कृषि बीमामा पशुपन्छी बीमाको अंश बढी, प्राविधिकको अभावमा भएन आकर्षण



काठमाडौं । कृषि बीमाअन्तर्गत पशुपन्छी बीमाको हिस्सा बढी देखिएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार कृषि तथा पशुपन्छी बीमाअन्तर्गत पशुपन्छी बीमाको अंश ९२.८४ प्रतिशत रहेको छ ।

बीमा समितिको तथ्याङ्कअनुसार आठ आर्थिक वर्षमा बाली तथा पशुपन्छी बीमाअन्तर्गत पशुपन्छी बीमाको बजार हिस्सा यस्तो देखिएको हो ।

निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाअन्तर्गत पशुपन्छी, तरकारी, आलु, बाली, माछा, धानलगायत बीमालेख जारी गर्दै आइरहेका छन् ।

तर, समितिले सञ्चालनमा ल्याएका उक्त बीमालेखहरूमध्ये पशुपन्छी बीमाको व्यवसाय बढी भएको बीमा समितिको तथ्याङ्कले देखाएको छ ।

बीमा समितिका अनुसार प्राविधिक रूपमा पशुपन्छी बीमाको प्रक्रिया सहज भएकाले पशुपन्छी बीमामा आकर्षण बढेको हो । जस कारणले गर्दा कृषि बीमामा भन्दा पशुपन्छी बीमा बढी हुने गरेको हो ।

नेपालमा कृषि बीमाका लागि प्राविधिकको अभाव रहँदा यस बीमाप्रति कृषकको आकर्षण पनि बढ्न नसकेको समितिको भनाइ छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राविधिकको अभाव रहँदा कृषि बीमा कम हुने गरेको बताए । उनका अनुसार कृषि बीमा गर्नका लागि समितिसँग पर्याप्त प्राविधिक छैनन् ।

‘हामीकहाँ प्राविधिकको अभाव छ । प्राविधिक नै छैनन्,’ पौडेलले क्लिकमाण्डूसँग भने,‘बजारमा दक्ष प्राविधिकको लागि कृषि मन्त्रालय र पशुपन्छी मन्त्रालयलले पनि पहल गर्नुपर्छ।’

उनका अनुसार कृषि बीमा गर्नका लागि प्राविधिक नै मूख्य हुन्छन् । कृषि बीमामा मूख्य भूमिका निर्वाह गर्ने प्राविधिक नहुँदा नै कृषि बीमा बढ्न नसकेको हो ।

कृषि बीमा गर्नका लागि चाहिने प्राविधिक उत्पादन गर्नका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले सहयोग गर्नु पर्ने कुरामा उनको जोड छ ।

आठ वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ५ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

जसमा पशुपन्छी बीमाबाट कम्पनीहरुले ५ अर्ब १६ करोड ४३ लाख रुपैयाँ संकलन गरेका छन् । भने कृषि बीमाबाट ३९ करोड ८४ लाख रुपैयाँ संकलन गरेका छन् ।

कम्पनीहरुले आर्थिक वर्ष २०७०÷०७१ मा कृषि तथा पशुपन्छी बीमाबाट ३ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त आवमा पशुपन्छी बीमाबाट ३ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन हुँदा कृषि बीमाबाट ८ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन भएको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा १६ करोड १० लाख रुपैयाँ संकलन भएको थियो । जसमा पशुपन्छी बीमाबाट मात्रै १५ करोड २६ लाख रुपैयाँ संकलन भएको थियो । भने कृषि बीमाबाट ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

आव २०७२/७३ मा २७ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । जसमा पशुपन्छी बीमाबाट २५ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन हुँदा कृषि बीमाबाट २ करोड १६ लाख रुपैयाँ संकलन भएको थियो ।

आथिर्क वर्ष २०७३/७४ मा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ४२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । जसमा पशुपन्छी बीमाबाट ३९ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन संकलन हुँदा ३ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ ।

आव २०७४÷७५ आवमा ५७ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क उठाउन सफल भएका थिए । सो अवधिमा पशुपन्छी बीमाबाट ५४ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । भने कृषि बीमाबाट २ करोड ९८ लाख रुपैयाँ मात्रै संकलन भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त आवमा पशुपन्छी बीमाबाट ९३ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन हुँदा कृषि बीमाबाट ६ करोड ४९ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन भएको थियो ।

कम्पनीले आव २०७६/७७ मा एक अर्ब १८ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सो आवमा पशुपन्छी बीमाबाट ९ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । भने कृषि बीमाबाट ८ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

यस्तै गत आवमा कम्पनीहरुले एक अर्ब ९० करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा कम्पनीहरुले गत आवमा एक अर्ब ७५ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए भने कृषि बीमाबाट १५ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।


क्लिकमान्डु