दिल्ली-आगरा राजमार्गमा एकै साथ ९६ चार्जिङ स्टेशन, विद्युतीय राजमार्ग घोषणा गरिदै



काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग र चार्जिङ स्टेशनको विषयमा व्यापक हल्ला र प्रचार भएपनि काम भने आशातित रुपमा हुन सकेको छैन । तर, छिमेकी देश भारतमा भने एउटा राजमार्गलाई नै अब विद्युतीय राजमार्गको रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम शुरु गरिएको छ ।

विद्युतीय राजमार्गतर्फको सबैभन्दा पहिलो पाइलाका रुपमा दिल्ली–जयपुर, दिल्ली–आग्रालाई यसै वर्ष पूर्णरूपमा विद्युतीय राजमार्ग बनाइने भएको छ । त्यसका लागि एकै पटकमा ७५ वटा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टशेन निर्माण गरिने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसलाई ऐतिहासिक पहलकदमीको रुपमा लिइएको छ । त्यसबाट विद्युतीय सवारी साधन (इभी) को बाटो अब सहज हुने भएको छ ।

गुडगाउँको सेक्टर ५२ मा ९६ वटा चार्जिङ प्वाइन्टहरू भएको देशको सबैभन्दा ठूलो इलेक्ट्रिक वाहन चार्जिङ स्टेशनको शुरुवात गरिएको छ । यो स्टेसनलाई देशभरका राष्ट्रिय राजमार्गहरूमा बनाइने इभि चार्जिङ स्टेशनलाई नमूनाका रूपमा निर्माण गरिएको छ ।

यस्तै स्टेशनहरू यसवर्ष जयपुर र आगरामा बन्न लागेका छन् । एकै साथ, दिल्लीदेखि जयपुरसम्मको २८० किलोमिटर लामो राजमार्गमा कूल १० वटा त्यस्ता स्टेशन निर्माण गरिनेछ । दिल्ली र आगराको बीचमा ८ वटा स्टेशन निर्माण गरिनेछ ।

जयपुर, दिल्ली र आगरामा बनाइने स्टेशनहरू प्रत्येक ७५ वटा प्वाइन्ट हुनेछ । अर्थात् ७५–७५ ब्याट्री एकै पटक चार्ज गर्न सकिन्छ ।

अन्य सबै स्टेशनहरूमा २०–२० वटा ब्याट्री चार्ज गर्न सकिन्छ ।

दुबै राजमार्गमा एक–एक चार्जिङ स्टेसन सौर्य ऊर्जामा आधारित हुनेछ । सबैमा फास्ट चार्जिङ सिष्टम हुनेछ । त्यसमा डेढ घण्टामा ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यो काम यसै वर्ष पूरा गर्ने लक्ष्य छ ।

तर जब तपाईंको सवारी साधनको ब्याट्री सकियो तब तपाईंले ६ मिनेटमा अर्को कार पाउने व्यवस्था समेत गरिएको छ ।

विद्युतीय सवारीका लागि राष्ट्रिय राजमार्गका परियोजना निर्देशक अभिजित सिन्हाका अनुसार, गुडगाउँमा जस्तै प्रत्येक चार्जिङ स्टेशनमा निजी क्याब उपलब्ध हुनेछ ।

यदि कुनै व्यक्तिले चालकसँग वा सेल्फ ड्राइभिङका लागि ई–क्याब सेवाबाट कार भाडामा लिएका छन् भने धेरै फाइदा हुनेछ । एउटै मोडलको पूर्ण चार्ज भएको कार चार्जिङ स्टेशनबाट ५ मिनेट रोकिएपछि मात्रै बायो ब्रेकमा उपलब्ध हुनेछ ।

चार्जिङ स्टेशनहरू पीपीपी मोडलमा निर्माण भइरहेका छन् । भारतको बजेटमा घोषणा गरिएको ब्याट्री स्वापिङ नीति अन्तर्गत यी स्टेशनहरूमा ब्याट्री परिवर्तन गर्न सकिन्छ । अर्थात्, ब्याट्री सकिएपछि चार्ज गर्नका लागि कुर्नु पर्दैन । तपाईंले ब्याट्री जम्मा गर्नुभयो र तपाईंले नाममात्र शुल्कमा उही मोडेलको चार्ज गरिएको ब्याट्री पाउनुहुनेछ ।

ई–हाइवे नाम दिन लागेको सो राजमार्गमा आवतजावतका लागि तीन प्रकारका सवारी साधन उपलब्ध हुनेछन् । तीमध्ये पहिलो गाडी ई–बस हुनेछ । जसको सिट एपबाट बुक गर्न सकिन्छ ।

दोस्रो गाडीको रूपमा, ब्लू स्मार्ट, ओला, उबर, लिथियम अर्बन वा ट्रिपल ई ट्याक्सी जस्ता कम्पनी मार्फत कार बुक गर्ने सुविधा पनि हुनेछ । तपाईं चालक सहित वा बिना ई–कार भाडामा लिन सक्नुहुन्छ ।

तेस्रो, तपाईं आफ्नो इ–कार द्वारा यात्रा गर्न सक्षम हुनुहुनेछ । १० मिनेट जता गाडी पार्किङ गरेमा कन्ट्रोल रुमबाट तपाईलाई फोनमा तुरुन्तै सोधिनेछ कि तपाईलाई कुनै अप्ठ्यारो त परेको छैन ? बसहरू स्टेशनबाट पूर्ण चार्जमा मात्रै छुट्ने भएतापनि मिडवे चार्जिङ स्टेसनमा आधा घण्टाको ब्रेकमा सावधानीपूर्वक चार्जिङ सुविधा उपलब्ध हुनेछ ।

गाडीमा यात्रा गर्दा प्रतिकिलोमिटर डेढ रुपैयाँ भारु मात्रै लाग्नेछ । गुडगाउँको चार्जिङ स्टेशन इलेक्ट्रीफाई नामक कम्पनीले सञ्चालन गरिरहेको छ ।

त्यसका सीईओ प्रवीण यादवले गुडगाउँ स्टेशनमा प्रतियूनिट १२ भारुमा चार्ज भइरहेको बताए । एउटा सामान्य कारको ब्याट्री अधिकतम १८ युनिटमा पूर्ण चार्ज हुन्छ । जुन १८० देखि २०० किलोमिटरसम्म गुडन सक्छ ।

अर्थात् घरमा नभई चार्जिङ स्टेसनमा ब्याट्री चार्ज गरेमा ब्याट्री पूर्ण चार्ज हु्न २१६ भारु मात्रै लाग्छ । अर्थात् प्रतिकिलोमिटर मात्रै डेढ रुपैयाँ भारु मात्रै खर्च हुन्छ । यसबाट आगामी दिनहरूमा यात्रा धेरै सस्तो हुने देखिएको छ ।

अर्को वर्ष मुम्बई–सुरत, अहमदाबाद–वडोदरा लगायत ९ वटा राजमार्गमा चार्जिङ स्टेशन बनाउने योजना अघि सारिएको छ । अभिजित सिन्हाले दिल्ली–आग्रा, दिल्ली–जयपुर राजमार्गमा चार्जिङ स्टेशन निर्माण गरिसकेपछि अर्को चरणको काम सन् २०२३ मा सम्पन्न गरिने जानकारी दिए । त्यसका लागि ९ राजमार्ग छनोट गरिएको छ ।

यसमा मुम्बई–पुणे, मुम्बई–सुरत, अहमदाबाद–वडोदरा, बेंगलुरु–मैसुरु, बेंगलुरु–चेन्नई, पूर्वी पेरिफेरल, आगरा–लखनऊ एक्सप्रेसवे, आगरा–दिल्ली राजमार्ग र हैदराबाद बाहिरी रिंग रोड एक्सप्रेसवे समावेश छन् ।

यसपछि अर्को चरणमा देशका ९ महानगरहरू मुम्बई, दिल्ली, बैंगलोर, हैदराबाद, अहमदाबाद, चेन्नई, कोलकाता, सुरत र पुणे जोड्ने ५–५ राजमार्गहरूलाई विद्युतीय राजमार्गमा परिणत गरिनेछ ।


क्लिकमान्डु