विद्युतीय कारोबार गर्दा यी ७ तरिका अपनाए ठगिनबाट बच्न सकिन्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिममा सतर्क बन्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्लो समय विद्युतीय कारोबारमा बढोत्तरी भएको भएपनि विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति-समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको स्मरण गराएको छ ।

राष्ट्र बैंक विद्युतीय भुक्तानी प्रयोगकर्तालाई सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पावसर्ड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने तथा अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने गरेको भन्दै ेसचेत बन्न आग्रह गरेको छ ।

विद्युतीय कारोबार गर्दा यस्तो ठगीबाट बच्न विशेष ध्यान दिन आग्रह गरेको छ । अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन भनेको छ । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्न समेत भनेको छ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउन भनेको छ ।

अनावश्यक तथा अनधिकृत एम आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न आग्रह गरेको छ । अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने तर्फ सचेत गराएको छ ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड वा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेमा त्यसलाई शङ्कास्पद रुपमा लिन भनेको छ ।

रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड पठाउन आवश्यक रहेको जनाएको छ । कुनै पनि वेवसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेवसाइटको ठेगानामा वास्तविक हो की होइन भन्नेमा ध्यान दिन भनेको छ ।

विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी गर्न भनेको छ ।


क्लिकमान्डु