२५ वर्षे सुरजले १० हजारमा शुरु गरेको नेपाली कपडा ‘फाइब्रो’ ब्रान्ड दुई वर्षमै दुई करोडको भ्यालुएसन



काठमाडौं । ‘एकदिन यस्तो उत्पादन गर्न सकियोस्, जुन विश्व बजारमा ठूलो माग होस् ।’

२५ वर्षे सुरजराज पाण्डेले देखेको सपना हो यो ।

सुरजले विश्वमा यस्ता धेरै व्यक्ति देखेका छन्, जसले सपना सेट गरे र त्यसलाई भेट्याउन आफैं बाटो बनाए । सुरज पनि त्यही बाटो बनाउन चाहन्छन्, जसले आफ्नो लक्ष्यमा पुर्याइदिओस् ।

त्यही लक्ष्यमा पुग्न उनले स्थापना गरेका छन्, नेपाली कपडा उत्पादन कम्पनी ‘फाइब्रो’ ।

सुरज स्कुलदेखि नयाँ नयाँ कार्यक्रमा सहभागी हुन्थे । कन्फ्रेन्सहरुमा सहभागी हुन्थे । छलफलमा भाग लिन्थे र आफ्ना कुरा राख्थे ।

बीआइटी पढेका २५ वर्षे सुरजका तीन साथीहरु मिलेर ‘नेपाल-बंगलादेश युथ कन्भेन्सन’ स्थापना गरेका थिए ।

सन् २०१७ मा ‘नेपाल–बंगलादेश युथ कन्भेन्सन’ भयो । उक्त कन्भेन्सको नेपालको निर्देशक रहेका सुरज कार्यक्रममा भाग लिन बंगलादेश गए ।

त्यही कार्यक्रममा सहभागी एक बंगलादेशी साथीको परिवारको कपडा उद्योग रहेछन् ।

‘तपाईंलाई हाम्रो कपडा उद्योग घुमाउन चाहन्छु,’ ती बंगालदेशी साथीले उद्योग प्रस्ताव गरे ।

सुरजले नाईं भन्ने कुरै थिएन । उनी कारखानामा गए ।

उद्योग यतिठूलो रहेछ कि, जहाँ तीन सिफ्टमा आठ/आठ हजार कर्मचारीले दरले काम गर्थे ।

‘मलाई त्यो कारखाना घुम्नै एक दिन लाग्यो,’ सुरज भन्छन्, ‘बिहान छिरेको बाहिर निस्किँदा अध्यारो भइसकेको थियो ।’

‘कति पुस्तादेखि यो व्यवसाय छ,’ कारखाना घुमेपछि सुरजले सोधे ।

‘अहिले दोस्रो पुस्ता हो,’ ती साथीले भने ।

‘कतिको कारोबार गर्नुहुन्छ,’ सुरजले फेरि सोधे ।

‘मिलियन डलरभन्दा धेरै छ,’ बंगलादेशी साथीले भने ।

त्यो उद्योग बंगलादेशको तेस्रो ठूलो कपडा उद्योग रहेछ । उद्योगले नेपालमा पनि करोडौंको कपडा निर्यात गरिरहेको थियो ।

त्यो उद्योग हेरेपछि सुरजको मनमा ‘झिल्को’ उठ्यो ।

नेपाल फर्किपछि यहाँको वस्तुस्थिति बारे बुझ्न थाले । ३०/३५ वर्षअघिसम्म नेपालमा गार्मेन्ट, कपडा उत्पादनमा राम्रो मानिन्थ्यो । अहिले पनि ती उद्योग, पूर्वाधार रहेका छन् । जुन प्रयोगहिन अवस्थामा छन् । यहाँ सानादेखि मध्यमस्तरका कपडा उद्योगहर छरपस्ट भएर बसेका छन् ।

उनीहरुले राम्रोसँग काम गर्न पाएका छैनन् । उनीहरुले विश्वासिलो ब्रान्ड बनाउन सकेका छैनन् ।

सुरजले सम्बन्धित व्यवसायीहरुलाई सोध्न, बुझ्न थाले । ‘काम गरौं कि नगरौं ?’ प्रायःले नगर्ने सल्लाह दिए । शुरुदेखि नयाँ ब्रान्ड बनाउनु पर्ने, चल्ने हो कि होइन जस्ता अनिश्चितका कुरा आउँथे । अझ उपभोक्तामा नेपाली उत्पादन भनेपछि नराम्रो हुन्छ, महंगो हुन्छ भन्ने भावना थियो ।

बजारबाट जस्तो सुझाब आए पनि सुरजले निर्णय गरे, आफ्नै ब्रान्डको कपडा उद्योग खोल्ने ।

नाम सोचे– फाइब्रो । ल्याटिन भाषामा ‘फाइब्रे’ भनेको धागो हो । यही शब्दबाट उनले फाइब्रो नाम राखे । लोगो बनाए ।

‘सन् २०१९ मा १० हजार रुपैयाँमात्र लगानी गरे र परीक्षणको लागिमात्र भनेर केही मात्र ज्याकेट बनाएँ,’ सुरज भन्छन् ।

उनको साथी सुदिप आचार्यको कपडा कारखना थियो । त्यहाँ सम्पर्क गरे । यस्तो सामान उत्पादन गर्नु भनेर अर्डर दिए ।

उनले सात आठ हजारमात्र एडभान्स पनि दिए ।

फाइब्रो ब्रान्डमा ३६ ज्याकेट बनेर उनको हातमा आयो । बिक्री गर्ने माध्यम थिएन ।

साथीहरुलाई फोन गरे ।

‘मसँग आफैं उत्पादन गरेका ज्याकेट छन् । राम्रा छन्, हेर्ने हो ? फोनबाटै उनले सोधे । ज्याकेटको मूल्य ३५ सय थियो ।

उनी आफै त्यहाँ पुगे । ज्याकेट देखाए । सबैले मन पनि पराए र किने पनि । १५ दिनमै सबै बिक्री भए ।

र, उनी निर्णयमा पुगे फाइब्रो ब्रान्डमा कपडा उत्पादन गर्ने । आज उनी फाइब्रोको सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । अन्य तीन सहसंस्थापकले उनलाई साथ दिइरहेका छन् ।

‘शुरु गर्न पैसा चाहिदैन, नेटवर्क चाहिन्छ,’ उनी भन्छन् ।

पहिलो चरणमा त्यसरी कपडा उत्पादन गरेपछि अनामनगरमा सानो कोठा लिएर अफिस बनाए । सामाजिक सञ्जालमा अकाउन्ट खोले । वेवसाइट बनाए ।

‘डिजिटल स्पेसमा विज्ञापन गर्दागर्दै यसलाई विस्तार गर्दै गएको हो,’ सुरज भन्छन्, ‘ठूलोस्तरको कुनै पनि लगानी र काम गरेको होइन ।’

उत्पादन राम्रो भएकाले शुरुका ग्राहकले धेरै मन पराएको उनी बताउँछन् ।

यसले अहिले मुख्य त ४ प्रोडक्टमा काम गरिहरको सुरज बताउँछन् ।

आउटडोर एपारल । यो प्रोडक्टले ज्याकेट, हाइकि, ट्रेकिङ जानको लागि एडभेन्चर गियरको लागि काम गर्छन् । अहिले अलिकति सानो छ । यसको सिजन शुरु हुने वित्तिकै यसको उत्पादन धेरै हुने उनले बताए ।

दैनिक उपभोग्य कपडा पनि उनीहरुले उत्पादन गर्छन् । जस्तो कि टिसर्ट, सर्ट, हुडी, अफिस वा घरमा बस्दा लगाउने कपडाहरु ।

त्यस्तै, युटिलिटी फोकस उत्पादन पनि छन् । वाटर फ्रु ज्याकेट, विन्ड फ्रुफ ज्याकेट, डस्ट प्रुफ ज्याकेट, तीनवटै ज्याकेटलाई एउटै ज्याकेटमा मिलाएर उत्पादन गरेका छन् । मान्छे एउटा कपडा लगाउँदा यी सबै फाइदा लिन सकून भन्ने उनको उद्देश्य छ ।

इनोभेसन सेग्मेन्ट भन्ने पनि उनीहरुले राखेका छन् । जसमा नयाँ नयाँ प्रोडक्टमा काम गर्ने, नयाँ डिजाइन गर्ने काम उनीहरुले गरिरहेका छन् ।

अहिले मुख्य त अनलाइनबाट व्यवसाय गरिरहेका छन् । उनीहरुको वेवसाइट, सामाजिक सञ्जालबाट कारोबार गरिरहेका छन् । आउटलेट खोल्ने योजना थियो तर कोभिडले गर्दा रोकिएको उनले बताए । अनामनगरमा कार्यलयबाट पनि बिक्री भइरहेको छ ।

‘हामीले चाँडै नै रिटेल आउटलेटमा पनि यो राख्दैछौं,’ उनले भने, ‘अहिले ग्राहकसँग सीधै बिक्री गरिरहेका छौं ।’

अहिले धेरै ठाउँबाट प्रस्ताव आइरहेको छ । सकेसम्म आफैं बिक्री गर्ने र नसक्ने ठाउँमा मात्र रिटेलमा दिने उनको सोच छ ।

झन्डै तीन वर्षको अवधिमा ६० वटा डिजाइनमा उनीहरुले काम गरिरहेका छन् । यसमा जाडो, गर्मी, बर्खाको लागि लक्षित गरेर डिजाइहरु गरिएका छन् । सिजनअनुसार ती कपडा उत्पादन हुन्छन् ।

अहिले महिनाको ६–७ लाखको कारोबार गर्छन् । कोभिड शुरु भएसँगै भने केही घटेको उनी बताउँछन् ।

‘एकदमै सिमित स्रोतमा शुरुवात भएको स्टार्टअपको लागि ठिकै कारोबार भइरहेको छ,’ उनी भन्छन् ।

भारत, चीन, बंगलादेश, टर्की जस्ता मुलुकबाट कच्चा पदार्थ ल्याउँछन् । केही देशमा निर्यातसमेत गरेका छन् ।

उनीसँग अहिले फुल टाइम र पार्ट टाइम गरेर १३ जना स्टाफ रहेका छन् । उनले दुईवटा कारखानाबाट आफ्ना कपडा उत्पादन गर्छन् । अहिलेसम्म भाडामै कारखान चलाइरहेका छन् । भविष्यमा आफै कारखान चलाउने योजना बनाइरहेका छन् ।

नेपालमा हरेक वर्ष अर्बौंको कपडा आयात भइरहेको छ । स्वदेशमा खासै उत्पादन छैन । यही अवस्था भएकाले स्वदेशी ब्रान्डको लागि राम्रो बजार रहेको उनको तर्क छ ।

‘कपडाको लागि मात्र होइन,’ उनी भन्छन्, ‘सबै सामानको लागि बजार छ ।’

तर, उपभोक्ता र उत्पादक वा वस्तुबीच जुन विश्वास हुनुपर्ने हो त्यसको कमीले स्वदेशी ब्रान्डले बजार नभएको उनी बताउँछन् ।

उपभोक्ताले जस्तो उत्पादन खोजिरहेका छन्, त्यसमा ग्याप भएर पनि स्वदेशी ब्रान्डले ठाउँ नपाएको हुनसक्छ । गुणस्तर, फिनिसिङ, स्टाइलिस कपडा उत्पादन हुन सकेका छैनन् ।

‘नेपालमा रिसर्च एण्ड डेभलपमेन्टमा खासै खर्च गरेको पाइँदैन,’ सुरजले भने, ‘त्यसले गर्दा पनि उपभोक्ताले खोजेजस्तो सामान उत्पादन भइहरेको छैन ।’

यही राम्रो बजार देखेर पनि यसमा लागेको सुरजको भनाइ छ ।

‘अहिले जसरी अचाक्ली आयात भएको छ । त्यसलाई घटाउन यसैगरी उत्पादन शुरु गर्नुपर्छ,’ उनी भन्छन् ।

आफ्नो कम्पनी सानो भए पनि बजार ठूलो देखेका छन् सुरजले । अर्बौ रुपैयाँको आयात भइरहेको बजारमा स्वदेशी ब्रान्डको ठूलो ग्याप छ । त्यही ग्याप पुरा गर्न लागि परेका छन् सुरज ।

तीन वर्षको अवधिमा जति प्रतिक्रिया र व्यवसाय गरे त्यसमा सन्तुष्ट छन् सुरज । १० हजारमा शुरु भएको कम्पनीलाई आज भ्यालुएसन गर्ने हो भने २ करोडभन्दा माथि पुगेको सुरज बताउँछन् ।

काठमाडौ, धुम्बराइका सुरजको एउटा सपना छ, ‘एकदिन यस्तो उत्पादन गर्न सकियोस्, जुन विश्व बजारमा ठूलो माग होस् ।’

त्यही सपनालाई पछ्याउन चाहन्छन् सुरज ।


सन्तोष न्यौपाने