कारखानाले विकास गर्दैछ विद्यार्थीका लागि विज्ञान र प्रविधिको सोच, आफ्ना सामग्री विदेश पठाउने तयारी



काठमाडौं । विद्यालयमा विज्ञान पढ्दै गर्दा रमाइलो लाग्ने एउटा टपिक हो, चुम्बकीय तत्व । चुम्बकसँग हामी धेरै खेल्यौं । खल्तीमा राखेर धेरै हिड्यौं पनि ।

तर, चुम्बकीय तत्व पढिरहँदा यसको प्रयोगात्मक अभ्यास र यसका विभिन्न पक्षबारे बुझ्ने अवसर भने कमै विद्यार्थीलाई हुन्छ । मुलुकका अधिकांश विद्यालयमा विद्यार्थीले त्यस्तो मौका पाउँदैनन् ।

चुम्बकमात्र होइन, विद्यालयस्तरको विज्ञान विषयका हरेक पाठ प्रयोगात्मक हुनुपर्ने हो । त्यसका लागि चाहिने सामग्रीको प्रयोग गर्दै विद्यार्थीमा नयाँ सोचको विकास गर्नु पर्ने हो ।

तर, त्यस्तो मौकाबाट बन्चित छन् नेपालमा अधिकांश विद्यार्थी ।

यही ग्यापलाई पुरा गर्न लागिपरेको छ- कारखाना ।

झट्ट नामसुन्दा कारखाना एक उद्योगजस्तो लाग्छ । तर, यो नानीबाबुहरुको शिक्षामा विज्ञान र प्रविधि जोडेर सिकाउने संस्था हो ।

एक दशकको अवधिमा कारखानाले मुलुकभरका विभिन्न विद्यालयमा पुगेर १ देखि १० कक्षासम्मका विद्यार्थीलाई विज्ञान प्रविधि सिकाइरहेको छ ।

कोरोनाअघिसम्म कारखानाले ६ हजार विद्यार्थीसँग काम गर्थे । विद्यालयसँग सहकार्य गरेर विज्ञान, प्रविधि, इलेक्ट्रोनिक्स, रोबोटिक्सका अनेक आयात सिकाइरहेको छ ।

कोरोना अघिसम्म काठमाडौंका ८५ वटा विद्यालयसँग सहकार्य गरेको कारखानाले अहिले ५० वटा विद्यालयमा काम गरिरहेको छ । काठमाडौं बाहिर १७ विद्यालयसँग सहकार्य भइरहेको थियो । यसमा निजी, सामुदायिक, सहकारी सबै स्कुल छन् ।

‘कारखाना एक सामाजिक व्यवसाय हो,’ कारखानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवित्रबहादुर गौतम भन्छन्, ‘जसले विज्ञान र प्रविधिको सिकाइमा काम गर्छ ।’

कारखानाले कक्षा १ देखि १० सम्मका विद्यार्थी र शिक्षकको लागि चाहिने सामग्री उत्पादन गर्छ । जस्तो कि विज्ञान, प्रविधि, रोबटिक्स, इलेक्ट्रोनिक्स, प्रोग्रामिङका सामग्री र सिकाई विकास गर्छन् ।

मानौं विद्यार्थीले न्युटनका नियमबारे पढ्दै छन् । न्युटनका विभिन्न नियम छन् । ती नियमलाई पढ्नेमात्र नभएर प्रयोग गरेर देखाउन त्यसको थप व्याख्या र विभिन्न सामग्री आवश्यक पर्छ । प्रयोगात्मक अभ्यासको लागि चाहिने सामग्री र पाठको योजना कारखानाले बनाइदिन्छ ।

शिक्षकलाई सशक्तिकरणमा विभिन्न काम गरिरहेका छन् ।

‘विज्ञान र प्रविधिको सिकाइको स्तरलाई उन्नती गर्ने काममा सामग्री, तालिम र अनुसन्धान गर्छ,’ गौतम भन्छन्, ‘जसलाई ‘स्टिम एजुकेसन’ भनिन्छ ।’

कारखाना मुख्यत विद्यालयसँग सहकार्य गरेर यी काम गर्छ । विद्यालयले आफ्नो आवश्यकताअनुसार कार्यक्रम, लेसन प्लान, सामग्री उत्पादन गरेर पुर्याइदिन्छन् । जसमा विज्ञान, प्रविधि, इलेक्ट्रोनिक्स, रोबटिक्स, इन्जिनियरिङको कुरालाई कसरी कक्षाकोठामा लैजाने, शिक्षक पनि सिकाउनु पर्यो भने विद्यालयमा काम गर्छ ।

कुनै अभिभावकले व्यक्तिगतरुपमा आफ्ना नानीबाबुलाई कारखानाका सामग्री प्रयोग गर्न चाहेमा त्यो पनि उपलब्ध रहेको गौतमले बताए । अभिभावकले घरमै बसेर पनि विज्ञान र प्रविधि बारेमा सिकाउन सक्छन् ।

सामुदायिक विद्यालयमा भने एनजीओ वा अन्य संस्थामार्फत् काम गरिरहेका छन् । काठमाडौं महानगरपालिकाको २५ वटा विद्यालयमा ‘स्टिम ल्याब’ बनाएका छन् ।

पाँचखाल नगरपालिकामा मेयरको सहकार्यमा ३ वटा स्कुलमा ‘स्टिम ल्याब’ स्थापना भएका छन् । त्यस्तै, सिन्धुली, सुनसरी, हेटौंडा, जुम्लामा काम गर्दा विभिन्न एनजीओसँग सहकार्य गरिरहेका छन् । शिक्षामा काम गर्ने एनजीओहरुले उनीहरुका सामग्री प्रयोग गरेर विद्यालय, शिक्षकसँग काम गरिरहेका छन् ।

‘विज्ञान प्रविधिको शिक्षालाई फरक ढंगाबाट हेरौं भन्ने हाम्रो चाहना हो,’ गौतम भन्छन्, ‘त्यसको लागि पाठ्यक्रमको निर्माण, शिक्षक तालिम, अनुसन्धान, आवश्यक सामग्री इन्जिनियरिङको काम गरिरहेका छौं ।’

दुई वर्षदेखि शिक्षक तथा विद्यार्थीको लागि चाहिने सामग्र (किट) उत्पादन पनि शुरु गरेका छन् । पाठ्यक्रमलाई चाहिने सामग्रीको उत्पादन गर्न आफ्नै कारखाना स्थापना गर्दैछन् । कारखानाको ब्यागमा ती सामग्री राखेर विद्यालयसम्म पुर्याउँछन् ।

व्यक्तिगतरुपमा पनि झन्डै २ हजारले आफ्ना सामग्री प्रयोग गरिरहेको गौतम बताउँछन् । कारखानाका किटहरु दराजलगायत अनलाइनमा उपलब्ध छन् ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई यस्ता सामग्री बनाएका छन् । साना नानीबाबुलाई विज्ञान र प्रविधिबारे बुझाउन कथाका किताब पनि उत्पादन गर्छन् । सानैदेखि कम्प्युटरको प्रोग्रामिङ, डिजाइन, रोबोटिक्स, इलेक्ट्रोनिक्स सिकाउने किताब निर्माण गरेका छन् । यी सामग्री शिक्षकलाई उपलब्ध गराउँछन् ।

कतिपय स्कुलमा इन्जिनियरङको कन्सेप्ट सिकाउन किटहरु बनाएका छन् । इनोभेसन ल्याब पनि स्थापना गरिदिन्छन् ।

शुरुमा कारखानाको किट प्रयोग गर्न एक विद्यार्थीलाई वर्षदिनमा ८ हजार ५ सय रुपैयाँ लाग्थ्यो भने अहिले अधिकतम ५ हजार ४ सय रुपैयाँ पर्ने गौतम बताउँछन् ।

अब ३४ सय रुपैयाँमा यी सामग्री उपलब्ध गराउने तयारी गरिरहेको उनी बताउँछन् । दायरा बढाउँदै जाने र मूल्य घटाउने प्रकृयामा अगाडि बढेको उनको भनाइ छ । यस्तो गर्न सकेमा ५-७ हजार विद्यालयमा पुग्ने उनको विश्वास छ ।
शुरुको वर्ष २५ लाखबाट शुरु भएको कम्पनीमा अहिलेसम्म १० करोड लागनी भएको गौतम बनाउँछन् । मेसिनहरु आफ्नै छन् । अहिले आफ्नै जग्गामा उद्योग स्थापन गर्दैछन् ।

उत्पादन गरेका सामग्री नेपालमा मात्र नभएर विदेशमा पनि जाने तयारी गरिरहेका छन् ।

‘कोरोना संक्रमणको नयाँ वेभ नआउने हो भने राम्रै गतिमा अगाडि जाने अवस्थामा पुगेका छौं,’ गौतम भन्छन्, ‘नेपालबाहिर पनि सामग्री पठाउने तयारीमा छौं ।’ केही स्याम्पलहरु बाहिर लगेर प्रयोग भइरहेका छन् ।

विद्यालयले कारखानाको सामग्री किन प्रयोग गर्ने ?

अहिलको शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न, समस्याको पहिचान गर्न, सोचको विकास, उद्यमशिताको विकास गर्न कारखाना जस्ता संस्था आवश्यक भएको गौतमको भनाइ छ ।

अबको दिनमा शिक्षा, अनुसन्धान र सामग्री प्रयोग गरेर सोचको उत्पादक, आइडियाको उत्पादन, समस्या समाधान गर्न विज्ञान र प्रविधिसँग जोड्नुपर्ने ।

यस्तो सोचलाई विद्यालयस्तरमा जोड्दा दुईतीनवटा कुरा आवश्यकत पर्ने उनको भनाइ छ ।

पहिलो, विद्यालयमा अनुसन्धान आवश्यक छ । तर शिक्षकले मात्रै गर्न सक्दैनन् । त्यसका लागि कारखानाले ‘एकेडेमिक रिसर्च’ गरिरहेको छ । यसबाट शिक्षकलाई सहयोग हुने गौतमको भनाइ छ ।

दोस्रो, अनुसन्धानले पहिल्याइएका विषयलाई कक्षा कोठासम्म लैजान सजिलो हुँदैन । कक्षा कोठाको सिकाइमा विज्ञान प्रविधि जोडिनु पर्छ । कक्षाकोठामा कसरी प्रस्तुत गर्ने जस्तो कि लेसन प्लान बनाउने, कसरी पठाउने, कस्तो तालिम दिने, कस्तो होमवर्क चाहिन्छ भन्ने स्पष्ट हुनुपर्छ । कारखानाले यही प्रकृयाको डिजाइन गर्छ ।

विज्ञानको प्रयोगात्मक गर्दा शिक्षक, विद्यार्थीले के के गर्ने, के के विषय त्यसबाट सिक्ने हो, कसरी गर्ने हो भन्ने जानकारी गराउने किताब पनि उनीहरुले प्रकाशन गर्छन् ।

यसरी शुरु यो कारखाना

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ पढाई सकाएपछि साथीहरुसँग मिलेर गौतमले सन् २०१० मा रोबटिक एसोशिएसन अफ नेपाल शुरु गरे । उनीहरु प्रविधि तथा विज्ञानका विषयमा तालिम, प्राजेक्टहरु बनाउने काम गरे । यन्त्र भन्ने रोबटिक्स पनि शुरु गरे ।

काम गर्दा थाहा पाए प्रविधि क्षेत्रमा नेपाल धेरैपछि रहेछ ।

‘यहाँ काम गर्न सकिँदैन, निकै सानो दायरा छ भन्ने लाग्यो,’ गौतमले सुनाए, ‘त्यो बेला म विदेश जाने, उतै पढ्ने र उतै काम गर्ने योजनामा थिएँ ।’

त्यही बेलामा एक साथीसँग भेट भयो । उ विश्वकै एक ठूलो विश्वविद्यालय पढेर ५ देखि ७ वर्ष काम गरेर नेपाल फर्किएको थियो । उता बस्ता वाक्क लागेर नेपाल फर्किएको कुरा सुनायो ।

यही कुराले गौतमको मन बदलियो र नेपालमै केही गर्ने निर्णयमा पुगे ।

सन् २०१२ मा अहिले महाविर पुनले गरेको जस्तै विभिन्न प्रोजेक्टमा काम गर्ने सोच बनाए ।

‘हामीले यसमा उद्यमशिलता विकास गर्न खोजिरहेका थियौं,’ गौतम भन्छन्, ‘सोचेजस्तो काम गर्न गाह्रो थियो ।’

उनीहरुले इसेवाको लागि भेन्डिङ मेसिन पनि बनाए । अन्य कम्पनीको लागि रिसर्च प्रोजेक्ट पनि गरे । नेपालमा इनोभेसनलाई चाहिने सामग्री बाहिरबाट ल्याउन सहज निकै गाह्रो थियो ।

त्यस्तै, विश्वविद्यालय र अनुसन्धानकर्ता बीचको सम्बन्ध पनि खासै छैन । अन्वेषण वा नवप्रवर्तनको काम गर्न विश्व विद्यालयको रिसर्चलाई जोड्ने पद्दतिको विकास भइसकेको छैन ।

अर्को समस्या छ, शिक्षा उत्तिर्ण गर्नका लागि मात्र भइरहेको छ ।

‘नेपालमा इनोभेसनको काम भइरहेको छैन भन्ने लाग्यो, त्यसो हो भने शिक्षणमा काम गरौं न भनेर सन् २०१२ मा कारखाना शुरु गर्यौं,’ गौतम भन्छन्, ‘त्यो बेला ६ जनाको हाम्रो टिम थियो ।’

शुरुमा इन्जिनियरिङ विद्यार्थीहरुलाई डिजाइन, प्रोजक्टहरुमा कसरी काम गर्ने भन्ने तालिम शुरु गरे । तर, त्यो काम सहज थिएन । सिक्ने प्रकृया नै निकै गाह्रो भयो ।

इन्जिनियरिङलाई छोडेर कक्षा ११ र १२ कक्षामा काम गर्न खोजे । ११ र १२ झनै गाह्रो भयो । पढाइ र सेसस सकिने समयकै निश्चित नहुने ।

कक्षा ९ र १० मा पनि पनि केही समस्या देखियो । एसएलसी दिने विद्यार्थी भनेर प्रयोगात्मक सिकाइको लागि विद्यालय र अभिभावक नै तयार भएनन् ।

त्यसभन्दा तलका विद्यार्थीलाई कसरी विज्ञान, प्रविधि, इन्जिनियरिङ, रोबटिक्स सिकाउने भन्ने लागिरहेको थियो ।

खासमा भन्ने हो भने कक्षा ५, ६, ७ र ८ कक्षा पढ्ने विद्यार्थीले सोचको विकास गजब हुन्छ । उनीहरुले छिटो सिक्छन् । तर, त्यो कुरा कसैले ध्यान दिइरहेका थिएनन् ।

‘यही कक्षा उमेरका विद्यार्थीमा अवसर देख्यौं,’ गौतमले भन्छन्, ‘यो उमेरका नानीबाबुहरुलाई विज्ञान, प्रविधिलाई केलाउने बानी पार्नु ठूलो कुरा थियो ।’

शुरुमा कक्षा ५, ६ र ७ कक्षाको पाठ्यक्रममा सिमित विद्यालयमा काम गरे । कारखानाको आफ्नै अफिसमा पनि शिक्षकलाई तालिम दिए ।

विस्तारै, विद्यालयको संख्या बढ्दै गयो । विज्ञान र प्रविधको काम शुरु गरेका उनीहरुले पछि गणित, रोबटिक्स, प्रोग्रामिङको विषय जोड्दै गए । अहिले कक्षा एकका विद्यार्थीलाई कथासमेत लेखिरहेका छन् । विस्तारै, कक्षा ९, १० र ११ का विद्यार्थीलाई इनोभेसन ल्याब पनि बनाउन थाले ।

भूकम्प र कोरानाले देखाएको बाटो

२०७१ चैत महिनासम्म ३-४ वटा विद्यालयमा काम गरिरहेका थिए । नयाँ वर्षमा धेरै विद्यालयमा काम गर्ने तयारी भइरहेको थियो ।

२० वटा विद्यालयतह भइसकेका थिए । ती विद्यालयको लागि सामान, जनशक्ति तयार गरिसकेका थिए ।

नयाँ वर्षको वैशाखमा भुकम्प गयो । सबै तयारी भुकम्पसँगै बेकार भयो ।

स्कुल पढ्ने विद्यार्थीहरु सुरक्षा खोज्दै चौर, मैदानमा पुगेका थिए । योजनाअनुसार काम नभएपछि सेल्टरमा पुगेका ती विद्यार्थी विज्ञान र कला सिकाउन थाले ।

‘सामग्री लिएर चौरमा पुग्थ्यौं, बच्चा जन्मा गथ्र्यौ’ गौतम भन्छन्, ‘विज्ञान र कलालगायतको विषयमा कक्षा सञ्चालन गथ्र्यौं ।’

एक डेढ महिना यस्तै गरे ।

उनीहरुले थाहा पाए तारन्तारको भूकम्पले विद्यार्थीहरु त्रसित छन् । स्कुल पुगेपछि पनि राम्रोसँग पढाइ शुरुवात गर्ने अवस्थामा थिएनन् । स्कुल गएको केही दिन उनीहरुलाई मानसिक रुपमा तयार गर्नुपर्छ भन्ने उनीहरुलाई लाग्यो ।

‘विद्यार्थीलाई मानसिकरुपमा तयार गर्ने कोर्ष डिजाइन गर्यौं,’ गौतम भन्छन्, ‘रामाइलो क्रियाकलाप गर्ने, मनको कुरा भन्ने, नयाँ आइडियामा काम गर्नेलगायता क्रियाकलाप त्यसमा थिए ।’

कारखाना र रातोबंगला स्कुल मिलेर सय जनाको ‘ट्रेनर’को समूह बन्यो । धादिङ, काभ्रेलगायतका जिल्लामा दुई महिनामा ६ हजार ६ सय शिक्षकलाई तालिम दिए ।

कारखानालाई शिक्षकको तालिम पहिलो अनुभव थियो । भूकम्पपछि भने उनीहरुले शिक्षकलाई तालिम दिन शुरु गरे । त्यसपछि कोडिङ, रोबटिको विषय थप्दै गए ।

कारखानाले अलिकति गति लिएपछि विदेशी लगानी पनि आयो । विजनेश अक्सिजन भन्ने कम्पनीले रुपमा ५ करोड लगानी गर्ने निश्चित गर्यो ।

नयाँ लगानी आउने भएपछि सन् २०१९ शुरुदेखि नयाँ योजना तयार गर्न थाले । पोखरा, विराटनगरमा शाखा विस्तार गर्ने तयारी भयो । बुटबल, हेटौंडा, चितवनमा पनि जाने तयारी गरिरहेका थिए । त्यसका लागि धेरै सामग्री किनिसकेका थिए ।

चैतमा एक ठूलो कार्यक्रम गर्ने भनेर माघदेखि नै तयारी गरिरहेका थिए । कारखानामा ६५ जनाको ठूलो टिम बनिसकेको थियो ।

तर, चैतमै कोरोना संक्रमण फैलियो । सबै ठप्प । कारखाना पनि चल्न सकेन ।

त्यसपछि भने सबै योजना भताबुंग भयो । कर्मचारी घट्दै गए । अहिले २२ जनाको टिम उनीहरुसँग छ ।

‘२०७७ को अन्तिमसम्म आउँदा धेरै कमजोर भइसकेका थियौं,’ गौतम भन्छन्, ‘धेरै साथीहरु घट्दै पनि जानुभयो ।’

लकडाउन लामो हुँदै गएपछि यसलाई अवसरको रुपमा प्रयोग गर्नेतिर लागे । अनलाइनबाट तालिम सञ्चालन गरे । लकडाउनको बेला १७ सय शिक्षकलाई गुगलसिट चलाउन सिकाएको उनी बताउँछन् ।

विद्यार्थीलाई अनलाइनबाट विज्ञान र प्रविधिको तालिम पनि लिए ।

उनीहरुलाई लाग्यो, ‘कारखनाका शिक्षक गएर पढाउनुभन्दा विद्यालयकै शिक्षकलाई सशक्तिकरण गर्ने हो दूरगामी हुन्छ ।’

कोरोना संक्रमणको डेढ दुई वर्ष अनुसन्धानको काममा बिताए । शिक्षकलाई चाहिने लेसन प्लान, सामग्री, तालिम, भिडियो उत्पादन यही बेला गरे । लकडाउनकै बेलामा पनि नयाँ प्रोडक्ट अनलाइनमा सार्वजनिक गरे ।

२०७८ मा आउँदा धेरै हिसाबले तयारी भए । उत्पादित सामग्री शिक्षकको घरघरमा पुर्याए । अनलाइनबाट ती सामग्री कसरी प्रयोग गर्ने भनेर तालिम दिए ।

‘त्यो विपतले धेरै काम गर्ने अवसर दियो,’ गौतम भन्छन, ‘चारदेखि पाँच वर्षमा गर्ने भनेर बनाएका योजना झन्डै डेढ वर्षको लकडाउन गरियो ।’


सन्तोष न्यौपाने