कर विवादले भन्सारमा रोकिए सुन्दर यातायातका २० विद्युतीय गाडी



काठमाडौं । कर बढी तिर्नु भएपछि सुन्दर यातायात प्रालिले चीनबाट आयात गरेका २० वटा विद्युतीय बस भन्सारमा रोकिएका छन् ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार नेपालभित्र प्रवेश गरेका १८ वटा र प्रवेश नभएका २ वटा गरी २० वटा विद्युतीय बस भन्सारमै अड्किएका छन् ।

‘सरकारले विद्युतीय सवारी साधनलाई कर छुटमा सहुलियत दिने भनेको छ तर कार्यान्वयन भएको छैन, जसका कारण बस भन्सारमै अड्किएका छन्,’ उनले भने ।

हाल ५ वटा विद्युतीय बस उपत्यकामा सञ्चालन गरिरहेको कम्पनीले थप २० वटा विद्युतीय बस र २ वटा हायस आयात गर्ने तयारी गरिरहेको छ ।

थापाका अनुसार चीनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएका बसमा १३ लाख रुपैयाँ अतिरिक्त कर बुझाउनु परेको छ ।

थापाका अनुसार यसअघि ३.५ प्रतिशत सडक दस्तुर लिनुपर्नेमा ५ प्रतिशत, ०.५ प्रतिशत भन्सार शुल्क हुनुपर्नेमा १ प्रतिशत शुल्क लिने भनेको छ । साथै यसअघि १.५ प्रतिशत बीमा गरे हुनुपर्नेमा अहिले त्यसलाई बढाएर ३.५ प्रतिशत बनाइएको छ ।

‘सरकारले विद्युतीय सवारी साधनमा सहुलियत दिने भनेको छ तर कार्यान्वयन नहुँदा हामीलाई १३ लाख रुपैयाँ अतिरिक्त पर्ने भयो, त्यो तिर्न सक्ने अवस्था भएन,’ उनले भने ।

उनका अनुसार सरकारले छुट नदिँदा २३ देखि २४ प्रतिशत थप कर लाग्ने अवस्था आएको छ ।

कम्पनीका अनुसार कुल कर वापत २६ लाख रुपैयाँ हुनुपर्नेमा त्यसलाई बढाएर प्रतिबस ४१ लाख रुपैयाँ बनाइएको छ । साथै प्रदेशमा दर्ता गर्दा प्रतिबस ४० हजार रुपैयाँ बुझाउनुपर्छ ।

१०० वटा विद्युतीय बस आयात गर्दै कम्पनी
आफ्नै चार्जिङ स्टेशन निर्माण गरी ५ वटा विद्युतीय बसबाट सेवा शुरु गरेको कम्पनीले आगामी दिनमा १०० वटा विद्युतीय बस ल्याउने तयारी गरेको छ । सोही नीति अनुसार कम्पनीले पहिलो चरणमा २० वटा विद्युतीय बस ल्याएको हो ।

थापाका अनुसार सरकारले विद्युतीय बसमा कर छुट हुने हो भने अर्को ४५ दिनमा थप ४० वटा गाडी ल्याउन सकिन्छ । तेस्रो चरणमा बाँकी बस आयात गरी कुल १०७ वटा विद्युतीय बस सञ्चालन गर्ने तयारी कम्पनीको छ ।

एउटा बसबाट दैनिक १४ हजार आम्दानी
कम्पनीले हाल ५ वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । थापका अनुसार एउटा बसले दैनिक ५ देखि ६ पटकसम्म चक्रपथ परिक्रममा गर्न सक्छन् । जसका लागि कम्पनीले ७३५ रुपैयाँ चार्जिङ शुल्क र जनशक्तिलाई थप ७ सय गरी दैनिक १४ सय रुपैयाँ हाराहारीमा खर्च हुन्छ ।

विद्युतीय बस एकपटक फूल चार्ज गरेपछि ६ पटक चक्रपथ परिकर्मा गर्दा ७० प्रतिशत विद्युत् खपत हुन्छ । जसबाट दैनिक एउटा बसबाट १४ हजारका दरले नाफा कमाइरहेको छ ।


क्लिकमान्डु