराइले भने, ‘हामीले ऋण दिने वा लगानी गर्ने भन्ने होइन । हामीले त स्टार्टअपका लागि मेन्टरसिप दिने, व्यवसाय कसरी अगाडि बढाउने भनेर सिकाउने हो ।’

अमनले यो कुरा सुनिरहेका थिए । उनलाई मनमनै लाग्यो, ‘यो त मेरा लागि धेरै राम्रो रहेछ ।’

त्यो बेला उद्योग संगठन मोरङले स्टार्टअप गरिरहेका उद्यमीलाई सहयोग गर्ने भनेर स्टार्टअप एण्ड इनोभेसेन प्रोग्राम शुरु गरिसकेको थियो । यसका लागि संगठनले आवेदन पनि आह्वान गरेको थियो ।

अमनले पनि आवेदन दिए । छनोट पनि भए । आज यही संगठनले चलाइरहेको मेन्टरिङ र कोचिङमा छनोट भएका १७ जना उद्यमीमध्ये एक हुन् ।

‘यहाँबाट मैले धेरै कुरा सिक्न पाएको छु,’ उनी भन्छन्, ‘यसले नेटवर्क बनाइदिएको छ । धेरैले मलाई चिन्न पनि थालेका छन् ।’
उद्योग संगठनले सञ्चालन गरेको बुट क्यापल, इन्भेष्टर मिटिङ जस्ता कार्यक्रमले आफ्ना ग्राहकसम्म पनि पुग्न सकेको उनी बताउँछन् ।

अहिले थारु कल्चर ड्रेसको अर्डर आउने क्रम बढ्न थालेको छ । अचरा खड्की र धोती लगाउने थारुहरुले यसको अर्डर गर्न थालेका छन् ।

‘यो त मेरो शुरुवात मात्रै हो,’ अमन भन्छन्, ‘शुरु गरेको साढे तीन महिनामै दुई दर्जन पिस बिक्री भइसकेको छ ।’
उनको अनुसार जसबाट १ लाख ५० हजार आम्दानी गरेका छन् ।

उनलाई दुहवी, बिराटनगर, लहान जस्ता ठाउँबाट अर्डर आइरहेका छन् । केहीले उपहारको रुपमा टाढासम्म पनि पठाएका छन् ।

उनलाई थाहा छ, यो बिक्री धेरै कम हो । तर, स्टार्टअप शुरु गरेको तीन महिनामै धेरै ठाउँमा थाहा पाएर यस परिमाणमा बिक्री हुनुलाई उनले उपलब्धी नै मानेका छन् ।

अचरा खड्कीको मूल्य डिजाइनअनुसार १ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ । यी कपडा विशेष गरी बिहेमा दुलहीका लागि अनिवार्य छ । दुलहीका लागि १०–१५ हजार रुपैयाँसम्मको लगाउने चलन छ ।

केटाहरुले लगाउने धोतीको मूल्य २ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्छ ।

अमन थारु समूदायमा चर्चित युवा पनि हुन् । कलेज पढ्दै गर्दा ‘नोभेल मिस्टर एण्ड सीम थारु आइसन सन् २०१९’ प्रतियोगिता भएको थियो । उनले त्यस प्रतियोगितामा भाग लिए ।

‘मैले त्यो प्रतिस्पर्धा पनि जिते,’ अमन भन्छन्, ‘त्यहाँबाट पनि बोल्न, केही नयाँ गर्नुपर्छ भन्ने सिकेको थिएँ ।’

उक्त प्रतिस्पर्धाबाट पनि ‘कल्चरल ड्रेस’को बारेमा धेरै कुरा थाहा पाएको उनको भनाइ छ ।

अनलाइन शुरु गर्दा महंगो ‘कल्चरल ड्रेस’ कसरी बिक्री होला भन्ने लागिरहेको थियो । सामान्यतया जसलाई ८ देखि १० हजार पर्छ । तर, अहिलेसम्मको अनुभवले भने यो राम्रो हुन्छ भन्ने लागिरहेको छ ।

त्यही पनि उनले सोचिरहेका छन्, स्टार्टअपसँगै आफ्नो पढाइअनुसारको पार्टटाइम जागिर पनि गर्ने । स्टार्टअप भनेको एकै पटक ह्वात्तै हुने होइन । जसका लागि धेरै मेहनत, धेरै समय र लगानी पनि चाहिन्छ । त्यो सबै गर्न उनको लागि पर्याप्त लगानी छैन ।

यसै काराणले पनि स्टार्टअपलाई अझ सहज सञ्चालन गर्न केही अन्य काम गर्ने सोच उनको छ । अबको एक दुई वर्षमा नेपालका सबै ‘कल्चरल पोशाक’लाई अनलाइन पाउने बनाउने उनको उद्देश्य छ ।


सन्तोष न्यौपाने