‘लिडर’ नेपाल लाइफले गुमाउँदैछ बजार हिस्सा, लगानीकर्ताको प्रतिफल र बीमितको बोनस घट्यो



काठमाडौं । लामो समयदेखि जीवन बीमा कम्पनीमध्ये अब्बल र नम्बर वान भनेर परिचित नेपाल लाइफ इन्स्योरेन्सको बजार हिस्सा पछिल्लो समय घट्दै गएको सूचकांकहरुले देखाएका छन् ।

एक दशकयता जीवन बीमा बजारमा एकछत्र राज गरिरहेको कम्पनीका सूचकांकहरु पछिल्लो दिनमा अपेक्षाकृतरुपमा सकारात्मक छैनन् ।

कारण हो, नयाँ कम्पनीको प्रवेश ।

१० वटा जीवन बीमा कम्पनीमा सीमित जीवन बीमा बजारमा उति नै संख्यामा अर्थात् ९ वटा बीमा कम्पनी थपिएपछि पुराना कम्पनीको व्यवसायमा नराम्रो धक्का लाग्यो । पुराना कम्पनीले गरिरहेको व्यवसाय खोस्नेभन्दा पनि गाउँ-गाउँसम्म पुग्ने नयाँ जीवन बीमा कम्पनीले अपनाएको रणनीति सफल हुँदा पुराना कम्पनीहरुले बजार हिस्सा गुमाउन थाले ।

यद्यपि नेपाल लाइफ आजका दिनमा पनि नम्बर वान नै हो । तर, पछिल्लो वर्षमा घट्दा सूचकांकले भने संकेत राम्रो गर्दैन ।

लामो समयदेखि नेपाल लाइफ बीमाशुल्क आर्जन, बीमा कोष, जगेडा कोष, चुक्ता पुँजी, दाबी भुक्तानी लगायतका अधिकांश सूचकांकमा समेत शीर्ष स्थानमै रहँदै आएको कम्पनी हो । र, आजका दिनमा पनि व्यवसायका हिसाबमा नेपाल लाइफले बजार ‘लिड’ गरिरहेको छ ।

चालु आवको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीले कुल जीवन बीमा बजारमा २६.७३ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि बजार हिस्सा भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

त्यति मात्रै होइन, आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि कम्पनीले बीमितलाई दिने बोनसदर घटेर आयो । बोनस दरको हकमा नेपाल लाइफलाई नेशनल लाइफले चुनौती दिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि कम्पनीहरुले सार्वजनिक गरेको बीमितलाई दिने बोनस दर तालिका अनुसार सर्वाधिक बोनस दर नेशनल लाइफको छ ।

कम्पनीले सो आर्थिक वर्षका लागि बीमितलाई बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ । तर, नेपाल लाइफले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनस दर कायम गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले बीमा अवधिअनुसार बीमितिलाई प्रतिहजार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनस दर कायम गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन लाभांश हालसम्मकै कम हो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिएको थियो ।

लगानीकर्ताको प्रतिफल घट्यो
२०५८ सालदेखि सञ्चालनमा आएको नेपाल लाइफले सेयरधनीलाई ७ वर्षसम्म लाभांश दिएन । कम्पनीले २०६५ सालमा पहिलो पटक लगानीकर्तालाई २० प्रतिशत लाभांश दियो ।

नेपाल लाइफको ९ वर्षको लाभांश इतिहास हेर्दा कम्पनीले लगानीकर्तालाई न्यूनतम १४ प्रतिशतदेखि अधिकतम १२६.३१ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा लगानीकर्तालाई १२६.३१ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन लाभांश हालसम्मकै सबैभन्दा कम हो ।

आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कम्पनीले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिएको थियो ।

बीमितलाई दिने बोनस दर पनि घट्यो
नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घटेको छ । आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको तथ्यांकलाई हेर्दा कम्पनीले दिएको बोनस दर घटेको देखिएको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०६८/६९ मा बीमितलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर दिएको थियो । सो आर्थिक वर्षका लागि कम्पनीले २५ वर्ष भन्दा माथिका बीमा अवधिका लागि ८२ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०६९/७० मा कम्पनीले बीमितलाई न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर कायम गरेको थियो ।

बीमितलाई दिने बोनस दरको आठ वर्षको तथ्यांक हेर्दा आठै आर्थिक वर्षमा एउटै बोनस दर कायम गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७५/७६ सम्म एउटै बोनस दर दिँदै आएको थियो । तर, २०७६/७७ मा आइपुग्दा कम्पनीले बीमितलाई दिने बोनस दर घटेको छ ।

आठ वर्षसम्म न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर पाउँदै आएका बीमितले आर्थिक वर्ष २०७६/७७ मा न्यूनतम ५६ रुपैयाँ र अधिकतम ८२ रुपैयाँ बोनस दर पाउने भएका हुन् । आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा बीमितले पाउने न्यूनतम बोनस दर घटेको हो ।

गुम्दै छ बजार हिस्सा
जीवन बीमा बजारमा नेपाल लाइफ अब्बल बीमा कम्पनीका रुपमा चिनिन्छ । चालु आवको पाँच महिनाको तथ्यांकलाई हेर्दा कम्पनीको बजार हिस्सा गुम्दै गएको प्रस्ट हुन्छ ।

चालु आवको पहिलो महिनामा कम्पनीले ४ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले उक्त अवधिमा खुद बीमाशुल्क संकलन रकम १९.९० प्रतिशतले वृद्धि गरेको छ । तर, १०.४९ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको छ । साउन महिनामा कम्पनीको बजार हिस्सा ३९.१५ प्रतिशतबाट २८.६६ मा खुम्चिएको थियो ।

यस्तै, भदौ महिनामा आइपुग्दा कम्पनीले गत आवको सोही अवधिको तुलनामा बजार हिस्सा ३.१५ प्रतिशत विन्दुले गुमाएको थियो । कम्पनीले चालु आवको भदौ महिनामा ७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको भदौं महिनाको अवधिमा कम्पनीले ६ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले भदौ महिनामा कुल बीमाशुल्क संकलन २१.३४ प्रतिशतले बढाएको थियो । कुल जीवन बीमा व्यवसायमा कम्पनीको हिस्सा २७.०७ प्रतिशत थियो । गत आवको भदौ महिनामा कम्पनीको बजार हिस्सा ३०.२२ प्रतिशत थियो ।

असोज महिनामा आइपुग्दा कम्पनीको बजार हिस्सा २७.८८ प्रतिशतबाट घटेर २५.९८ प्रतिशतमा झरेको थियो । सो अवधिमा कम्पनीले कुल बीमाशुल्क संकलन रकम ९.९९ प्रतिशतले बढाएर ९ अर्ब ९० करोड रुपैयाँ पुर्याएको थियो ।

यस्तै, कात्तिक र मंसिर महिनामा पनि कम्पनीको बजार हिस्सा गुम्दै गएको तथ्यांकले देखाउँछ । कात्तिक महिनामा कम्पनीले कुल जीवन बीमा व्यवसायमा २५.९८ प्रतिशत हिस्सा ओगटेको थियो । जुन गत आवको कात्र्तिक महिनाको तुलनामा २.५३ प्रतिशत विन्दुले घटेको हो ।
गत आवको सोही अवधिमा कम्पनीको बजार हिस्सा २८.५१ प्रतिशत थियो ।

कम्पनीको सो अवधिमा १२ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । जुन गत आवको सोही अवधिको तुलनामा १२.२९ प्रतिशतले बढी हो । यस्तै, मंसिर महिनामा कम्पनीले २६.७३ प्रतिशत हिस्सा ओगटेको थियो । जुन गत आवको सोही अवधिको तुलनामा १.९३ प्रतिशत विन्दुले कम हो ।

गत आवको मंसिर महिनामा कम्पनीले कुल जीवन बीमा व्यवसायमा २८.६६ प्रतिशत हिस्सा ओगटेको थियो । कम्पनीले मंसिर महिनासम्मको अवधिमा १५ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.३४ प्रतिशतले बढी हो । गत आवको मंसिर महिनासम्मको अवधिमा कम्पनीले १४ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

सीइओविहीन कम्पनी
स्थापनाको २० वर्ष पूरा गरेको नेपाल लाइफले अहिलेसम्म ६ जनालाई सीइओको जिम्मेवारी दियो ।

२०६७ साल भदौ १ गते नेपाल लाइफ प्रवेश गरेका झालाई इन्स्योरेन्सले २०६९ साल साउन १ गते सीइओमा नियुक्त गरेको थियो । ८ वर्षे कार्यकाल सकाएर झा नेपाल लाइफबाट बाहिरिएपछि कम्पनीले सन्तोष प्रसाईंलाई सीइओको जिम्मेवारी दियो ।

प्रसाईंले २०७७ माघ २७ गतेदेखि सीइआको जिम्मेवारी पाएका थिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै नेपाल लाइफबाट बाहिरिए ।

प्रसाईंको राजीनामा स्वीकृत भएपछि कम्पनीले सुशिल कुमार चौधरीलाई कार्यबाहक सीइओको जिम्मेवारी दियो ।

रिलायन्स लाइफको सीइओबाट कार्यकाल सकाएर बाहिरिएका प्रविणरमण पराजुलीलाई नेपाल लाइफको कम्पनीको सिनियर डिसीइओको जिम्मेवारी दिएको छ । बीमा समितिले सीइओ पद रिक्त भएको मितिले तीन महिनाभित्र सीइओ नियुक्ति गर्न निर्देशन दिएको छ ।
नेपाल लाइफ कात्तिक २१ गतेदेखि सीइओविहीन छ ।

आन्दोलनरत अभिकर्ता
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताहरु बेला बेला कम्पनीविरुद्ध आन्दोलन गरिरहन्छन् । कहिले कम्पनीले दिएको व्यवसायको लक्ष्य बढी भएको भन्दै त कहिले बोनस दर घटाएको आरोपमा आन्दोलन जारी छ ।

सञ्चालक समितिले बीमा अभिकर्तालाई बढाइदिएको व्यवसायको लक्ष्यले नेपाल लाइफका अभिकर्ता आन्दोलित भए । उपत्यका बाहिर भएको एक कार्यक्रममा अभिकर्ताहरुले कम्पनीका कार्यबाहक सीइओ चौधरीलाई होटलभित्र कैद समेत गरे ।

कम्पनीले व्यसायिक लक्ष्य नघटाएको भन्दै अभिकर्ताहरुले पटक पटक पोलिसी जारी गर्न समेत बन्द गरे । पराजुली कम्पनीमा सिनियर डिसीइओ भएर गएपछि आन्दोलनरत अभिकर्ता साम्य भए ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई बोनसदर सार्वजनिक गरेपछि पेशागत बीमा अभिकर्ता संघले विज्ञप्ति जारी गर्दै कम्पनीले लाखौं अभिकर्ता र बिसौं लाख बीमितहरुको हित विपरीत कार्य गरेको भन्दै बोनसदर बढाउन समेत दबाब दिन पुगे ।


बिजया बास्कोटा