सञ्चालकका लागि कुन बैंकले कति खर्च गर्छन् ?



काठमाडौं । वाणिज्य बैंकहरुले सञ्चालकले तलब पाउँदैनन् । तर उनीहरुले भत्ताका नाममा करोडौ रुपैयाँ भने खर्च गर्ने गरेका छन् ।

हरेक बैंकले अध्यक्ष र सञ्चालक समितिका सदस्यलाई बैठक अनुसार भत्ताका साथै मासिक रुपमा पत्रपत्रिका, टेलिफोन, इन्टरनेट सेवाका लागि भन्दै पैसा छुट्याउने गरेका छन् ।

त्यसका लागि करोडभन्दा बढी खर्च हुने गरेको छ । कतिपय बैंकले अध्यक्ष र सञ्चलकलाई इन्धन पनि दिने गरेको छन् । कतिपय बैंकले १५ हजार रुपैयाँसम्मको मोबाइल फिर्ता गर्न नपर्ने गरी दिने गरेको छ । बैंकबाट बैठक भत्ता लिएपनि उक्त रकमको आयकर ऐन अनुसार कर भने तिर्नुपर्छ ।

कुन बैंकले कति दियो भत्ता ?
गत आर्थिक वर्षको बैठक भत्तामा सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)ले खर्च गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्थामा बैंकले अध्यक्ष तथा सञ्चालकलाई १ करोड १६ लाख ८९ हजार ५०१ रुपैयाँ भत्ता दिएको छ । यो रकम भत्ताका साथै अन्य खर्चहरु पनि हो ।

बैंकले बैठक भत्ता मात्रै ७५ लाख २ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य खर्च ४१ लाख ८७ हजार ५०१ रुपैयाँ रहेको छ । धेरै बैंकहरुले बैठक भत्ता मात्रै देखाउने गरेका छन् । अन्य खर्च देखाएका छैनन् ।

एनसीसी बैंकले अध्यक्षलाई प्रतिबैठक १६ हजार र सञ्चालकलाई १४ हजार रुपैयाँ भत्ता दिएको छ ।

यस्तै सानिमा बैंकले अध्यक्ष र सञ्चालकलाई आव २०७७/७८ मा भत्ता बापत जम्मा ३६ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरिएको छ । उपरोक्त भत्ता तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेको छ ।

बैंकले संचालक समितिका अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार र सञ्चालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ उपलब्ध गराएको छ । सो बाहेक अध्यक्ष तथा सञ्चालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेटआदि सेवाका नाममा प्रतिसदस्य मासिक १२ हजार उपलब्ध गराउने गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भत्तास्वरुप एक वर्षमा अध्यक्ष र सञ्चालकलाई २६ लाख ७२ हजार रुपैयाँ दिएको छ । अध्यक्षले प्रतिबैठक १५ हजार र सदस्यले १२ हजार रुपैयाँ लिएका छन् । अध्यक्ष र सञ्चालकले मासिक ५० लिटर इन्धन पाएका छन् ।

लक्ष्मी बैंकले एक वर्षमा अध्यक्ष र सञ्चालकलाई भत्तावापत कति रकम दिएको भनेर उल्लेख गरेको छैन । तर अध्यक्षले प्रतिबैठक १२ हजार र सञ्चालकले १० हजार भत्ता लिएका छन् । यसबाहेक प्रतिमहिना मोबाइल फोन खर्च भनेर २ हजार दिने गरेको छ ।

हिमालयन बैंकले अध्यक्ष र सञ्चालकलाई भत्ता बापत ४९ लाख ९२ हजार १०६ रुपैयाँ दिएको छ । त्यो बाहेक सञ्चालकहरुका लागि २ लाखको औषधि उपचार बीमा र ३० लाखको दुर्घटना बीमा गरिदिएको छ ।

कृषि विकास बैंकले सञ्चालक समितिका अध्यक्ष र सदस्यलाई ९ लाख ३८ हजार २०० रुपैयाँ खर्च गरेको छ । बैंकले गत आवमा ७३ वटा बैठक गरेको छ । प्रतिबैठक भत्ता ४ हजार रुपैयाँ रहेको छ ।

प्रतिमहिना टेलिफोन सुविधा वापत २ हजार ५ सय, प्रति महिना पत्रपत्रिका वापत २ हजार, एकपटक १ थान मोवाईल सेट अधिकतम १५ हजार रुपैयाँ सम्मको (फिर्ता गर्न नपर्ने)े, बैठकमा आतेजाते सवारी साधन र नीजि सवारी साधन प्रयोग गरेमा मासिक २० लिटर इन्धन दिएको छ ।

गत आवमा नेपाल बंगलादेश बैंकले १३ लाख ५० हजार, मेगा बैंकले ६२ लाख ५८ हजार ३०० रुपैयाँ भत्ता र मोबाइल पत्रपत्रिका खर्च बापत १० लाख ८ हजार रुपैयाँसहित ७२ लाख ६६ हजार ३०० रुपैयाँ खर्च गरेको छ ।

प्राइम बैंकले पनि भत्तावापत ३४ लाख ३५ हजार रुपैयाँ भत्ता बापत र टेलिफोन, मोबाइल, पत्रपत्रिका तथा अन्य खर्चवापत १४ लाख ६० हजार १० रुपैयाँ सहित ४८ लाख ९५ हजार १० रुपैयाँ खर्च गरेको छ ।

सेञ्चुरी बैंकले २७ लाख ४४ हजार, कुमारी बैंकले ३५ लाख ८ हजार ६५३ रुपैयाँ, माछापुच्छ«े बैंकले ३२ लाख ७३ हजार ५७४ रुपैयाँ, सबैभन्दा कम सिभिल बैंकको ३ लाख १६ हजार रुपैयाँ खर्च गरेका छन् ।

यस्तै सिद्धार्थ बैंकले ४८ लाख ८८ हजार २९४ रुपैयाँ, सिटिजन्स बैंके ३४ लाख ९९ हजार, एनएमबी बैंकले १९ लाख ३८ हजार, सनराइजले ३० लाख ४४ हजार, ग्लोबलले २८ लाख १८ हजार, प्रभुले ४३ लाख ६१ हजार, नबिलले ४१ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ९ लाख ५० हजार, एभरेष्ट बैंकले १६ लाख ९५ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकले ६ लाख ७२ हजार रुपैयाँ अध्यक्ष र सञ्चालकलाई बैठकवापत भत्ता दिएको छ ।

नेपाल बैंकले भत्तावपात २६ लाख ५४ हजार ६२७ रुपैयाँ दिएको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्तावापत प्रतिबैठक ४ हजार प्रदान गर्ने गरिएको छ । आव २०७७/७८ मा बैठक भत्तावापत सञ्चालकहरूलाइ १९ लाख ९ हजार ६ सय र बैंक व्यवस्थापन तथा विज्ञहरूलाई ७ लाख ४५ हजार २७ रुपैयाँ खर्च भएको छ ।

सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई बैठक भत्ता वाहेक पत्रपत्रिका खर्चवापत मासिक २ हजार र सञ्चार सुविधावापत बढीमा मासिक ५ हजार र एक सेट मोबाइल फोन खरिदका क्रममा भएको बिलको रकम खर्च प्रदान गर्ने गरिएको छ । त्यस्तै, कार्यालयको सवारी साधन प्रयोग नगरेको खण्डमा प्रतिबैठक २ सय रुपैयाँ परिवहन खर्च प्रदान गर्ने गरिएको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकका महंगा अध्यक्ष तथा सञ्चालक
सबैभन्दा महंगा अध्यक्ष स्टयान्डर्ड चार्टर्ड बैंककी जरिन दारुवाला छिन् । बैंकले अध्यक्षलाई प्रतिबैठक २२ हजार ५ सय रुपैयाँ भत्ता दिने गरेको छ भने सञ्चालक समितिका सदस्यलाई २१ हजार दिने गरेको छ ।

दोस्रो महंगोमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल रहेका छन् । उनले प्रतिबैठक २० हजार भत्ता लिने गरेका छन् । साथै सञ्चालकले १५ हजार लिने गरेका छन् । अध्यक्ष र सञ्चालकको भत्तामा धेरै अन्तर यो बैंकको मात्रै रहेको छ । एनएमबि बैंकले अध्यक्षलाई १८ हजार, सञ्चालकलाई १६ हजार, ग्लोबल आईएमई बैंकले अध्यक्षलाई १७ हजार र सञ्चालकलाई १५ हजार दिने गरेको छ ।

बंगलादेश बैंकले अध्यक्षलाई १६ र सञ्चालकलाई १४ हजार, सेञ्चुरी बैंकले १५ हजार अध्यक्ष र १४ हजार सञ्चालकलाई दिएको छ । कुमारी बैंकले अध्यक्षलाई १२ हजार, सञ्चालकलाई १० हजार, सिभिल बैंकले अध्यक्ष्यलाई १६ हजार र सदस्यलाई १३ हजार, एनसीसी बैंकले अध्यक्षलाई १६ हजार र सञ्चालकलाई १४ हजार, प्रभु बैंकले अध्यक्षलाई १२ हजार र सञ्चालकलाई १० हजार, एसबीआई बैंकले १२ हजार ५ सय अध्यक्ष र सञ्चालकलाई १९ हजार दिएको छ ।


क्लिकमान्डु