रसिया युक्रेन युद्धको नेपालमा असरः महंगी बढाउने र विदेशी मुद्रा सञ्चिती घटाउने



नेपालबाट ५ हजार ८ किलोमिटर पर रहेको युक्रेन र रसियाबीच बढिरहेको तनावले नेपाली जनताको गुजारा चलाउने खर्च बढाउने मात्र नभई विदेशी मुद्राको सञ्चिती झनै घटाउने सम्भावना छ ।

काठमाडौं । नेपाली समय अनुसार शुक्रबार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा रसियाको अर्थतन्त्र कमजोर बनाउन थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आक्रामक भएका छन् । पुटिनले यो युद्ध रोजेका हुन् । अब पुटिन र उनको देशले परिणाम भोग्नु पर्छ,’ पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘आज म थप कडा प्रतिबन्ध लगाउने घोषणा गर्दैछु । र, रसियामा निर्यात गर्न सकिने सामानको नयाँ सीमा तोक्न गइरहेको छु । यसले रसियाको अर्थतन्त्रमा तत्काल र केही समयपछि गम्भीर असर पार्नेछ । रसियामा दीर्घकालीनरुपमा धेरैभन्दा धेरै असर परोस् र अमेरिकासँग नजिक रहेका देशको अर्थतन्त्रमा केही नहोस् भन्ने उद्देश्यले हामीले यी प्रतिबन्ध लगाउने योजना बनाएका हौं ।’

राष्ट्रपति बाइडेनको घोषणा लगत्तै रसियालाई स्वीफ्ट प्रणालीबाट हटाइएको छ । अमेरिकाको नयाँ प्रतिबन्धपछि रसियासँग वित्तीय कारोबार गर्न कुनै पनि देशलाई कठिन हुन्छ । २०० देशका ११ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्था स्वीफ्टमा सदस्य छन् । अब रसियालाई एक देशबाट अर्काे देशमा हुने वित्तीय कारोबारको सन्देश पठाउन कठिन हुनेछ ।

यस्तै, अमेरिकाले रसियासँग इलेक्ट्रोनिक प्रविधि, विमानमा स्पेयर पार्ट, सेमिकन्डक्टर लगायतका वस्तुको व्यापार नगर्ने घोषणा गरेको छ । अमेरिकाको नयाँ घोषाणले रसियामा हवाईजहाज बनाउन कठिन हुनुका साथैं रसियामा प्रविधि विकासको रफ्तारमा मन्दी आउने सम्भावना पनि छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले आफ्नो देशमाथि आक्रमण गरेकाले प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समूदायसँग माग गर्दै आएका थिए । रसियाले युक्रनमाथि आक्रमण शुरु गरेको अर्काे दिन अमेरिकाले रसियामाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

युक्रेनले सोभियत संघबाट छुट्टिएर पश्चिमा देशको संगठन युरोपियन युनियन (ईयु) र उत्तरी एट्लाण्टिक सन्धी संगठन (नाटो)को सदस्य बन्न खोज्नुको साथैं युक्रेनको सहर क्रिमियालाई रसियाले सन् २०१४ मा मिलाएपछि रुस र युक्रेनबीच विवाद चल्दै आएको थियो ।

नेपाल सरकारले बिहीबार युक्रेनको घटनालाई नजिकबाट नियालिरहेको बताउँदै दुबै पक्षलाई तनाब नबढाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले रसियाले युक्रेनमाथि गरेको आक्रमण संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सिद्दान्त विपरीत रहेको ठहर गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्ने’ उल्लेख छ ।

राजनीतिक कारणबाट शुरु भएको रसिया युक्रेन युद्धले संसारभरका नागरिकको दैनिक गुजारा चलाउने खर्च बढ्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपमा प्रयोग हुने करिब ४० प्रतिशत एलपीजी ग्याँस रसियाले निर्यात गर्ने गर्छ । संसारभर खपत हुने २८ प्रतिशत गहुँ युक्रेन र रसियाले निर्यात गर्ने गर्छन् । यस्तै, युक्रेन जौं उत्पादन गर्ने विश्वका प्रमुख ५ देशभित्र पर्छ । रसिया र युक्रेन विवाद लम्बिदै जादाँ बियरसँगै कैयौं वस्तुको मूल्य बढ्ने देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले कैयौँ क्षेत्रमा असर
अमेरिकाले रसियामाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेपछि यसको असर अन्तर्र्राष्ट्रिय बजारमा देखिन थालेको छ । अमेरिकी प्रतिबन्धसँगै कच्चा तेलको मूल्य २.१९ प्रतिशतले बढेर प्रतिब्यारेल १०१.२५ डलर पुगेको छ ।

युक्रेन र रसिया विवाद बढेपछि गत सोमबार कच्चा तेलको मूल्य सेप्टेम्बर २०१४ पछिको उच्च विन्दुमा पुगेको थियो । सेप्टेम्बर २०१४ मा कच्चा तेलको मूल्य ९९.९८ डलर प्रतिब्यारेल थियो । गत सोमबार कच्चा तेलको मूल्य ९९.७८ प्रतिब्यारेल भएको छ ।

गत वर्ष अक्टोबरसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा कम थियो । आर्थिक संकटको वर्ष सन् २००८ जुलाईमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च १४७.२७ डलर पुगेको थियो । यसपटक भने उक्त रेकर्ड पनि टुट्ने विश्लेषकहरुको दाबी छ ।

सीएनएनमा प्रकाशित एक समाचार अनुसार पुटिनले युक्रेनमा गरेको आक्रमणले अमेरिकी नागरिकले १० प्रतिशतसम्मको मूल्यवृद्धिको सामाना गर्नुपर्ने उल्लेख छ ।

रसिया संसारको तेस्रो ठूलो कच्चा तेल उत्पादक देश भएकाले रसिया र युक्रेन विवादले मूल्यवृद्धि हुन्छ भन्न थालिएको हो ।

कच्चा तेलको मूल्य ५० प्रतिशत मात्र मूल्यवृद्धी हुँदा पनि युरोप आर्थिक मन्दीमा जान सक्ने विभिन्न सञ्चार माध्यममा उल्लेख छ ।

युद्ध युक्रेन र रसियाबीच भए पनि यसको असर भने संसारभरका नागरिकलाई पर्ने निश्चित छ । तर, विवाद लम्बिदै जाँदा विश्व अर्थतन्त्र कसरी तहसनहस हुन्छ केही भन्न सकिन्न । नेपालको प्रत्यक्ष व्यापार युक्रेन र रसियासँग नभएपनि विश्वभर बढ्ने महँगीको असर नेपाली नागरिकले पनि सामाना गर्नुपर्नेछ ।

हाल विश्वमा दैनिक उत्पादन हुने कुल कच्चा तेलको करिब ११ प्रतिशत उत्पादन रसियाले गर्छ । संसारको ठूलो कच्चा तेल उत्पादक देश भने अमेरिका हो । उसको दैनिक उत्पादनमा करिब २० प्रतिशत योगदान हुन्छ । दोस्रो ठूलो कच्चा तेल उत्पादक साउदी अरेबियाले करिब १२ प्रतिशत उत्पादन गर्छ ।

कच्चा तेल उत्पादकमा तेस्रो देश भएपनि रसिया प्राकृतिक ग्याँसको सबै भन्दा ठूलो निर्यातकर्ता र पेट्रोलियम पर्दाथको दोस्रो ठूलो निर्यातकर्ता हो । सन् २०२० मा मात्रै रसियाले १ खर्ब २३ अर्ब अमेरिकी डलर बराबरको कच्चा तेल, ६६.२ अर्ब डलर बराबरको रिफाइन तेल र २६.३ अर्ब डलर बराबर पेट्रोलियम ग्याँस निर्यात गरेको थियो ।

युक्रेन र रसियाको तनाव बढ्दै जानुको सिधा अर्थ हुन्छ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमा गिरावट आउनेछ । यस्तै रसियामाथि विभिन्न देशले प्रतिबन्ध लगाउँदा पनि बजारमा कच्चा तेलका आपूर्ति झनै घट्ने छ । आपूर्ति कम हुँदा स्वभाविक रुपमा मूल्यवृद्धि हुनेछ ।

पेट्रोलियम पदार्थको उपभोगमा अमेरिका र चीनपछि भारत तेस्रो स्थानमा छ । भारतमा दैनिक करिब ५ मिलियन ब्यारेल पेट्रोलियम पदार्थको उपभोग हुँदा भारतको आन्तरिक उत्पादन भने करिब १.२ मिलियन ब्यारेल मात्रै छ । भारतले पेट्रोलियम पदार्थको ठूलो हिस्सा आयात गर्ने हुँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ मूल्य बढ्दा त्यसको सिधा प्रभाव भारतसँगै नेपाली बजारमा पनि पर्छ ।

भारतको अर्थमन्त्री निर्मला सितारमणले पछिल्लो तनावले भारतको अर्थतन्त्रलाई समस्या पर्ने बताएकी छन् । यस्तो अवस्थामा पनि नेपालका अर्थमन्त्री भने पर्वतको कुस्मा रहेको स्काई क्याफेमा रमाइरहेका थिए ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुको प्रत्यक्ष र अप्रत्यक्ष असर नेपाललाई पर्छ । चालु आर्थिक वर्षको ७ महिनामा भारतबाट ६ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । नेपालमा डिजल, पेट्रोल र ग्याँसको मूल्य त सिधैं बढ्छ नै साथै औद्योगिक कच्चा पदार्थ, ढुवानी लगायतमा लागत पनि बढ्छ ।

त्यसले खानेकुरा, लत्ताकपडा, सवारी साधन सबै बस्तुको मूल्य बढ्ने सम्भावना छ । त्यती मात्र होइन, पेट्रोलियम पर्दाथको मूल्य बढ्दा तरकारी फलफूल दुधलगायतका दैनिक उपभोग्य सामानको पनि मूल्य बढ्ने सम्भावना छ । जसले गर्दा चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ६ प्रतिशतको मूल्यवृद्धि सीमाभित्र रहने सम्भावना छैन ।

पछिल्लो समय भारतका ५ राज्यमा निर्वाचन भइरहेकाले ४ नोभेम्बरदेखि पेट्रोल र डिजलको मूल्य बढेको छैन । एनडिटिभिमा प्रकाशित समाचार अनुसार निर्वाचन सम्पन्न भएलगत्तै भारतमा पेट्रोलको मूल्य १२० रुपैयाँ (१९२ नेरु) सम्म पुग्ने सम्भावना छ । यदि भारतमा लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा भारतबाट आयात हुने सामानको मूल्य पनि बढ्ने छ ।

७ मार्चमा भारतमा ५ राज्यमा जारी निर्वाचान सम्पन्न भएपछि त्यसपछि भारतमा पेट्रोलियम पर्दाथको मूल्य बढ्ने निश्चित छ । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिनेछ । व्यवसायीको उत्पादन लागत बढ्दा सामानको मूल्य बढाउने हुँदा युक्रेन र रसिया युद्धले नेपाली जनताको चुलोलाई समेत असर पार्नेछ ।

युक्रेनलाई बेलायत र अमेरिकाले सैन्य सहयोग दिने बताएका छन् । जसले गर्दा तत्कालै यो समस्या समाधान हुने देखिदैन । फ्रान्स र जर्मनीले रसियाको कदम उपयुक्त नभए पनि रसियासँग सम्बन्ध भने जारी राख्ने बताएका छन् ।

रसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनले आप्mनो पोजिसन प्रष्ट पारेको छैन । चीनले क्षेत्रिय सम्प्रभुताको सम्मान गर्नुपर्छ भन्दा अमेरिकाले कडा प्रतिबन्ध लागाउन माग गरेको छ । अमेरिकाले केही कडाइ पनि शुरु गरिसकेको छ । त्यसको असर बजारमा पर्ने निश्चित छ ।

सनफ्लावर तेलको मूल्य आकाशिने
चालु आर्थिक वर्षको ६ महिनामा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड रुपैयाँ बराबर आयात गर्दा १५ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपालले धेरै आयात गर्ने मुलुकमध्ये युक्रेन ८औं नम्बरमा छ । यो वर्षको ७ महिनामा ९ अर्ब ५१ रुपैयाँ बराबरको ५ करोड ७४ लाख लिटर कच्चा सनफ्लावर तेल युक्रेनबाट आयात भएको छ ।

यस्तै ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको ४ करोड ४५ हजार केजी तोरीको दाना पनि आयात भएको छ । नेपालले कच्चा सनफ्लावर तेल अर्जेन्टिनाबाट १५ लाख २३ हजार लिटर र रसियाबाट १ करोड ५२ लाख लिटर आयात गरेको थियो । अमेरिकाले रसियामाथि प्रतिवन्ध लगाएसँगै रसियासँगको व्यापार पनि प्रभावित हुने देखिन्छ ।

रसिया नेपालबाट धेरै आयात हुने देशमध्ये २०औं स्थानमा रहेको छ । रसियाबाट चालु आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात गरेको छ । त्यसमा २ अर्ब ५८ करोड रुपैयाँको त कच्चा सनफ्लावर तेल छ ।

नेपालमा ७ करोड ४१ लाख कच्चा सनफ्लावर तेल आयात हुँदा रसिया र युक्रेनबाट मात्रै ७ करोड २५ लाख कच्चा तेल आयात भएको हो । जसले गर्दा युक्रेन र रसियाबीच विवाद हुँदा नेपालमा सनप्mलावर तेलको मुल्य बढ्ने व्यवसायीहरु बताउँछन् ।

हाल नेपाली बजारमा सनफ्लावर तेल प्रतिलिटर २४० देखि २७० रुपैयाँसम्म पाइने गर्छ । नेपालले रसियाबाट ९१ किसिमका सामान आयात गर्दा धेरै आयात हुने प्रमुख २ वस्तु कच्चा सनफ्लावर तेल र तोरीका दाना हुन् ।

यस्तै, युक्रेनबाट आयात हुने प्रमुख २ वस्तु कच्चा सनफ्लावर तेल र तोरीका दाना नै हुन । नेपालमा यी दुई वस्तुको मात्र १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले रसियामा १५ करोड ११ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । विवाद बढ्दै जाँदा निर्यात पनि प्रभावित हुने देखिन्छ ।

विदेशी मुद्राको सञ्चिती झनै घट्ने
पेट्रोलियम पदार्थको मूल्य बढ्दा सबै सामानको मूल्य बढ्ने हुँदा नेपालमा आयात बढ्ने व्यवसायीहरु बताउँछन् । चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षको तुलनामा सामानको परिणाम खासै बढी नभएपनि मूल्यवृद्धिका कारण ७ महिनामै ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको आयात भइसकेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिती पनि घट्ने क्रममा छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार माघ मसान्तसम्म भुक्तानी सन्तुलन २ खर्ब ४१ अर्ब रुपैयाँले घाटामा हुदाँ विदेशी मुद्राको सञ्चिती ११ खर्ब ६५ अर्ब रुपैयाँमा सीमित छ ।

अन्तर्राष्ट्रिय बजारमा सामानको मूल्य बढ्दै जाँदा आयात गर्दा बढी मूल्य भुक्तानी गर्नुपर्ने भएकाले विदेशी मुद्राको सञ्चितीमा गिरावट आउने सम्भावना छ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा नेपाल सरकारले केही गर्न नसक्ने भएपनि देशभित्रका आन्तरिक उत्पादन बढाउन सरकारले काम गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।


शरद ओझा