सक्रिय बीमालेखको संख्या १ करोड नाघ्यो, म्यादी जीवन बीमा हिस्सा ४१ %



काठमाडौं । जीवन बीमा कम्पनीहरुले जारी गर्दै आएका विभिन्न बीमा योजनामध्ये म्यादी जीवन बीमा योजना बढी जारी हुने गरेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुको अन्य बीमा योजनाको तुलनामा बीमितहरुको आकर्षण म्यादी जीवन बीमामा बढी देखिएको हो ।

थोरै बीमाशुल्क तिरेर पनि जोखिम बहन हुने भएपछि यस बीमा योजनामा आकर्षण बढेको जानकारहरु बताउँछन् ।

बीमा समितिको तथ्यांकअनुसार चालु आवको पुससान्तसम्ममा सक्रिय बीमालेखको संख्या एक करोड १० लाख ४१ हजार ८८ छ । जसमध्ये ४५ लाख ८८ हजार २८६ वटा बीमालेख म्यादी जीवन बीमाका छन् । यो कुल जारी बीमालेखको ४१.५६ प्रतिशत हो ।

जानकारहरुका अनुसार लामो अवधिका लागि गरिने सावधिक बीमा योजनाको तुलनामा म्यादी जीवन बीमाको शुल्क कम हुन्छ ।

लघुवित्तबाट ऋण लिनेहरुको म्यादी बीमा हुने हँुदा म्यादी जीवन बीमालेखको संख्या बढी देखिएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको भनाइ छ ।

‘लघुवित्तबाट जति पनि सदस्यहरुले ऋण लिन्छन् उनीहरु सबैको म्यादी बीमा हुन्छ, त्यसैले यो संख्या बढेको हो,’ जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले भने ।

उनका अनुसार माइक्रो फाइनान्सबाट ऋण लिनेको संख्या हजारौँ हुन्छन् । उनीहरुको बीमा पनि जोडिएको हुन्छ ।

त्यसबाहेक व्यक्तिगत रुपमा गरिने म्यादी जीवन बीमा भने कम संख्यामै जारी हुन्छन् ।

गाउँ–गाउँमा साना पसल गर्नेहरुका लागि, न्यून आय भएकाहरुका लागि यस्तो खालको बीमा योजनाले फाइदा पुग्ने उनको भनाइ छ ।

व्यक्ति आफै आकर्षिक भएर बीमा गरिहाल्ने अवस्था अहिले पनि नेपालमा नदेखिएको महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बताउँछन् ।

म्यादी जीवन बीमामा पनि बीमित आफैं आकर्षित भएर भन्दा पनि लघुवित्तबाट ऋण लिँदा बीमा जोडिएको हुँदा संख्या धेरै देखिएको उनको बुझाइ छ ।

लघुवित्त र सहकारीहरुले आफ्ना ऋणीहरुको र सदस्यहरुको बीमा गरिदिने भएका कारणले म्यादी जीवन बीमालेखको संख्या धेरै देखिएको उनको भनाइ छ ।

सहकारीले ऋणीहरु र सदस्यहरुको पनि बीमा गरिदिने भएका कारणले सो संख्या बढी देखिएको उनले बताए ।

‘सहकारीहरुले सदस्यहरु र ऋणीहरु दुबैको ऋणको सुरक्षाको लागि बीमा गरिदिन्छन् । र, सेयरधनीहरुलाई सुविधाको हिसाबले पनि बीमा गरिदिन्छन्,’ उनले भने, ‘लघुवित्तमा पनि बिनाधितो ऋण दिने गरिन्छ । त्यो लोनको सुरक्षाका लागि पनि लघुवित्तहरुले म्यादी बीमा गर्ने गर्छन् ।’

यी दुई कारणले गर्दा म्यादी बीमालेख अत्यधिक संख्यामा जारी भएको उनको दाबी छ ।

सहकारी र लघुविक्तहरुले ऋणी र सदस्यहरुको बीमा गरिदिँदा क्रमशः मानिसहरुमा म्यादी बीमाप्रतिको आकर्षण बढ्दै जाने उनको बुझाइ छ ।

उनले म्यादी बीमा छोटो अवधिका लागि मात्रै हुने जानकारी दिए । उनका अनुसार म्यादी बीमाको अवधि सामान्यतया एकदेखि २ वर्ष अवधिको हुन्छ ।

तर, ऋणको अवधि जति समयसम्मका लागि हुन्छ त्यति नै अवधिका लागि म्यादी बीमाको अवधि हुने उनको भनाइ छ ।

उनका अनुसार लघुवित्तले आफ्नो सदस्यलाई सुविधाको र ऋणको सुरक्षणका लागि म्यादी बीमा गरिदिने हुनाले म्यादी बीमाको संख्या बढी देखिएको हो ।

१९ प्रतिशत सावधिक जीवन बीमा योजना
म्यादी जीवन बीमा योजना पछि बीमितको आकर्षण सावधिक जीवन बीमा योजनामा देखिएको छ । बीमा समितिका अनुसार पुस मसान्तसम्मको अवधिमा १९ जीवन बीमा कम्पनीहरुमा २१ लाख ७२ हजार ७३७ वटा सावधिक जीवन बीमा योजनाका बीमालेख जारी भएका छन् । कुल बीमालेखमा सावधिक जीवन बीमालेखको हिस्सा १९.६८ प्रतिशत हुन आउँछ ।

११ प्रतिशत लघु बीमालेख जारी
कुल जीवन बीमालेखमा लघु जीवन बीमा योजनाको हिस्सा ११.०४ प्रतिशत छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुमा १२ लाख १९ हजार १२५ वटा लघु जीवन बीमालेख जारी भएका छन् ।

बीमालेखमध्ये ०.३० प्रतिशत मात्रै एकल बीमाशुल्क जीवन बीमा
समितिले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा एकल बीमाशुल्क जीवन बीमा अन्र्तगत भने ३२ हजार ६२७ वटा मात्रै बीमालेख जारी भएका छन् । जनु कुल बीमालेखको ०.३० प्रतिशत मात्रै हुन आउँछ ।

कुल जीवन बीमालेखमा वैदेशिक रोजगारी म्यादी बीमालेखको हिस्सा ८.२४ प्रतिशत छ । समितिका अनुसार यस अवधिसम्ममा ९ लाख ९ हजार ९०९ वटा वैदेशिक रोजगारी म्यादी बीमालेख जारी भएका छन् ।

तथ्यांकअनुसार यस अवधिमा ९ लाख ९ हजार ९०९ वटा वैदेशिक रोजगारी म्यादी बीमालेख जारी भएका छन् ।

यस्तै, कुल जीवन बीमालेखमा बाल बच्चा सम्बन्धी सावधिक जीवन बीमा योजनाको हिस्सा ७.६९ प्रतिशत, रुपान्तरित सावधिक जीवन बीमा योजनाको हिस्सा ७.०१ प्रतिशत, अग्रीम भुक्तानी सावधिक जीवन बीमा योजनाको हिस्सा ३.७९ प्रतिशत, आजीवन बीमा योजनाको हिस्सा ०.७० प्रतिशत र एकल बीमाशुल्क जीवन बीमा योजनाको हिस्सा ०.३० प्रतिशत छ ।

बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख अन्र्तगत ८ लाख ४९ हजार ३०८ वटा बीमालेख जारी भएका छन् । कम्पनीहरुमा ७ लाख ७४ हजार १५४ वटा बीमालेख रुपान्तरित बीमालेख जारी भएका छन् । अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत ४ लाख १८ हजार ६६ वटा बीमालेख जारी भएका छन् ।

६६ प्रतिशत बीमालेख बाग्मती प्रदेशमा
समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै बीमालेख बाग्मती प्रदेशमा जारी भएका छन् । जुन कुल बीमालेखको ६६.७० प्रतिशत हुन आउँछ । बाग्मती प्रदेशमा कुल ७३ लाख ६४ हजार ४९२ बीमालेख जारी भएका छन् ।

समितिका अनुसार कर्णाली प्रदेशमा जीवन बीमाको पहुँच न्यून छ । कर्णाली प्रदेशमा कुल २ लाख १२१ हजार ६५८ वटा बीमालेख जारी भएका छन् । प्रदेश एकमा ११ लाख ८ हजार ४०२ वटा बीमालेख जारी भएका छन् । जारी बीमालेखको १०.०४ प्रतिशत हो ।

यस्तै, लुम्बिनी प्रदेशमा ८ लाख ६० हजार ८१२ वटा बीमालेख जारी भएका छन् । जारी बीमालेखको ७.८० प्रतिशत हुन आउँछ । मधेश प्रदेशमा ५ लाख २४ हजार २४१, गण्डकी प्रदेशमा ४ लाख ९८ हजार ४८८, सुदुरपश्चिम प्रदेशमा ४ लाख ७१ हजार ९९४ बीमालेख जारी भएका छन् ।


क्लिकमान्डु