कोरोनाले बढायो एनबीए, १० बैंकको गैरबैंकिङ सम्पत्ति डेढ अर्ब बढी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका विभिन्न काममध्ये कर्जा लगानी प्रमुख काम हो । बैंकको मुख्य कमाइको स्रोत नै कर्जा लगानीबाट प्राप्त हुने आम्दानी हो ।

बैंकले आम्दानी नगरी सञ्चालक खर्च गर्न, कर्मचारीलाई तलब खुवाउन, बोनस दिन, लगानीकर्तालाई लाभांश दिन सक्दैनन् ।

तर कर्जा लगानी गर्दा गर्दैै सबै कर्जा सहजै उठ्छ भनेर भन्न पनि सकिँदैन । कतिपय कर्जाको धितो लिलामी पनि गर्नुपर्ने हुन्छ ।

बैंकले सकारेको सम्पत्ति लिलामीबाट बिक्री गरेपछि त्यसले बैंकको नाफा बढ्छ । लगानीकर्ताले धेरै लाभांश पाउँछन् । यसले बैंकको वित्तीय अवस्था कति बलियो छ भनेर देखाउँछ ।

बैंकबाट कर्जा लिएर त्यस्तो कर्जा चुक्ता नगरेका र त्यसको धितो बिक्री गर्न नसेको रकम बैंकमा धेरै छ । गत आर्थिक वर्षमा १० वटा बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ५६ करोड ९४ लाख १२ हजार ७६ रुपैयाँ रहेको छ । यो भनेको १० वटा बैंकले सकारे पनि बिक्री गर्न नसकेको सम्पत्ति हो । यहाँ १० वटा बैंकको मात्रै तथ्याङक संकलन गरिएको छ ।

प्राप्त तथ्याङक अनुसार गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको रहेको छ । बैंकको ५० करोड ६८ लाख ५६ हजार ९९४ रुपैयाँ रहेको छ ।

यस्तै सिद्धार्थ बैंकको २९ करोड १० लाख ४२ हजार ९८ रुपैयाँ, माछापुच्छे« बैंकको २७ करोड ३९ लाख १० हजार ५७३ रुपैयाँ, मेगा बैंकको ११ करोड ६४ लाख ६० हजार रुपैयाँ, लक्ष्मी बैंकको १० करोड ५९ लाख ४२ हजार रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ ।

यस्तै एनएमबि बैंकको ९ करोड ७९ लाख ४२ हजार २६० रुपैयाँ, कुमारी बैंकको ९ करोड ४० लाख ४ हजार ६६५ रुपैयाँ, सिभिल बैंकको ५ करोड ७७ लाख ८६ हजार ४४८ रुपैयाँ, सेञ्चुरी बैंकको २ करोड ३२ लाख ६४ हजार २९३ रुपैयाँ र सबैभन्दा कम २२ लाख २ हजार ७४५ रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ ।

वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति कोरोना महामारीका कारण पनि बढेको बैंकर्सहरुको भनाइ छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि लकडाउन भयो । कोरोना बढेपछि सरकारले पटक–पटक लकडाउन गर्नुपर्यो । जसले गर्दा बैंकहरुले आफूसँग भएको गैरबैंकिङ सम्पत्ति लिलाम बिक्री गर्न पाएनन् । त्यसले गर्दा पनि बैंकको गैरबैंकिङ सम्पत्ति बढेको बैंकर्सको दाबी छ ।

नेपाल बैंकसं संघका अध्यक्ष अनिल उपाध्यायले कोरोनाका कारण पनि बैंकमा गैरबैंकिङ सम्पत्ति बढेको बताए ।

उनका अनुसार संख्यामा केही कमि भएपनि रकमको आधारमा यो केही बढि देखिएको हुन सक्नेछ । पछिल्लो समय बैंकमा गैरबैंकिङ सम्पत्ति घटेको भएपनि कोरोनाका कारण बढेको उनको भनाइ छ ।

यो अवधिमा कुनै बैंकको घटेको र कुनै बैंकको बढेको भन्दै समग्रमा लगानीकर्ता तथा सेयरधनी यही कुरालाई लिएर आत्तिहाल्नु पर्ने अवस्था नरहेको अध्यक्ष उपाध्यायले क्लिकमाण्डूलाई बताए ।

यता नेपाल बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले पनि कोरोना महामारीमा कारण गत आर्थिक वर्षमा केही सम्पति लिलामिमा जान नसकेको र केही सम्पत्ति लिलामिमा जान समय लागेर बैंकको गैरबैकिङ सम्पत्ति देखिएको बताए ।

‘कोरोनाको कारण गैरबैकिङ सम्पत्ति केही बढेको छ’ उनले भने, ‘बढेको भएपनि बिक्री हुने सम्भावना बढी नै छ, यसमा कोरोनाको तेस्रो भेरियन्टले केही समय लाग्नसक्छ ।’

एनएमबि बैकका सीइओसमेत रहेका संघका उपाध्यक्ष केसीले कोरोनाको तेस्रो भेरियन्ट नआएको भए अक्सनमा छिनै जाने अवस्था रहेको बताए । कोरोना न्यून भएपछि बैकलाई पनि गैरबैकिङ सम्पत्ति घटाउन सहज हुने केसीको भनाइ छ ।

के हो गैरबैंकिङ सम्पत्ति ?
बैंक तथा बित्तीय संस्थाबाट कर्जा प्रवाह गरेको रकम विभिन्न कारण असूल–उपर हुन नसकी ऋणीले ऋण लिने क्रममा वित्तीय संस्थालाई धितोस्वरुप राखिदिएको जग्गा तथा जायजेथालाई धितो लिलामिको समयमा बैंकबाट सकार गरी लिएको सम्पत्तिलाई गैरबैकिङ सम्पत्ति हो । यस्तो सम्पत्तिमा घर, जग्गा तथा घरजग्गा हुनेगर्दछ ।

जुनसुकै बैंकले आफ्नो नाममा श्रेस्ता कायम रहेको गैरबैंकिङ सम्पत्तिलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने गर्दछन् ।

त्यसका लागि खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको निश्चित दिनभित्र बैंकको कर्जा असूली विभागमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

बैंकहरुले पटक–पटक गर्दा पनि धितोमा गएको कर्जा असुली नभएपछि धितोमा रहेको सम्पत्ति लिलामी गर्ने गर्दछन् ।

बैंकले लिलामीमा राखेको सम्पत्ति जसको हो उसैले सकार्न चाहेको खण्डमा पहिलो प्राथमिकता उसैलाई दिने गरिन्छ ।


क्लिकमान्डु