फूडमाण्डूको यात्राः पहिले टिकाउनै गाह्रो, अहिले भ्याई-नभ्याई, अधिकारी भन्छन्- थाहै नपाइ उद्यमी पो भएछु



काठमाडौं । एक दशक फूडमाण्डू शुरु हुँदै गर्दा सबैभन्दा ठूलो समस्या थियो, ‘रेष्टुराँलाई कसरी आफ्नो नेटवर्कमा ल्याउने ।’

अहिले पनि समस्या उही नै हो । तर, ठीक उल्टो । अहिले फूडमाण्डूमा जोडिन चाहन्छु भन्ने रेष्टुराँका लामो सूचीबाट कसरी छनोट गर्ने ?

फूडमाण्डूका प्रबन्ध निर्देशक मनोहर अधिकारीलाई सम्झना छ, पहिलो पटक आफ्नो लिष्टमा १० वटा रेष्टुराँको नाम लेख्न धेरै महिना लागेको थियो ।

उनले आफ्ना नजिकका साथीहरुलाई भनेका थिए, ‘तिमीले चिनेका रेष्टुराँ छन् भने ल्याउन, पुग्दै पुगेनन् ।’

उनी आफैले पनि धेरै रेष्टुराँका मालिकसँग गएर कन्भिन्स गरे ।

कम्तीमा २५ वटा रेष्टुराँलाई साथमा लिएर फूडमाण्डू शुरु गर्ने लक्ष्य थियो अधिकारीको । जति प्रयास गर्दा पनि उनी सफल भएनन् । बल्लतल्ल १० वटा रेष्टुराँको सूची बनाए र शुरु गरे फूडमाण्डू ।

आज दश वर्षपछि अवस्था ठ्याक्कै उल्टो भएको छ । अर्थात्, अहिले फूडमाण्डूसँग गाँसिनेहरुको रेष्टुराँको सूचीमा आफ्नो नाम लेखाउनेहरुको लामो सूची छ । यसको सूचीमा पर्न पाए व्यापार बढी हुन्थ्यो भन्ने सोच काठमाडौं उपत्यकाका रेष्टुराँका सञ्चालकहरुमा छ ।

नौलो स्टार्टअप शुरु गरेका अधिकारीलाई फूडमाण्डूको कन्सेप्टलाई बुझाउन ठूलो लगानी र धेरै समय लगाएका छन् । त्यसैको प्रतिफल आज फूडमाण्डू नेपालको युनिकर्न स्टार्टअप व्यवसाय बनेको छ ।

दशकअघि १० वटा रेष्टुराँ पुर्याउन हम्मेहम्मे परेको फूडमाण्डूको सूचीमा आज ९ सयभन्दा बढी रेष्टुराँ जोडिएका छन् र यो संख्या बढ्ने क्रम जारी छ ।

‘हाम्रो नेटवर्कमा आउन अनुरोध गर्ने रेष्टुराँ धेरै छन्,’ अधिकारीले भने, ‘हामीले छनोट गरेरमात्र नेटवर्कमा राख्छौं ।’

फूडमाण्डूमा जोडिन चाहने रेष्टुराँलाई उनीहरुको टोलीले निरीक्षण गर्छ । केही मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पूरा गर्ने साना र ठूला रेष्टुराँ उनीहरुको नेटवर्कमा पर्ने मापदण्ड पूरा गर्छन् ।

‘हामीले साना वा ठूला रेष्टुराँ भनेर हेर्दैनौं,’ अधिकारीले भने, ‘सबैले अवसर पाउँछन् ।’

त्यसका लागि रेष्टुराँले निश्चित शुल्क तिर्नुपर्छ । त्यो रेष्टुराँ लगानी र साना-ठूला हेरेर फरक हुने अधिकारीको भनाइ छ । त्यसरी जोडिएपछि फूडमाण्डूको नेटवर्कबाट हुने बिक्रीको केही प्रतिशत फूडमाण्डूले लिन्छ ।

आफूसँग जोडिने रेष्टुराँको डेलिभरीको लागि फूडमाण्डूले नै व्यवस्था गर्छ । यसका लागि २ सय जना डेलिभरी स्टाफ राखिएको छ । अहिले २९० कर्मचारी पुगिसकेका छन् ।

प्रत्येक वर्ष शतप्रतिशतले कारोबार बढिरहेको छ । पहिलो वर्ष दैनिक १० वटा अर्डर आउने गाह्रो हुने फूडमाण्डूमा अहिले दैनिक १४ सयदेखि २५ सय वटा अर्डर आउँछ ।

अनलाइन व्यवसाय बढ्दै जाँदा फूडमाण्डूको व्यवसायलाई पनि सकारात्मक प्रभाव परेको छ । पहिलो अर्डर गर्न ग्राहकले फोन प्रयोग गर्थे भने अहिले ९० प्रतिशतभन्दा बढी अनलाइनबाट आउँछ । त्यसमा पनि ८० प्रतिशतभन्दा धेरै मोबाइल एपबाट अर्डर आइरहेको छ ।

व्यवसाय बिस्तार बढ्दै गएको छ । यसको सम्भावना र बिस्तार गर्नुपर्ने क्षेत्र धेरै बाँकी छन् । यस्तै अवस्थमा फूडमाण्डूले केही दिनअघि डोल्मा इम्प्याक्ट फन्डबाट ४६ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउनका लागि सम्झौतासमेत गरेको छ ।

आफ्नो सञ्जाल बिस्तार तीव्र पारेको फूडमाण्डूले नयाँ लगानीलाई कसरी प्रयोग गर्ने योजना बनाएको छ ?

फुडमाण्डुका प्रबन्ध दिर्नेशक अधिकारीसँग यसको ‘फूड यात्रा’को बारमो कुरा गरेका छौं ।

अधिकारी पेशाले सफ्टवयर डेपलपर हुन् । सन् २००१ देखि नै अधिकारी सफ्टवेयर प्रोग्रामिङको काम शुरु गरेका थिए । उनले सन् २००४ मा डिटुहकेइ भन्ने आइटी कम्पनीमा काम गरे ।

सन् २००६ देखि २०१४ सम्म पनि उनले सानो टीम बनाएर बाहिरको आउटसोर्सिङको काम गरे ।

त्योबेला आइटीमा काम गर्नेहरुलाई विदेशमा राम्रो अवसर हुन्थ्यो । आइटी पढ्नेहरु प्रायः विदेश ताक्थे । अधिकारी पनि यही लहलहैमा विदेश जाने प्रयास पनि गरे । अमेरिका, युरोपमा प्रयास गरे पनि भिसा लागेन ।

‘साथीहरुको लहलहैमा विदेश जाने सोचेको थिएँ,’ अधिकारीले भने, ‘विदेश नै जानुपर्छ भन्ने ठूलो रहर भने थिएन ।’

आइटीको विभिन्न प्रोग्रामिङ, प्रोडक्टहरु डेभलप गरिरहेका अधिकारीले आफ्नै केही व्यवसाय गर्न चाहना थियो । जागिर गर्दागर्दै विभिन्न आइडियामा सोचिरहेका थिए ।

उनको डिटुहकेइको कार्यालय विशालनगरमा थियो । अफिस वरिपरी लञ्च खाने रेष्टुराँ थिएनन् । बालुवाटार चोकमै पुग्दा एक दुईवटा मात्रै थिए । सँधै एकै ठाउँ खाइरहनु पर्ने ।

त्यो समस्या उनको दिमागमा खेलिरहेको थियो । आफूले पनि भोगिरहेको यो समस्या अरुले पनि पक्कै भोगिरहेको हुनुपर्छ भन्ने उनलाई लागेको थियो ।

उनले यसैबाट आइडिया निकाले- एउटै प्लेटफर्ममा विभिन्न रेष्टुराँको खाना उपलब्ध होस् । जहाँबाट अर्डर गरेपछि आफ्नै घर, अफिसमा आइपुगोस् ।

‘यस्तो आइडियामा केही काम गर्यो भने पक्कै चल्छ होला,’ उनले अर्को साथीलाई सुनाए ।

साथीलाई पनि यो आइडिया राम्रो लाग्यो । सन् २०१० दुबै जना मिलेर कम्पनी स्थापना गर्ने निर्णय गरे ।

त्यो बेला नेपालमा फूड डेलिभरीको सुविधा थिएन । यस्तो आइडियामा बाहिर कसरी भइरहेको छ होला भनेर विभिन्न रिसर्च गर्न थाले ।

खोज्दै जाँदा उनीहरुले सोचेको जस्तो कन्सेप्टमा खासै व्यवसाय भएको भेटेनन् । रेष्टुराँ लिष्टिङ गर्ने र त्यसमा अर्डर गर्न मिल्ने खालको प्लेटफर्म युरोप अमेरिकातिर भने बनिसकेका थिए ।

विजनेस मोडल कस्तो बनायो भने राम्रो होला भनेर धेरै एक्ससाइज गरे । ग्राहकले अर्डर दिनसक्ने र आफैले लिन जाने बनाउन सकिन्छ कि भन्ने लागेको थियो । यो खासै प्रभावकारी नहुने जस्तो देखियो ।

उनीहरुले सोचे डेलिभरी, लजिष्टिकदेखि सबै काम आफै गर्ने । स्टार्टअप शुरु गर्दा त्यसको सम्भावना, आयस्रोतको मोडलको बारेमा पनि राम्रोसँग ध्यान दिनुपर्ने हुन्छ । जस्तो कि आम्दानीको स्रोत कसरी हुन्छ, शुल्क कस्तो हुने ।

उनले शुरु गर्दा स्टार्टअपलाई बाहिरबाट लगानी गर्ने सोच खासै थिएन । बाहिरी लगानी ल्याउनु असम्भव थियो । उनले आफ्नै जोगाएको पैसा, साथीसँग अलिकति मागे, परिवारबाट मागेर लगानी जुटाएका थिए ।

१० लाख रुपैयाँको लगानीमा साथीसँग मिलेर शुरु गरे- फूडमाण्डू ।

फूडमाण्डू जुन कन्सेप्टमा आएको थियो त्यसअनुसार ग्राहक र रेष्टुराँसँग सहकार्य गर्न ठूलो चूनौती थियो ।

‘व्यवसायको कन्सेप्ट बुझाउन नै गाह्रो थियो,’ मनोहर भन्छन्, ‘शुरुका वर्ष रेष्टुराँ पार्टन ल्याउन नै संघर्ष गर्नुपर्यो ।’

रेष्टुराँका लागि फूडमाण्डूको कन्सेप्ट नौलो थियो । त्योबेला रेष्टुराँलाई मेरो ग्राहक हुन, मेरैमा त आउँछन् । मैले किन नाफा बाँड्ने भन्ने कन्सेप्ट थियो ।

अर्कोतिर इन्टरनेटको पहुँच पनि कम थियो । डेटा प्रयोग कम हुन्थ्यो । सामाजिक सञ्जालको प्रयोग खासै प्रभावकारी थिएन ।

बिस्तारै रेष्टुराँलाई मनाउँदै गए । ग्राहकलाई पनि सूचित गरे । स्टार्टअप कम्पनी भएकाले धेरै लगानी थिएन । क्षमता पनि कम थियो ।

‘भोलिका दिनमा यसको व्यवसाय राम्रो हुन्छ भनेर नै मैले यसमा लागेको थिएँ,’ अधिकारी भन्छन्, ‘त्यो बेला त शुरु गर्न नै गाह्रो थियो ।’

फूडमाण्डू नेटवर्कमा रेष्टुराँ जोड्नलाई नै धेरै प्रयास गर्नुपर्यो । आफूले, साथीभाइले चिनजानेका रेष्टुराँमा जोडिन आग्रहक गरे । कलाई आफ्नो कन्सेप्टबारे बुझाए ।

कम्तीमा २५ वटा रेष्टुराँलाई नेटवर्कमा जोडेपछि सेवा शुरु गर्ने सोचमा थिए उनी । तर, २५ पुर्याउन पनि सकेनन् । केही महिनाको प्रयासपछि बल्लबल्ल १० वटा रेष्टुराँ नेटवर्कमा आउने राजी भए ।

त्यही १० वटा रेष्टुराँलाई नेटवर्कमा जोडेर फूडमाण्डूको यात्रा शुरु भयो । ती रेष्टुरेन्ट पनि खासै चलेका, नाम कमाएका थिएनन् । ठीकै खालको रेष्टुराँबाट सेवा शुरु गरे ।

वेवसाइट बनाएर काम शुरु गरे । खाना अर्डर गर्न सजिलो होस् भनेर वेवसाइटबाट सजिलो बनाएका थिए । तर, ग्राहकले भने फोनबाट धेरै अर्डर गर्थे । कतिले वेवसाइट हेरेर फोन गर्थे भने कतिले वेवसाइट नै नहेरी नै फोन गर्थे ।

‘त्यो बेला अनलाइन सपिङको कल्चर थिएन । सायद त्यही भएर पनि होला,’ उनी भन्छन् ।

उनी आफै आइटी व्यवसायकाम काम गरेको भएर पनि होला । सोचेका थिए, वेवसाइट बनेकै छ । यसको प्रयोग राम्रो नै हुन्छ ।

तर वास्तविकता सोचेभन्दा फरक भयो । त्यो बेला आउने अर्डरमध्ये १० प्रतिशतमात्र अनलाइनमा र ९० प्रतिशत फोनबाट आयो ।

अर्डर पनि एकदमै कम । पहिलो वर्ष दैनिक औषत ५ वटा मात्र अर्डर हुन्थ्यो । दोस्रो वर्ष दैनिक १५, तेस्रो वर्ष ३० वटा पुग्यो । हेर्दा दोब्बरले वृद्धि भए पनि त्यो व्यवसाय सञ्चालन गर्नको लागि पर्याप्त थिएन ।

शुरुका दिनमा कार्यालय समयमा मात्रै डेलिभरी सुविधा उपलब्ध गराएका थिए । पछि अफिसमात्र नभएर विहान बेलुका, विदाको दिनमा पनि गर्न थाले ।

सन् २०१० मा शुरु भएको व्यवसाय ५-६ वर्षसम्म टिकाउन निकै गाह्रो भयो । नेटवर्कमा रेष्टुराँ धेरै थिएनन् । अर्डरको मात्रा धेरै थिएन ।

शुरुमा रेष्टुराँको व्यवसायनै बढाउने खालको ठूलो क्षमता फूडमाण्डूसँग पनि थिएन ।

व्यवसाय राम्रो नभए पनि भविष्य राम्रो छ भन्ने अधिकारीलाई पूर्ण विश्वास थियो । उनले जसरी पनि फूडमाण्डूलाई टिकाएर राख्न चाहन्थे ।

‘५/६ वर्षसम्म त कसरी टिकाउने भन्ने नै हाम्रो ध्यान थियो,’ अधिकारी भन्छन्, ‘रकमसँगै यो लामो समय पनि यसमा लागेको अर्को ठूलो लगानी थियो ।’

सन् २०१५ मा आइपुग्दा दैनिक १०० अर्डर डेलिभरी हुनथाल्यो । यति पुगेपछि बजारमा फूडमाण्डूको बारेमा थाहा भयो । यहीबेला मोबाइल एप पनि ल्याए ।

बजारमा यो खालको व्यवसाय चल्छ भन्ने भयो । जब ग्राहकले फूडमाण्डूको सेवा मन पराउन थाले । अनलाइनबाट अर्डर आउन थाल्यो ।

यसको चर्चा धेरै भयो । त्यसपछि रेष्टुराँले आफै जोडिन थाले । त्यसपछि तीव्र गतिमा रेष्टुराँ जोडिने क्रम बढ्यो ।

त्यो सँगै सम्भावित लगानीकर्ताको पनि यसमा लगानी गर्न पाए राम्रो हुन्छ भन्ने भयो । यति विश्वास पलाइसकेपछि सन् २०१६ मा ट्रयू नर्थ भन्ने कम्पनीबाट लगानी आयो ।

सन् २०२० मा आइपुग्दा टीम भेञ्चर भन्ने कम्पनीबाट थप लगानी आयो । केही दिनअघि फूडमाण्डू र डोल्मा इम्प्याक्ट फन्डीबीच ४६ करोड रुपैयाँ लगानीको लागि सम्झौता भएको छ ।

‘नयाँ आउने लगानीले अहिलेको जुन व्यवसाय छ, त्यसैलाई थप बलियो बनाउने हो,’ अधिकारी भन्छन्, ‘त्यस्तो लगानी विभिन्न क्षेत्रमा हुेनछ ।
फूडमाण्डूले अहिले जति व्यवसाय गरेको छ त्यसलाई बढाउन सक्ने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई क्याच गर्नका लागि पनि लगानी लगानी आवश्यक भएको अधिकारी बताउँछन् ।

‘हाम्रो कोर व्यवसाय मोडालिटी परिवर्तन हुँदैन । मुख्य काम भनेको ग्राहकको ढोकासम्म खानेकुरा पुर्याउने नै हो,’ अधिकारीले भने, ‘यो सेवामा विभिन्न पक्ष जोडिएका हुन्छन् । त्यसमा लगानी गर्ने हो ।’

जस्तो कि छिटो, छरितो सेवा, नयाँ प्रविधिको प्रयोग । सेवा सञ्चालनमा चुस्तता । ग्राहकको अहिले जस्तो अनुभव गरेका छन्, त्यसमा सुधार गर्न सकिन्छ भन्ने ।

त्यस्तै मुलुकका ठूला सहरमा फूडमाण्डूले भविष्यमा सेवा बिस्तार गर्ने योजना बनाएको छ । धेरै जनसंख्या भएका ५÷७ वटा शहरमा जान सकिने अधिकारी बताउँन् ।

अहिले बजारमा फूडमाण्डू जस्तै प्रतिष्पर्धी कम्पनी थपिएका छन् । नयाँ व्यवसाय क्षेत्र भएकाले एउटा कम्पनीले मात्र यसलाई धान्न नसक्ने अधिकारीको भनाइ छ । अन्य प्रतिष्पर्धी आउँदा बजार बिस्तार अझ धेरै हुनेछ ।

प्रतिष्पर्धा बढ्दै जाँदा बजार बढ्दै जाने छ । यसले सबैलाई फाइदा नै हुनेछ तर फूडमाण्डूको लिडिङ पोजिसन भने कायम राख्न सधै प्रयास गरिरहने अधिकारीको भनाइ छ ।

फूडमाण्डको कन्सेप्ट आएको १२ वर्ष वर्ष भइसकेको छ ।

‘त्यो बेला म उद्यमशिल हुन्छु भनेर सोचले यो शुरु गरेको होइन,’ अधिकारी भन्छन्, ‘आफूलाई के मन लागेको छ । त्यसमा तल्लीन भएर काम गर्दै जाँदा अहिले त ‘आन्र्टरप्रेनर’ पो भइएछ ।’


सन्तोष न्यौपाने