जनकपुर साहित्य महोत्सवको फराकिलो दायरा, मुलुकभर फैलाउँदै ‘मिथिला पर्यटन’



काठमाडौं । पछिल्लो केही दिनदेखि जनकपुरका एक दर्जनभन्दा धेरै युवाहरू निकै व्यस्त छन् । फागुन १९, २० र २१ उनीहरूका लागि खास दिन हुन् ।

यी युवालाईमात्र होइन, वर्ष दिनमा आउने जनकपुर साहित्य महोत्सव जनकपुरवासीलाई नै विशेष छन् ।

महोत्सवलाई सम्झनालायक बनाउन जोडतोडले लागिपरेका छन् युवाहरू । जनकपुर उद्योग वाणिज्य संघले सम्पर्क कार्यालय उपलब्ध गराएको छ । त्यही जम्मा हुन्छन् । छलफल गर्छन् र आफ्नो काममा लाग्छन् ।

अमित शाह ‘लजिस्टिक’ हेरिरहेका छन् । होटेल व्यवस्थापन, टेन्ट, क्याटरिङ, पाहुनाको खानपिन, साउन्ड सिस्टमदेखि लाइटसम्मको काम अमितले गरिरहेका छन् ।

अमित जनकपुर नगरपालिकाको वडा नम्बर २ को जनप्रतिनिधि पनि हुन् । उनी २२ वर्षकै उमेरमा निर्वाचित हुने कान्छो जनप्रतिनिधिका रूपमा चर्चित छन् ।

आदित्य नेपालले मिडिया संयोजनको काम गरिरहेका छन् । राकेश विक्रम शाहले जनकपुरको स्थानीय युवा परिचालनको जिम्मा पाएका छन् । घनश्याम मिश्रले जनकपुरको साहित्यकार, राजनीतिज्ञ र पत्रकारको नाम तयार गर्दैछन् । उनी आफै पनि पत्रकार हुन् ।

आशीष मल्लिक स्थानीय युवालाई जनकपुर साहित्य महोत्सवमा कसरी सक्रिय बनाउन सकिन्छ भनेर छलफलमा जुटेका छन् ।

उनीहरु जस्तै अन्य युवाहरु पाहुनाका लागि जनकपुर चिनाउने व्याज बनाउन लागिरहेका छन् । गम्छा प्रिन्ट भइरहेका छन् । डायरी बनिरहेका छन् । कलाकारले आफ्नो कला प्रस्तुतिको तयारी गरिरहेका छन् ।

यही फागुन १९, २० र २१ गते जानकी मन्दिर प्रांगणमा जनकपुर साहित्य सम्मेलन हुँदैछ । महोत्सवको आयोजक हो ‘नभ मिथिला फाउण्डेसन’ ।

अमित शाह

महोत्सवका लागि विभिन्न ठाउँबाट साहित्यकार, कलाकार, राजनीतिज्ञ, समाजसेवीसहितका झन्डै १२५ पाहुना जनकपुर पुग्दै छन् । महोत्सवमा भारतबाट पनि सहभागिता हुँदै छ । यसबाहेक स्थानीयको ठूलो सहभागिता पनि रहनेछ ।

यो सबै व्यवस्थापनमा जुटेका छन् जनकपुरका यी युवाहरू । साहित्य महोत्सवमा सहभागी हुन स्थानीयदेखि टाढाका युवाहरू स्वयंसेविकाको काम गर्न लालायित छन् ।

केही दिनअघि स्वयंसेवकको काम गर्न इच्छुकलाई भनेर फेसबुक पेजमा आवेदन खुला गरेका थिए । उत्साह कतिसम्म रहेछ भने २२५ जना युवाले स्वस्फुर्तरुपमा उक्त फर्म भरे ।

‘हामीले सबैलाई लिन त सक्दैनौँ,’ अमित भन्छन्, ‘त्यहाँबाट छनोट गरेर ७० जना लिन्छौँ ।’

अहिले पनि ३५ जनाले स्वयंसेवकको रूपमा काम गरिरहेका छन् । महोत्सवका लागि युवाहरू निकै उत्साहित भएको अमित बताउँछन् ।

महोत्सवको तयारी अन्तिम अवस्थामा छ । बाहिरबाट आएका पाहुनालाई राख्न जानकी मन्दिर छेउकै गायत्री कुञ्ज होटेल ४ दिनका लागि बुकिङ भइसकेको छ ।

तीन दिनसम्म कहाँ-कहाँ घुमाउने र के के खुवाउने तयारी भइसकेको छ । पाहुनालाई ‘मिथिलामय’ बनाउन तयारी आयोजकको छ ।

पाहुनाहरूलाई धनुषा धाम देखाइने छ । जुन ठाउँमा भगवान् रामले धनुष चोर्दा एक टुक्रा खसेको भन्ने भनाइ पनि छ । त्यस्तै, जनकपुरको सबैभन्दा ठूलो भनेर चिनिएको नोचा पोखरी, मुनी बाबाको मन्दिर, विवाह मण्डप पनि घुमाइने छ । जानकी मन्दिर प्रांगणमा त महोत्सव नै हुनेछ ।

मनिष झा

जनकपुरको आफ्नै मिथिला खाना छ । महोत्सवका आउने पाहुनाले तीन दिनसम्म स्थानीय खानाको स्वाद लिनेछन् ।

उद्घाटनको दिन जनकपुरको २६ प्रकारका मिथिला खाना खुवाउने तयारी भइरहेको अमितले बताए । चामलको पुरी, तरुवा, तिरौली, अद्यौरी, जेरी, चामलको पिठोको पुरी, गुलाबजामुन, दहीलगायतका खाना हुनेछ ।

मलानको पातमा भुईंमा पलेंटी कसेर खादा जनकपुरको बसाइ छुट्टै अनुभव हुनेछ । माटोको गिलास प्रयोग गरिने छ ।

फागुनका महिना जनकपुरका लागि सबैभन्दा उपयुक्त समय हो । न जाडो, न गर्मी । यही बेला मुलुकभरबाट त्यहाँ पुगेका पाहुनाले स्थानीय बजारलाई उत्साह थप्ने छन् ।

तीन दिनको महोत्सवमा नवरंग प्याक हुनेछ । जनकपुर पुगेको मान्छे रवरंगाका माछा नखाई फर्किने कुरै भएन । छेवैको लस्सीमा पनि भीड लाग्नेछ ।

ठेलाको चप र कचरी खान मुख रसाउँदै मुलुकभरका व्यक्ति लामा लाग्नेछन् । जानकी मन्दिर वरिपरिको चिया पसलमा सयौँ कप चियाको चुस्किसँगै मुलकभरका विषयमा गफ चल्ने छन् ।

तीन दिनको कार्यक्रममा १२ वटा सेसन हुनेछन् । सेसनको लागि समसामयिक विषयहरू छनोट  गरिएको छ ।

महोत्सवलाई रोचक र विविध बनाउने प्रयास गरिएको छ । छलफलका लागि ‘माई जनकपुर’ देखि तिम्रो लोकतन्त्र, मेरो लोकतन्त्र, साहित्य र राजनीति, आउँदो पुस्ता राजनीति, कला, संस्कृति जस्ता सेसनमा छलफल हुँदैछन् ।

पहिलो दिनको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघमा हुनेछ । पहिलो जनकपुर उद्योग वाणिज्य संघका प्रागणमा विद्यार्थीहरूले ‘माई जनकपुर’ शीर्षकमा विद्यार्थीहरूले भाषण गर्नेछन् । भाषा अनेक हुनेछन् तर विद्यार्थीलाई बाहिरबाट आएका पाहुना र मुलुकलाई उनीहरू बुझेको जनकपुरबारे ‘स्पिच’ दिनेछन् ।

विद्यार्थी छनोटका लागि प्याप्सनको सहयोगमा अहिले अन्तर विद्यालय प्रतियोगिता भइरहेको छ । यसबाट छनोट भएका पाँच विद्यार्थी मन्चमा उक्लिएर जनकपुरबारे बोल्नेछन् ।

महोत्सवको अन्तिम दिन जनकपुरमाथि कथा, कविता वाचन हुनेछ । कथा, कविता वाचन गर्नेहरूको छनोट भइरहेको छ । उक्त वाचनको लागि एक सय जनाले नाम लेखाएका छन् । त्यसबाट २० देखि २५ जना छनोट हुनेछन् ।

यसपालिको महोत्सवमा गगन थापा, कुटुम्ब ब्यान्ड, दयाहाङ राई, खगेन्द्र संग्रौला, सिके लाल, विनोद चौधरी, मनीषा कोइरालालगायतले सेसनमा भाग लिनेछन् ।

यता, काठमाडौंमा बसेर आयोजकको तर्फबाट अन्य तयारी गरिरहेका छन् मनिष झा र प्रियंका झा ।

काठमाडौंबाट महोत्सवको स्रोत जुटाउने काम गरिरहेका छन् । वक्तासँग समन्वय गर्ने, मिडियामा प्रचार गर्ने काम गरिरहेका छन् । यो महोत्वसलाई कम्तीमा ३६ लाख खर्च लाग्ने अनुमान उनीहरूको छ ।

यसको लागि नबिल बैंक, डिसहोम, बजाज, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमइ, माई स्कुल टिचर, फ्याक्ट नेपालले सहयोग गर्ने भएका छन्।

यसपालिदेखि ‘जनकपुर साहित्य महोत्सव, जनकपुर संवाद’ भन्ने शीर्षक राखिएको छ । जनकपुर साहित्य महोत्सवलाई बिस्तारै ‘जनपुर संवाद’मा बदल्ने सोचमा रहेको मनिष बताउँछन् ।

साहित्य महोत्सवले साहित्यमात्र हो कि भन्ने देखाउने भएकाले अझ व्यापक बनाउन ‘जनपुर संवाद’ बनाउन खोजिएको मनिषको भनाइ छ ।

तीन दिनको सम्पूर्ण सेसन ग्यालेक्सी टेलिभिजनले लाइभ प्रसारण गर्नेछ । महोत्सवमा सहभागी पाहुनामध्ये ५० प्रतिशत महिना हुने प्रियंकाले बताइन् ।

पहिलो महोत्सवमा महिला सहभागिता २० प्रतिशत थियो भने दोस्रोमा ३८ प्रतिशत भयो । अहिले महिलाको सहभागिता ५० प्रतिशत पुग्ने आयोजकको भनाइ छ ।

सन् २०१९ मा पहिलो भएको जनकपुर साहित्य महोत्सव २०२१ हुँदै यो तेस्रो संस्करण हो । तेस्रो संस्करणसम्म आउँदा सबैभन्दा ठूलो उपलब्धी जनकपुरवासीले महोत्सवलाई अपनत्व अनुभव गरिसकेका छन् ।

जनकपुरबाहिर पनि जनकपुर साहित्य महोत्सव हुन्छ भन्ने भइसकेको छ । यसलाई पूर्णरुपमा स्थापित गराउन केहीवर्ष लाग्ने मनिषको भनाइ छ ।

आयोजकले महोत्सवको उद्देश्य साहित्य मेलामा मात्र सीमित गर्न चाहेको छैन । महोत्सव एक माध्यममात्र बनोस् र यसले थुप्रै आयाममा जनकपुरलाई लाभ मिलोस् भन्ने उनीहरुको भनाइ छ ।

यसैको माध्यमबाट जनकपुर काठमाडौं र अन्य सहरसँग जोडिदै जानेछ ।

‘महोत्सवमा सहभागीहरुलाई मुलुकभरीबाट आमन्त्रणा गरेका छौं,’ प्रियंका भन्छिन्, ‘उहाँहरुले जनकपुर चिन्नुहुनेछ र जनकपुरले उहाँहरूलाई ।’


सन् २०२० देखि यस महोत्सवमा सक्रियताका साथ लागिरहेकी छन् प्रियंका । उनी जनकपुर जन्मिन् र हुर्किन् । अहिले त्यहाँको धेरै विषय ‘मिस’ गर्छिन् उनी ।

काठमाडौं बसिरहँदा उनको मनमा सँधै खेलिरहन्छ, ‘कला साहित्य, पर्यटकीय क्षेत्रको धनी जनकपुर मुलुकका अन्य सहरसँग किन जोडिन सकेन ?’

जनकपुरका युवाले यो प्रश्नलाई गम्भीर लिएर लाग्नुपर्ने उनको विचार छ ।

एउटा समाज वा समुदाय सधैँ एकैनासले हिँडिरयो भने त्यहाँ परिवर्तन र विकास सुस्त हुन्छ । मान्छेहरुले एकैनासले सोचिरहन्छन् । त्यो समुदायको संसार सानो आकाशमा सीमित हुन्छ ।

आकास धेरै फराकिलो र धेरै परसम्म छ । विभिन्न ठाउँका मान्छेका विचार पनि आकासजस्तै फराकिला र परपरसम्म फैलिएका छन् । अर्को ठाउँको विचार जनकपुरमा गएर पोखिदा मान्छेको सोच-विचार फरकिलो बन्न सक्छ । महोत्सवको उदेश्य पनि यही हो ।

‘नेपालको विभिन्न ठाउँका मान्छे विभिन्न विचार बोकेर त्यहाँ पुग्छन्,’ प्रियंका भन्छिन्, ‘जनकपुरले बाहिरको विचार र बाहिरकाले जनकपुरको विचार थाहा पाउनेछन् । यसले दुवै पक्षलाई फाइदा हुन्छ ।’

जनकपुर मिथिला सस्कृतिको राजधानी हो । कला, साहित्यमा धनी भए पनि त्यसलाई पर्यटनसँग जोड्न सकिएको छैन । महोत्सवमा पुग्ने हरेक व्यक्तिले जनकपुरको कला, साहित्य, सस्कृति, मिथिला परम्परा देख्नेछन् ।

ती व्यक्तिलाई अर्कोपाली परिवारसहित घुम्न जाने वातावरण बनाउनु पनि महोत्सवको उद्देश्य हो भन्छिन् प्रियंका ।

‘तीन चार दिन बस्दा पाहुनाहरु विभिन्न दृष्यको अवलोकन गर्नेछन्, उनीहरुले अरुलाई सिफारिस गर्नेछन्,’ प्रियंका भन्छिन्, ‘अप्रत्यक्ष रुपमा यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नेछ ।’

साहित्य सम्मेलन भनेको जनकपुरलाईमात्र होइन मुलुकका हरेक ठाउँमा आवश्यक छ । जसले साहित्यसँगै त्यहाँको जीवन पनि चिनाउँछ ।

‘महोत्सवलाई पूर्णरुपमा मैथलीमय बनाउन चाहन्छौं,’ उनी भन्छिन् ।

एक ‘ल्याण्डमार्क इभेन्ट’को रुपमा स्थापित गराउन चाहन्छन् मनिष र प्रियंकाको टीम । जुन अगामी केही वर्षमै नयाँ पुस्ताले आफै गरोस् ।

‘जनकपुरवासीले यो महोत्सवलाई पर्खेर बस्ने बनाउनु पर्छ,’ प्रियंका भन्छिन्, ‘यसमा हामीमात्र नयाँ युवाले लिड गर्नुपर्छ ।’

यसरी शुरु भयो महोत्सव
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण’ घोषणा गरेको थियो । प्रदेश २ को भ्रमण वर्षको संयोजनको भूमिकामा थिए मनिष झा ।

भ्रमण वर्षका लागि के-के कार्यक्रम गर्न सकिन्छ भनेर मनिषले योजना बनाइरहेका थिए । यही मौकामा साहित्य सम्मेलन पनि गर्न सकिन्छ भन्ने उनलाई लाग्यो ।

सन् २०१९ मा पहिलो जनकपुर सहित्य सम्मेलन गरे ।

‘यो उपयुक्त समय हो भन्ने मलाई लागेको थियो,’ मनिष भन्छन्, ‘त्यो बेला मसँग स्रोत, अधिकार थियो ।’

त्यो बेला काठामडौं, पोखरामा पनि ‘नेपाल लिट्रेचर फेस्टिभल’ भइरहका थिए । भारतमा ‘जयपुर लिट्रचर फेस्टिभल’ त हंगामा मच्चाइरहेको थियो । ४ लाख सहभागी हुने जयपुर साहित्य सम्मेलनले जयपुर सहरलाई नै विशेष किसिमले चिनाइरहेको थियो ।

‘जयपुरलाई साहित्य सम्मेलनले जसरी चिनाएको छ, जनकपुरलाई पनि यसैगरी चिनाउन सकिन्छ भन्ने हाम्रो विचार हो,’ मनिष भन्छन् ।

अर्को महत्वपूर्ण पक्ष भनेको जनपुरका एतिहासिक महत्वलाई चिनाउनु थियो ।

महोत्सवको गर्नुको पछाडिका विभिन्न आयामको बारेमा कुरा गर्दै गर्दा मनिषले एक प्रसंग सुनाए ।

पहिलो संस्करण सन् २०१९ को तयारी गर्दै गर्दा पटन मन्त्रालयमा केन्द्रमा सत्यमोहन जोशीसहितको एक बहस कार्यक्रम थियो । मनिष भने पहिलेदेखि जोशीलाई जनकपुर साहित्य महोत्सवमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने सोचिरहेका थिए ।

जोशीलाई जनकपुर साहित्य सम्मेलनको निम्तो दिन मनिष त्यही कार्यक्रममा गए ।

‘जनकपुर साहित्य महोत्सवमा हजुर सहभागी भइदिनुपर्यो,’ मनिषले जोशीलाई अनुरोध गरे ।

जोशीले जनकपुरवासीसँग गुनासो गरे ।

‘लुम्बिनी क्षेत्रको जनताहरुले बुद्धलाई चिने र भगवान बनाइ दिए,’ जोशीले भने, ‘तिमीहरुले याज्ञवक्ल्यलाई चिन्न सकेका छैनौं । नत्र उनी ज्ञानको रुपमा बुद्धभन्दा धेरै माथि हुन् ।’

सत्यमोहन जोशीजस्ता व्यक्ति काठमाडौंबाट जनकपुर पुगेर याज्ञवक्ल्य र गाग्रीको बारेमा मन्थन गरिदिने हो भने नयाँ पुस्ताको लागि धेरै राम्रो हुने मनिषको विचार छ ।

प्राचीन मिथिला क्षेत्र कला, साहित्य, बौद्धिक, राजनैतिक क्रियाकलापको प्रसिद्ध ठाउँ हो । राजा जनकको दरबार विचार मन्थन हुने ठाउँ थियो ।

जनकपुर यस्ता ठाउँ हो, जहाँ राजा जनकको दरबारमा ऋषिमुनी, विद्धानहरु जमघट हुन्थ्यो र शास्त्रार्थ भइरहन्थ्यो । यो ठाउँ गार्गी, याज्ञवल्क्यको वादविवाद, अष्टावक्रमुनीको ब्रम्हज्ञान, मोक्ष र वैराग्यबारे धेरै चर्चित छ ।

विवाहपञ्जमीमा जनकपुरमा ठूलो मेला लाग्छ । जनकपुरमा आज पनि त्रेता युगका राम र सीताको विवाहलाई उत्सवका रुपमा मनाइन्छ ।

यस्तो अनेक ऐतिहासिक महत्वले भरिपूर्ण छ जनकपुर, जसलाई आजको सन्दर्भमा ‘कनेक्ट’ गर्नुपर्ने छ । नयाँ पुस्ताले बिर्सिएको मिथिला संस्कृतिलाई कसरी पुर्नजन्म दिन यस्ता महोत्सवले सहयोग पुर्याउने मनिषको भनाइ छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको जनकपुरका ‘आधुनिक’ इमजेलाई बदल्नु पनि हो । अझै पनि कतिपय ठाउँमा जनकपुर भनेपछि भिडभाड, साँघुरो र फोहोर सहर भने बुझ्छन् । जनकपुरको त्यो चिनारी पुरानो भइसकेको छ ।

‘जनकपुर अन्य सहरभन्दा खुला, सफा र हरियाली छ,’ मनिष भन्छन्, ‘यो कुरा सबैलाई देखाउनु छ हामीले ।’

पहिलो महोत्सव आइएमई नेपाल लिट्रेचर फेस्टिभल, जनकपुर संस्करण भन्ने थियो । बुकवार्म फाउन्डेसनसँग मिलेर पहिलो साहित्य मेला गरेका थिए ।

त्यसबाट अनुभव लिएर नयाँ संस्करण गर्न सजिलो भएको मनिषको भनाइ छ । दोस्रो संस्करणबाट नव मिथिला फाउन्डेसनले गर्न थाल्यो ।

जनकपुरवासी उत्साहित
गत वर्षको महोत्सवमा एक पान पसलले देखाएको उत्साहल अझै सम्झन्छिन् प्रियंका । एक सानो पान पसलेले आयोजकलाई भने, ‘मैले यो महोत्सवको लागि के सहयोग गर्न सक्छु ।’

उनको भित्री मनबाट बुझ्न सकिन्थ्यो, जनकपुर साहित्य महोत्सव आफ्नै हो । आफैले सफल पार्नुपर्छ । जनकपुरवासीले यो महोत्सवलाई अपनत्व महसुस गरिरहेका छन् ।

तीनवटा संस्करणमै जनकपुर साहित्य महोत्सव स्थानीय आफ्नो हो भन्ने महशुस गरिरहेका छन् ।

फेसबुका पोष्टका आधार २२५ युवाले स्वयंसेवकको लागि फर्म भरेका छन् । उनीहरु जकपुरबाट मात्र छैनन् । जलेश्वरदेखि सिन्धुलीसम्मका युवाले स्वयंसेवकका इच्छा देखाइरहेका छन् । उनीहरु जनकपुर आउँदै छन् ।

गत वर्षको एक घटना ताजै छ मनिषको मनमा ।

गत वर्ष बर्दिवासका धिरज पौडेल र सिन्धुलीको मुकेश घिमिरेले मनिषलाई फोन गरे र भने, ‘महोत्सवको व्यानरको डिजिटल कपी पठाइदिनुस्, त्यसलाई प्रिन्ट गरेर जाऊ जनकपुर भनेर गाडीमा राख्छौं ।’

महोत्सव जनकपुरमा मात्र सीमित छैन । यो छिमेकी जिल्ला हुँदै मुलुकभर फैलिदै गएको छ ।


सन्तोष न्यौपाने