भारतले क्रिप्टोकरेन्सीलाई मान्यता दिँदैछ, बजेटमा समेट्नुको अर्थ के हो ?



एजेन्सी । दक्षिण एशियाको सबैभन्दा सबल अर्थतन्त्र मानिएको भारतले आर्थिक वर्ष २०२२÷२३ को बजेट मंगलबार सार्वजनिक गरेको छ । भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकालको चौथो बजेटका रुपमा यसलाई सार्वजनिक गरिएको हो ।

वित्तमन्त्री निर्मला सीतारमणको पनि यो चोथो बजेट हो । अघिल्ला दुई वटा बजेट कोरोनाको नियन्त्रणमा केन्द्रित थियो । यद्यपि, यो बजेट पनि कोरोनासँग नै जोडिएर आएको छ ।

यसपटकको बजेटमा धेरै विषय समावेश भएको छ । आमरुपमा बजेटप्रति तटस्थ धारणा व्यक्त भएको छ । किनकी, जुन राजनीतिक धरातलमा मोदी र भाजपा उभिएको छ, सोही धरातलका आधारमा बजेट आएको विपक्षीहरुको टिप्पणी छ ।

त्यसो त मंगलबार पेश गरिएको बजेटमा एउटा नयाँ विषयले प्रवेश गरेको छ । त्यो हो । भर्चुअल सम्पत्तिमा ३० प्रतिशत कर लगाउने विषय । भारत सरकारको यो घोषणासँगै डिजिटल मुद्राको कारोबार अगाडि बढाउने भन्ने संकेत देखिएको जानकारहरुको टिप्पणी छ । यद्यपि हालसम्म भारतमा क्रिप्टोकरेन्सी लगायतका डिजिटल मुद्रा प्रतिबन्धको अवस्थामा छ ।

बजेट घोषणामा, निर्मला सीतारमणले भर्चुअल सम्पत्तिमा कर र भारतीय डिजिटल मुद्राको शुरुवातको बारेमा कुरा गरेको देखिन्छ ।

डिजिटल मुद्रामा जान सक्ने भारत सरकारको तयारीले यसमा समर्थकहरुमा भने खुसीयाली छाएको छ । क्रिप्टोकरेन्सीका जानकार तथा लगानीकर्तालाई यसले हर्षित तुल्याएको छ । यस आलेखमा सोही विषयका बारेमा जानकारी दिने प्रयास गरिनेछ ।

वित्तमन्त्रीले भनेकी छिन् ‘कुनै किसिमको भर्चुअल डिजिटल सम्पत्तिको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाइनेछ । भर्चुअल डिजिटल सम्पत्ति हस्तान्तरण गर्न एक प्रतिशत टिडिएस पनि तिर्नुपर्नेछ । यस्तै, उपहारमा भर्चुअल मुद्रा प्राप्त गर्ने व्यक्तिले पनि कर तिर्नुपर्नेछ ।’

कर लगाउने निर्णय भएपछि त्यो सञ्चालनमा पनि आउँछ र त्यसको तयारी पनि गरिएको हो भन्ने अर्थमा बुझ्नुपर्ने जानकारहरुको भनाइ छ ।

भर्चुअल सम्पत्ति बाहेक, वित्तमन्त्री निर्मला सीतारमणले पनि यस वर्ष भारतीय रिजर्भ बैंकको तर्फबाट डिजिटल मुद्रा शुरू गर्ने विषयलाई पनि बजेटमा समावेश गरेको जानकारी दिइएकी छिन् । बीबीसी हिन्दीले अदृश्य रुपमा भइरहेको भर्चुअल मु्द्राको कारोबार अब वैधानिक रुपमा नै अगाडि बढ्छ वा अगाडि जाँदैछ भन्ने कुराको संकेत बजेटले गरेको उल्लेख गरेको छ ।

बीबीसी हिन्दीले भर्चुअल सम्पत्ति, क्रिप्टोकरेन्सी र डिजिटल मुद्राबारे सहजै बुझाउनका लागि अर्थशास्त्री शरद कोहली, क्रिप्टोकरेन्सी विशेषज्ञ सञ्जीव कंसल र क्रस टावर क्रिप्टोकरेन्सी एक्सचेन्जका सीईओ विकास आहुजासँग विस्तृत कुराकानी गरेको र सोही आधारमा यो सामग्री बनाएको छ ।

ठूला कम्प्युटरहरूले कुनै खास सुत्र वा एल्गोरिदम समाधान गर्छन् । त्यसलाई माइनिङको नाम दिइन्छ । त्यसपछि क्रिप्टोकरेन्सी सिर्जना गरिन्छ । बजारमा बिटक्वाइन जस्ता करिब ४ हजार भर्चुअल मुद्राहरू उपलब्ध छन् । यी सबै भर्चुअल मुद्राहरूलाई क्रिप्टोकरेन्सी भनिन्छ ।

केही संस्थाले सामान्य मुद्रा नियन्त्रण गर्छ । जस्तै भारतमा मुद्रा रिजर्भ बैंक अफ इन्डियाद्वारा नियन्त्रित छ । रिजर्भ बैंकले मुद्रा छाप्छ र आफ्नो खातामा राख्छ । तर, रमाइलो कुरा के छ भने कुनै पनि संस्थाले क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्दैन ।

प्रत्येक एकल क्रिप्टोकरेन्सी लेनदेनको डाटा विश्वभरका विभिन्न कम्प्युटरहरूमा रेकर्ड गरिएको हुन्छ । सरल शब्दमा बुझ्ने हो भने, मानौं एउटा धेरै ठूलो कोठा छ, जसमा संसारभरका मानिसहरू बसिरहेका छन् । यस्तो अवस्थामा, जब एक व्यक्तिले क्रिप्टोकरेन्सी लेनदेन गर्छ, उसको जानकारी कोठामा बसेका सबै मानिसहरूलाई उपलब्ध हुन्छ । अर्थात्, उसको रेकर्ड एक ठाउँमा मात्र रेकर्ड हुँदैन ।

यसलाई विश्वभरका विभिन्न कम्प्युटरहरूमा राखिएको छ, त्यसैले बैंकहरू जस्तो कुनै तेस्रो पक्षको आवश्यकता पर्दैन ।

बिटक्वाइन नामको क्रिप्टोकरेन्सी सन् २००८ मा सिर्जना भएको थियो । सन् २००८ देखि हालसम्म बिटक्वाइन किनेको वा बेचेको वालेटका बारे सबै जानकारी उपलब्ध छ । यसमा मात्र समस्या यो हो कि वालेट कुन व्यक्तिसँग जोडिएको छ थाहा हुँदैन ।

अब प्रश्न उठ्छ भारतको बजेटमा भर्चुअल सम्पत्तिमा ३० प्रतिशत कर लगाउनुको अर्थ के हो त ?

यसको सोझो अर्थ हो अब जो व्यक्तिले क्रिप्टोकरेन्सीबाट आम्दानी गर्छ उसले ३० प्रतिशत कर तिर्नुपर्नेछ । यदि कुनै व्यक्तिले एक लाख रुपैयाँको क्रिप्टोकरेन्सी किनेर दुई महिनापछि दुई लाख रुपैयाँमा बेच्यो भने । त्यसको कर तिर्नुपर्छ ।

अर्थात् उसले एक लाख रुपैयाँ नाफा कमाएको छ । अब उक्त व्यक्तिले एक लाख रुपैयाँको नाफामा ३० प्रतिशत अर्थात् ३० हजार रुपैयाँ सरकारलाई कर तिर्नुपर्नेछ ।

यस्तै, भर्चुअल सम्पत्तिमा १ प्रतिशत टिडिएसको अर्थ के हो? भन्ने पनि प्रश्न उठन सक्छ । यसमा पनि सिधा उत्तर छ ।

यदि पहिलो व्यक्तिले दोस्रो व्यक्तिबाट एक लाख रुपैयाँको क्रिप्टोकरेन्सी किनेको छ । यस्तो अवस्थामा पहिलो व्यक्तिले एक प्रतिशत टीडीएस अर्थात् १ हजार रुपैयाँ कटौती गरेपछि ९९ हजार मात्रै तिर्नेछ ।

यो एक हजार रुपैयाँ सरकारको टिडिएसको रूपमा जम्मा गर्नुपर्नेछ जुनपछि करका रूपमा जम्मा गर्न सकिन्छ । यसबाट सरकार लेनदेनको बारेमा सचेत हुनेछ भन्ने हो ।

त्यस्तै, के तपाईंले क्रिप्टोकरेन्सी कोही कसैलाई उपहार दिँदा पनि कर तिर्नुपर्छ ? अर्को प्रश्न पनि यसमा जोडिएर आउँछ । यसको उत्तर छ ।
हो । कतिपय अवस्थामा, नजिकका आफन्तहरूलाई उपहारमा कर लाग्दैन, तर क्रिप्टोकरेन्सी उपहारहरूको श्रेणीबाट बाहिर छ ।

यदि तपाईंले आफ्नो भाइबहिनीलाई क्रिप्टोकरेन्सी उपहार दिनुभयो भने, त्यसमा कर लगाइनेछ । कुरा प्रष्ट छ ।

यस्तै ,क्रिप्टोकरेन्सीको कारोबारमा घाटा भयो भने के हुन्छ ? भन्ने अर्को जिज्ञासा पनि यसमा जोडिएर आउँछ ।

क्रिप्टोकरेन्सीको फाइदा वा बेफाइदाहरू वार्षिक आयमा थप्न सकिँदैन । यदि तपाईंले आफ्नो व्यवसायबाट ५ लाख रुपैयाँ कमाउनुभएको छ र क्रिप्टोकरेन्सीबाट एक लाख रुपैयाँ घाटा भएको छ भने पनि यस्तो अवस्थामा तपाईंले पूरै ५ लाख रुपैयाँको कर सरकारलाई तिर्नुपर्नेछ । यसमा, क्रिप्टोकरेन्सीबाट हुने नोक्सान समायोजन गर्न सकिँदैन । यसको मतलब तपाईंले आफ्नो ४ लाख रुपैयाँ कमाई देखाउन सक्नुहुन्न ।

त्यसैगरी भर्चुअल सम्पत्ति के हो त ? भन्ने जिज्ञासा पनि उठ्न सक्छ ।

भर्चुअल भनेको भौतिक रूपमा छुन नसकिने सम्पत्ति भनिएको हो । यो इन्टरनेटको दुनियाँमा हुन्छ । बजारमा रहेका सबै क्रिप्टोकरेन्सीहरू जस्तै बिटक्वाइन, इथरियम, डजकोइन सबैलाई भर्चुअल एसेट भनिन्छ ।

यसमा नन फनएवल टोकन पनि समावेश छ । उदाहरणका लागि, एक व्यक्तिले संसारको पहिलो एसएमएस, यसको गैर–फनएबल टोकन बनाउन व्यवस्थित गरेको छ । धेरै चित्रहरू पनि मानिसहरूले टोकनका रूपमा तयार पारेका हुन्छन् । तिनीहरू भर्चुअल संसारमा बेच्न वा किन्न सकिन्छ ।

यस्तै डिजिटल वालेट भनेको के हो ? क्रिप्टोकरेन्सीमा र यसमा के फरक छ भन्ने जिज्ञासा स्वतः आउँछ नै ।

उत्तर सहज छ । जसरी एक व्यक्तिले आफ्नो पैसा पर्र्समा राख्छ । त्यस्ता क्रिप्टोकरेन्सीहरू राख्न डिजिटल वालेट चाहिन्छ । डिजिटल वालेट खोल्नको लागि पासवर्ड आवश्यक पर्छ । जो कोहीसँग डिजिटल वालेटको पासवर्ड छ उसले यसलाई खोल्न र क्रिप्टोकरेन्सी किन्न वा बेच्न सक्छ ।

डिजिटल वालेटमा ४० देखि ५० अंकको ठेगाना हुन्छ । यसमा वर्णमाला र संख्यात्मक दुबै समावेश छन् । प्रत्येक वालेटमा एक अद्वितीय ठेगाना हुन्छ । डिजिटल संसारमा यस्ता खर्बौं वालेटहरू छन् । (बीबीसी हिन्दीलगायत भारतीय मिडियाको सहयोगमा तयार पारिएको सामग्री)


क्लिकमान्डु