क्युआर कोडले व्यापक बनाउँदै छ डिजिटल भुक्तानी, बैंकले ऋण पनि दिनसक्ने
काठमाडौं । नेपालमा क्युआर कोडबाट बिल भुक्तानी हुन लागेको धेरै भएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि १८ महिनादेखि क्युआर कोड भुक्तानीको विवरण उल्लेख छ ।
भुक्तानी सेवा प्रदायक (पीएसओ) फोन पेले मुलुकमा क्युआर कोडको व्यवसायीक प्रयोग गरेको दुई वर्षमात्रै भएको छ ।
यही छोटो अवधिमा क्युआर कोड भुक्तानी अति सानो कारोबारसम्म पुगेको छ । पान पसल, सानो मम पसल, चिया पसल, तरकारी बजार होस् या भृकुटिमण्डपमा कपडा पसल हरेक ठाउँमा क्युआर कोड स्ट्याण्डी देख्न सकिन्छ ।
दस/बीस रुपैयाँ भुक्तानी गर्न परे पनि पसलेहरुले क्युआर कोड स्ट्याण्डी देखाइदिन्छन् । न त पैसा फिर्ता गर्नु पर्ने झन्झट, न त पैसा कारोबारको जेखिम ।
वस्तु क्रेता र बिक्रेता दुबैलाई क्युआर कोडले सहज बनाएको छ । यही सुविधा र सरल भुक्तानीका कारण क्युआर कोडको प्रयोग पछिल्लो केही महिनादेखि व्यापक भएको छ ।
दुई वर्षको अवधिमा डिजिटल भुक्तानीको लागि क्युआर कोडको प्रयोग व्यापक भएको फोन पेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांकलाई हेर्ने हो भने पनि १८ महिनाको अवधिमा उल्लेख्य रुपमा क्युआर कोड भुक्तानी वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा क्युआर कोडबाट १ लाख ९५ हजार १६ वटा ट्रान्जेक्सन भएका थिए । १८ औं महिना अर्थात चालु आर्थिक वर्षको पुस महिनामा यस्तो कारोबार संख्या १९ लाख १८ हजार ५ सय २६ पुगेको छ ।
यस अवधिमा क्युआर कोडबाट हुने कारोबारमा ८८३.७७ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कारोबार रकममा पनि राम्रो प्रगति भएको छ । गत वर्षको साउन महिनामा क्युआर कोडबाट ५८ करोड ९० लाखको भुक्तानी भएको चालु आर्थिक वर्षको पुस महिनामा गत वर्ष क्युआर कोड प्रयोगमा उल्लेख्य वृद्धि भएको छ ।
वर्षको पहिलो महिना साउनमा १ लाख ९५ हजार १६ वटा क्युआर कोडको कारोबार संख्या रहेकोमा वर्षको अन्त्य असारमा ८ लाख ५५ हजार ५ सय ६६ संख्या पुगेको थियो । उक्त वर्ष क्युआर कोड प्रयोग ३३८.७१ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थि कर्षको ६ महिनामा ४८.३३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा क्युआर कोडको कारोबार संख्या १२ लाख ९३ हजार ३ सय ४९ रहेको । यो संख्या ६ महिनामा १९ लाख १८ हजार ५ सय २६ पुगेको छ ।
नेपालमा क्युआर कोडबाट भुक्तानीको शुरुवात फोन पेले गरेको हो । पिएसओको अनुमतिपत्र लिएको फोन पेले बैंक तथा वित्तीय संस्था र मोबाइल वालेटलाई क्युआर कोड प्रयोगको नेटवर्क जोड्ने काम गर्छ । यसको नेटवर्कमा अहिलेसम्म ६१ वटा त्यस्तो संस्था जोडिएको सापकोटाले बताए ।
१४ लाख ग्राहकले मोबाइल बैंकिङ र वालेटमार्फत प्रयोग गर्न सक्छन् । अहिलेसम्म फोन पेको नेटवर्कबाट २ लाख १० हजार क्युआर स्ट्यान्डी वितरण भइसकेको छ । त्यसबाहेक पनि बैंक तथा वित्तीय संस्था र वालेट आफैले पनि बनाएर वितरण गरेका छन् ।
बजारको औषत अवस्था हेर्ने हो भने २० देखि २५ प्रतिशत एक्टिभ स्ट्यान्डी छन् । फोन पेबाट वितरण भएकामध्ये ३० देखि ४० प्रतिशत स्टान्डीमा कारोबार भएको सापकोटाले बताए ।
‘यो भनेको औषत मार्केट रेन्जभन्दा राम्रो हो,’ उनले भने ।
स्ट्यान्डीबाहेक भाटभटेनी, बिग मार्केट जस्ता सुपरमार्केटले अन्य माध्यमबाट पनि क्युआर कोडको प्रयोग हुन्छ । यस्ता संस्थामा सिस्टम इन्टिग्रेसन भएको हुन्छ । मर्चेन्ट विजनेस एपबाट पनि क्युआर कोड प्रयोग गर्न सकिन्छ ।
‘क्युआर कोड प्रयोगको लागि दुई तीनवटा विकल्प छन्,’ सापकोटाले भने, ‘त्यसमध्ये स्ट्याण्डीको प्रयोग धेरै छ ।’
क्युआर कोडबाट हुने भुक्तानीका लागि भने नेपाल राष्ट्र बैंकले दिनमा २ लाखसम्मको सीमा तोकिदिएको छ । तर, मर्चेन्टहरुको लागि भने यो लागू हुँदैन । अस्पताल, सरकारको राजश्व बुझाउँदा, बीमाको शुल्क भुक्तानी गर्दा उक्त सीमा लाग्दैन भन्ने नियम राष्ट्र बैंकले तोकेको छ ।
नेपालमा विभिन्न माध्यमबाट विद्युतीय भुक्तानी भएका छन् । पहिलो त एटीएमबाट क्यासका कारोबार भयो । एटीएमबाट क्यास झिक्ने काम भए पनि यसलाई डिजिटल भन्न नमिल्ने सापकोटा बताउँछन् ।
कार्ड र पस मेसिन पनि पहिलादेखि प्रयोग भइरहेका छन् । यसलाई पनि डिजिटल भुक्तानी हुन् । तर, यी माध्यमभन्दा राम्रो क्युआर कोड हो भन्छन् सापकोटा ।
क्युआर कोडको प्रयोग अन्य माध्यमभन्दा राम्रो हुुनुमा दुई तीनवटा कारण रहेको सापकोटा बताउँछन् ।
पहिलो त क्युआर कोड प्रयोगमा सस्तो छ । व्यक्तिगत प्रयोगमा भने अहिलेसम्म शुल्क पनि लागेको छ्रैन । प्रयोग गर्न सजिलो पनि छ ।
नेपालमा यसरी शुरु भयो क्युआर कोड
बारकोडको विकसितरुप क्युआर कोड हो । नेपालमा भाटभटेनी जस्ता सुपरमार्केटले पहिलेदेखि बारकोड प्रयोग गर्थे । बारकोडले पुग्ने भएपछि क्युआर कोड प्रयोग गरेका थिएनन् ।
‘क्युआर कोड भनेको कुनै विवरणलाई पिक्टोरियल भ्युमा देखाउनेमा हो,’ सापकोटा भन्छन्, ‘यसको प्रयोग पेमेन्टको लागि मात्र होइन ।’
यसको प्रयोग अन्य कामको लागि पनि हुन्छ । बारकोडमा भन्दा बढी विवरण क्युआर कोडमा आएपछि धेरै काममा प्रयोग हुनथाल्यो । भुक्तानीको लागि क्युआर कोडको प्रयोगपछि मात्र भएको हो ।
नेपालमा व्यवसायीक रुपमा क्युआर पेमेन्टको प्रयोग नेपालमा चर्चित फिनटेक कम्पनी एफवान सफ्टअन्र्तगतको फोनपे दुई वर्षअघि शुरु गरेको थियो ।
तर, यस पहिलो प्रयोग भने ६ अघि नै भएको थियो । त्यो बेला पनि फोन पेले क्युआर कोड प्रयोग शुरु गर्यो । तर, त्यो प्रयोग खासै हुन सकेन ।
त्यो बेला क्युआर कोड प्रयोगको लागि पूर्वाधार तयार भइसकेको थिएन । इन्टरनेट पहुँच, डाटाको प्रयोग खासै थिएन । स्मार्टफोनको प्रयोग पनि कम थियो ।
‘नेपालमा उक्त प्रविधिको प्रयोग अलि छिटो भएको अनुभव भएपछि तत्कालको लागि स्थगन गरेका थियौं,’ सापकोटा भन्छन् ।
नेपालमा यसको प्रयोग हुन नसके पनि चीन र भारतमा भने प्रयोग बढ्दो थियो । पछिल्लो तीन चार वर्षदेखि भने यी दुई देशमा भुक्तानीको माध्यम क्युआर कोड नै बन्यो ।
छिमेकी देशमा क्युआरको प्रयोग व्यापक भएको देखेपछि नेपालमा अब ठीक समय आयो भनेर फोन पेले दुई वर्षअघि यसको पुनः शुरुवात गरेको थियो ।
‘यो अब ठीक सयम हो भन्ने हामीलाई लाग्यो,’ सापकोटा भन्छन्, ‘छिमेकी देशमा यसको प्रयोग बढ्दो थियो ।’
शुरु शुरुमा यसको प्रयोग खासै हुन्न भन्ने उनीहरुलाई लागेको थियो । तीन चार महिनामा पाँच हजारको हाराहारीमा ट्रान्जेक्सन होला भन्ने उनीहरुलाई लागेको थियो ।
तर, उनीहरुले सोचेका ठीक उल्टो तीन चार महिनाका अवधिमा २० हजारको ट्रान्जेक्सन भयो । शुरुवात नै उत्साहजन भएको सापकोटा बताउँछन् ।
भविष्यमा थपिने अन्य सुविधाहरु
नेपालमा अहिलेसम्म क्युआर कोडको प्रयोग भुक्तानीको लागि मात्र प्रयोग भइरहेको छ । क्युआर कोड भुक्तानीको लागि मात्र नभएर अन्य धेरै सुविधा उपलब्ध गरान सकिने सापकोटा बताउँछन् ।
क्युआर कोडको प्रयोगमा इन्टरनेटको प्रयोग अनिवार्य छ ।
‘भोलिका दिनमा मोबाइलमा डेटा नभए पनि पमेन्ट गर्न सकिने सुविधा आउने छ,’ उनी भन्छन् ।
त्यस्तै, भुक्तानीबाहेक बैंक तथा वित्तीय संस्थाले यसबाट ऋण दिनसक्ने छन् । विदेशमा यस्तो सुविधा शुरु भइसकेको छ ।
‘डिजिटल पेमेन्टबाट डिजिटल लेन्डिङमा जाने अवस्था आउनेछ,’ सापकोटा भन्छन्, ‘राष्ट्र बैंकले पनि यसलाई हेरिरहेको छ ।’
के छन् समस्या ?
नेपालमा क्युआर कोड प्रयोगमा केही समस्या रहेका छन् । सापकोटाका अनुसार इन्टरनेट, डिजिटल भुक्तानीमा बानी लगायतका कारणले क्युआर कोड अझ व्यापक हुन सकेको छैन् ।
सबै ठाउँमा इन्टरनेट पुग्न सकेको छैन । डेटाको प्रयोग पनि महंगो छ । जसले गर्दा डेटा खोलेर क्युआर स्क्यान गर्न उपभोक्ता धक मान्छन् ।
त्यस्तै, कुनै पनि व्यक्ति डिजिटल भुक्तानीमा जाने कि नजाने भन्ने पनि महत्वपूर्ण हुने सापकोटा बताउँछन् । डिजिटलमा जाने बित्तिकै पारदर्शिता अझ उच्च हुन्छ । त्यस हिसाबले पनि कतिले डिजिटल भुक्तानी नजान सक्छन् ।
‘यी सबै विषयलाई हटाएर डिजिटल पेमेन्टमा किन जाने भन्ने बुझाउन सक्नुपर्छ,’ सापकोटा भन्छन्, ‘यसको लागि सजिलो कसरी बनाउने, पेमेन्टसँगै अन्य सेवा कसरी थप्ने भन्ने योजना हुुनुपर्छ ।’
डेटा प्रयोग नगरिकन कसरी यसको प्रयोग गर्न सक्ने बनाउने साथै यसलाई अझ सुरक्षित कसरी बनाउने भन्नेमा भर पर्छ ।
क्युआर कोड प्रयोग उपभोक्तालाई शुल्क तिर्नु पर्दैन । तर, यसको प्रयोग अझ व्यापक हुँदा शुल्क लाग्न सक्ने सापकोटा बताउँछन् ।
‘कुनै न कुनै दिन शुल्क लगाउनै पर्छ,’ सापकोटा भन्छन्, ‘कम्पनी सस्टेन कुरा पनि छ ।’
शुल्क लगाउने ठिक समय कुन हो र कति लगाउने भन्ने मुख्य विषय हुने उनी बताउँछन् । शुल्क लगाउनुभन्दा पहिला कति कारोबार गर्नेलाई लगाउने भन्नेमा अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।
क्युआर भुक्तानीमा बानी परिसकेपछि शुल्क लगाउँदा खासै फरक नपर्ने उनको भनाइ छ ।