वैदेशिक रोजगारमा जाने कामदारले परिवारको स्वास्थ्य बीमा गर्नुपर्ने



काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुले अनिवार्यरुपमा परिवारको स्वास्थ्य बीमा गराउनुपर्ने भएको छ ।

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारमा जाने कामदारहरुले अनिवार्यरुपमा आफ्नो परिवारको स्वास्थ्य बीमा गराएर मात्रै विदेश जानु पर्नेछ ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सम्बन्धित व्यक्तिले आफू नजिकको दर्ता सहयोगी वा अनलाइन माध्यमबाट पनि आवद्ध हुन सक्नेछन् ।

स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८ जारी गरेको छ । उक्त कार्यविधि यसै महिनादेखि कार्यान्वयनमा आउने भएको हो ।

बोर्डका सूचना अधिकारी सोभित रिजालले उक्त कार्यक्रम लागू गर्ने प्रक्रिया अन्तिम चरण पुगेको जानकारी दिए । उनका अनुसार माघ महिनाभित्रै उक्त कार्यक्रम लागू हुने छ ।

उक्त कार्यक्रम सहजीकरण गर्नका लागि बोर्डले सातै प्रदेशका प्रदेश संयोजक, प्रदेश शाखा कार्यालय र जिल्ला संयोजक, सम्पर्क शाखा कार्यालयलाई निर्देशन समेत दिएको छ ।

बोर्डले श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागसँगको समन्वयनमा उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने भएको हो ।

नेपालको संविधानको धारा (५१) को उपधारा ज(१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ भनी उल्लेख भए बमोजिम समेतको कार्यान्वयनका लागि बीमा ऐन, २०७४ को दफा(३) को उपदफा(५) मा ‘वैदेशिक रोजगारमा जाने कामदारको लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने छ,’ उल्लेख छ ।

बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने प्रावधानलाई कार्यान्वयन गर्न आवश्यक भएकाले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ४१ अनुसार वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८ जारी गरेको हो ।

कार्यविधि अनुसार वैदेशिक रोजगारमा जाने प्रत्येक व्यक्तिले वैदेशिक रोजगारमा जाने अनुमति लिँदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचय पत्र पेश गर्नुुपर्ने छ ।

यसका साथै वैदेशिक रोजगारमा जाने प्रयोजनको लागि स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृती दिने कार्यालयहरुमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता हुने व्यवस्था मिलाइने छ ।

कार्यविधिअनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारको बीमालेख नविकरण बीमालेखको म्याद समाप्त हुनु एक महिना अगावै गर्नुपर्ने छ ।

अनलाइन वा दर्ता सहयोगीमार्फत नै नविकरण गर्न सकिने छ ।

समन्वय समिति गठन गर्न सकिने

यस कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कार्यविधिले समन्वय समिति गठन गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने विषयमा प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्ने कार्यमा बोर्डले दर्ता सहयोगी, दर्ता अधिकारी र प्रदेश स्तरमा रहने स्वास्थ्य बीमा बोर्डको कार्यालयले प्रदेश वा स्थानीय तहसँग समन्वय गर्ने छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने परिवारलाई सेवा सहुलियत दिने, बीमाको नविकरण गर्ने लगाएतका विषयमा आवश्यक नीतिगत सुझाव दिन, समस्या समाधान गर्न, बीमामा आवद्ध हुने प्रक्रिया सरलीकरण गर्ने जस्ता विषयमा समन्वय गर्न एक समन्वय समिति गठन गर्न सकिने छ ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको संयोजकत्वमा श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि रहने गरी बोर्डले एक समन्वय समिति गठन गर्न सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।

के के पाउँछन् सुविधा ?

यस कार्यक्रममा आवद्ध भएका बीमितले बोर्डको नियमावलीले तोके बमोजिममको सुविधा पाउनेछन् ।

वैशाखदेखि असार महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको भदौ एक गतेदेखि, साउनदेखि असोज महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको मंसिर एक गतेदेखि सूविधा लागू हुने छ ।

यस्तै, बोर्डका अनुसार कात्तिकदेखि पुस महिनासम्म दर्ता वा नवीकरण भएमा सोही वर्षको फागुन एक गतेदेखि र माघदेखि चैत महिनासम्म दर्ता वा नविरकण भएमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लागू हुने छ ।

पाँच जनासम्मको सदस्य रहेको परिवारका लागि प्रति परिवार प्रति वर्ष एक लाख रुपैयाँसम्म, पाँच जना भन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रति सदस्य थप बीस हजार रुपैयाँका दरले प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँसम्मको सेवा सूविधा पाउनेछन् ।


क्लिकमान्डु