बागमती र बिष्णुमती किनारमा मात्रै १७ वटा पार्क बनाउँदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती र बिष्णुमती नदी किनारमा मात्रै करीब १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ ।

पछिल्लो पटक वडा–१७ मा इन्द्रायणी गुरुयोजना अन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिए । ‘काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हामीले सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, पार्कहरुको निर्माण गर्ने योजना अघि बढाएका छौँ,’ प्रमुख शाक्यले भने, ‘नदी किनारका जग्गालाई संरक्षण गरेर हरियाली कायम गर्ने जस्ता योजना पनि हामीले अघि बढाएका छौँ ।’

प्रमुख शाक्यले सोही योजना अनुसार कालीमाटी दोभानदेखि बालाजुसम्मको बिष्णुमती किनारलाई हरियाली कायम गर्न इन्द्रायणी पार्कको शिलान्यास गरेको बताए । प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रममा समेत प्राथमिकता दिएको बताए ।

‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार हामीले एक वडा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’

उनले काठमाडौं आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौति रहेको बताए । ‘काठमाडौँको विशेषता अन्य जिल्लाको भन्दा फरक छ । भित्री शहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर, देवता नै देवताले भरिएको छ,’ शाक्यले भने, ‘त्यसपछि नयाँ विकास भएको शहर पनि यही महानगरपालिका भित्र छ । यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनुपर्छ र त्यसै अनुरुप गर्दै आएका छौँ ।’

प्रमुख शाक्यले निर्माणधिन पार्कमा चौतारा, परम्परागत ढुंगेधारा, शौचालय र खुला व्यायमशाला रहने रहने भन्दै पार्क निर्माणसँगै जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका सबैका लागि मनोरञ्जन गर्ने र आनन्द लिने ठाउँ हुनेमा आशावादी रहेको बताए ।

केही महिना अघि मात्रै ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप प्रमुख शाक्यले एकै दिन वडा–३२ मा करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको शिलान्यास गरेका थिए । ती पार्क पनि अहिले निर्माण चरणमा छन् । महानगरपालिकाले साना ठूला गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भैरहेको जानकारी दिएको छ ।

वडा नम्बर–१७ का अध्यक्ष नविन मानन्धरले पनि नदी किनारको सार्वजनिक जग्गा संरक्षण अभियान अन्र्ततरगत नै इन्द्रायणी पार्क निर्माणको योजना अघि बढाएको बताए । उनले कुनै सयम विष्णुमतीमा असला माछा पाइने गरेको प्रसङ्ग कोट्याउँदै भने– असला माछा शुद्ध पानीमा मात्रै पाइन्छ । हामी यो नदीलाई सकेसम्म असला माछा पाइने नदीका रुपमा विकास गर्न चाहन्छौँ ।’ पुर्वमन्त्री पूर्वमन्त्री सुशीलकुमार श्रेष्ठले खुशिँबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजना सकारात्मक भएको बताए ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुख राम थापाले कालीमाटीदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली बनाउने योजना अन्तरर्गत नै जग्गा धेरै भएको ठाउँमा पार्क र थोरै भएको ठाउँमा हरियाली मात्रै कायम गर्दै अघि बढेको बताए । ‘महानगरपालिकाले वागमती र विष्णुमती किनारका जग्गा संरक्षण गर्दै आएको छ,’ उनले भने, ‘त्यो बाहेक भित्री सहरका पनि अतिक्रमण गरी व्यक्ति वा संस्थाले प्रयोग गर्दै जग्गामा स्थानीयको मागलाई समेत सम्वोधन गर्दै खोजिखोजी पार्क निर्माण गर्दै आएका छौँ ।’

उनले बिष्णुमती नदी किनारमा अहिले पाँच ओटा पार्क निर्माण भैरहेको र निर्माण सम्पन्नको चरणमा रहेको जानकारी दिए । ‘कालीमाटी दोभानमा महादेव पार्क निर्र्माण हुँदैछ । १३ र १५ नम्बर वडामा पनि पार्क निर्माण भैरहेको छ । त्यसैगरी वडा–१२, १८ र १९ को पनि पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अहिले वडा–१७ मा इन्द्रायणी पार्क शिलान्यास भएको छ । यसअघि वडा–१६ को चमतीमा पनि पार्क निर्माणको काम अघि बढेको छ ।’

उनले बागमती किनारमा पनि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर वडा– ४, ५, ७, ३१, ३२ मा गरी करीब १२ वटा पार्क निर्माण भैरहेको र निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिए । शिलान्यास भएको पार्कको लागत १ करोड ८० लाख रुपैयाँ रहेको छ । यो पार्क असार सम्ममा सम्पन्न गर्ने योजना रहेको महानगरपालिकाले जानकारी दिएको छ।


क्लिकमान्डु