कृषिमन्त्री रायले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ ।

असोज २२ गते पदभार सम्हालेका उनले १०० दिन पुगेको अवसरमा सम्पादन गरिएका मुख्य कार्यहरू सार्वजनिक गरेका छन् ।

मन्त्रीले १०० दिनमा आफ्नो क्षेत्राधिकारभित्र रहेको विभिन्न कार्यहरूमा सुधार ल्याएको दाबी गरेका छन् ।

मन्त्री यादवले नीतिगत तथा कानूनी व्यवस्था अन्तर्गत राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत भई कार्यान्वयaनमा ल्याइएको, बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको र राष्ट्रिय मत्स्य विकास नीतिको मस्यौदालाई अन्तिम रुप दिई स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पेश हुने प्रकृयामा रहेको जनाएका छन् ।

त्यसैगरी, राष्ट्रिय कृषि नीतिको मस्यौदा तयार गरी प्रदेश र स्थानीय तहसँग राय सुझावका लागि अनुरोध गरिएको, पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्दान्तिक सहमति प्राप्त गरिएको, पशु संक्रामक रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्दान्तिक सहमति प्राप्त गरिएको र कृषि व्यवसाय प्रवर्द्धन विधेयकको मस्यौदा तयार गरी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयमा राय सुझावका लागि अनुरोध गरिएको उल्लेख छ ।

विभिन्न बाली/वस्तुको मूल्य निर्धारण
मन्त्री यादवले १०० दिनको अवधिमा विभिन्न बाली÷वस्तुको मूल्य निर्धारण गरेको बताएका छन् । जसमा चालु आव २०७८/७९ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २७ सय ५२ रुपैयाँ र मध्यम धानको मूल्य २९ सय २ रुपैयाँ निर्धारण गरिएको छ ।

कृषकहरुबाट धान खरिद गरिने कार्यलाई सुनिश्चित गर्न कृषक समूह÷सहकारीलाई सूचीकृत गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निर्देशन दिइएको छ ।

त्यस्तै, उखु कृषकको बृहत्तर हितका लागि गत बर्षको तुलनामा उखुको न्यूनतम समर्थन मूल्यमा ८.४५ प्रतिशतले वृद्धि गरी ५ सय ९० रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरिएको, निर्धारित मूल्यको आधारमा ८ जिल्लाका उखु कृषकलाई उखु प्रवर्द्धन खर्चबापत ७७ करोड ५६ लाख रुपैयाँ सम्बन्धित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत भुक्तानी गरिएको (९९ प्रतिशत भुक्तानी भइसकेको) उल्लेख छ ।

चालु आर्थिक वर्षको क्रसिङ्गको विवरण प्राप्त भइनसकेको सन्दर्भमा गत आर्थिक वर्षको विवरणको आधारमा रकम निकासाको प्रक्रिया शुरु गरिएको मन्त्री यादवले बताए ।

कफीलाई गुणस्तरका आधारमा वर्गीकरण तथा कृषकको मुनाफा सुनिश्चित हुने गरी बर्गीकरणको आधारमा प्रतिकेजी रु. ८० देखि ४५० सम्म मूल्य निर्धारण गरिएको, कच्चा दूधको प्रति एकाइ फ्याट ६.८१ रुपैयाँ र प्रति एसएनएफ एकाइ ३.६० रुपैयाँको दरले ४ एकाइ फ्याट र ८ एकाइ एसएनएफ भएको कच्चा दूधको प्रतिलिटर किसानले प्राप्त गर्ने न्यूनतम मूल्य ५६.०४ रुपैयाँ निर्धारण गरिएको छ ।

साथै, किसानले न्यूनतम मूल्य प्राप्तिको सुनिश्चितताका लागि अनुगमन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डलाई निर्देशन दिइएको मन्त्रीको भनाइ छ ।

मन्त्री यादवले गत असोज ३१ गतेदेखि विभिन्न भागमा भएको बेमौसमी वर्षाबाट प्रभावित कृषकहरुलाई राहत प्रदान गर्न अर्थ मन्त्रालयवाट १ अर्व निकासा गराउने कार्यको समन्वय गरिएको बताए ।

बजारमा रासायनिक मलको अस्वभाविक मूल्यवृद्धिले लक्षित परिमाणमा मल आयात हुन नसक्ने भएकाले मलको आयातलाई सहज व्यवस्थापन गर्न अर्थमन्त्रालयमार्फत् स्रोत सुनिश्चित गरिएको जनाएको छ ।

सो यस अवधिमा २ लाख ६४ हजार मेट्रिक टन मल आयातको समझौता भए बमोजिममा १ लाख ६ हजार मेट्रिक टन रासायनिक मल आपुर्ति गरिएको र गत वर्षको मौज्दात समेत गरी २ लाख ४ हजार मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण भएको जनाएको छ ।

सरकारदेखि सरकारसम्म जीटुजी विधिवाट भारत सरकारसँग आगामी ५ वर्षका लागि वार्षिक करिब १ लाख ५० हजार मेट्रिक टनको दरले मल आपूर्तिका लागि एमओयू तयार गरी सम्झौताको क्रममा रहेको छ ।

साथै, कृषि तथा पशुपन्छी क्षेत्रमा व्यवसायीकरण विस्तार गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न वाली र वस्तुका ७१ वटा जोन र २४० वटा उत्पादन पकेटहरु निर्धारण गरिएको छ ।

पोखरा महानगपालिकामा रहेको बङ्गुर औधोगिक पार्कको विगत दुई बर्षदेखि स्रोत अभावमा अधुरो रहेको निर्माण कार्य सम्पन्न गर्न पोखरा महानगरपालिका र सम्बन्धित सरोकारवालासँग समन्वय गरी पालिकामार्फत २ करोड ९९ लाख ९४ हजार ससर्त अनुदान उपलब्ध गराइएको छ ।

पशुपन्छीका विभिन्न संक्रामक रोगहरु विरुद्ध प्रयोगका लागि १३ प्रकारका १ करोड ८ लाख मात्रा खोप उत्पादन तथा वितरण भएको गरिएको मन्त्रीले जनाएको छ ।

साथै, पशुपन्छी तथा मत्स्य बिमा प्रिमियमको अनुदान बापत् २४ करोड भुक्तानी गरी करिब ३९ अरब रकम बराबरको बाली तथा पशु वस्तुको सुरक्षण गरिएको र नेपालमा दुधबाट उत्पादित १ अर्ब २० करोड रुपैयाँ बराबरको छुर्पी जापान, अमेरिका र युरोपियन मुलुकहरुमा निर्यात भएको जनाएको छ ।


क्लिकमान्डु