तरलता अभावकाबीच ६ महिनामा करिब ४ लाख घरजग्गा किनबेच, उपत्यकामा मात्रै ५३ हजार



काठमाडौं । कोभिडकै समयमा घरजग्गा कारोबारमा उछाल आएको छ । कोरोनाभन्दा अघिको तुलनामा उच्च रुपमा कारोबार हुँदै आएको घरजग्गा किनबेच हालसम्म पनि कायमै छ ।

कोरोनासँगै बजारमा तरलताको अभाव हुँदासमेत घरजग्गा कारोबार कुनै असर देखिएको छैन । कोरोनाले उच्च विन्दुमा पु¥याएको घरजग्गाको कारणले अधिकांश स्थानको जग्गाको मूल्य निकै आकासिएको छ ।

विगतको दिनमा मासिक ६० हजारको हाराहारीमा घरजग्गाको किनबेच हुँदै आएकोमा अहिले मासिक ७० हजारभन्दा बढी किनबेच हुँदै आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा देशभरका मालपोत कार्यालयबाट १० लाख बढी सेवा प्रवाह भएको छ ।

त्यस्तै, ६ महिनाको अवधिमा करिब ४ लाखको हाराहारीमा घरजग्गा किनबेच भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार ६ महिनाको अवधिमा ३ लाख ९४ हजार ३ सय ९७ घरजग्गा किनबेच भएको देखाउँदछ ।

चालु आवको पहिलो महिनामा ७५ हजार ४ सय १७ वटा, भदौमा ७० हजार ९० वटा, असोजमा ५९ हजार २ सय २७ वटा र कात्तिकमा ५० हजार ८३ घरजग्गाको लिखित पारित भएको थियो । असोज र कात्तिकमा चाडपर्वका कारण कारोबार कम भएको थियो ।

तर, मंसिरपश्चात भने घरजग्गा किनबेचले लय समातेको छ । उक्त समयमा तरलताको अभाव देखिएको थियो । तर, तरलताको अभाव हुँदासमेत यस क्षेत्रमा कुनै असर देखिँदैन ।

त्यस्तै, मंसिरमा ६९ हजार ४ सय १२ र पुसमा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको छ ।

उपत्यकाबाट मात्रै ५३ हजार घरजग्गा किनबेच

त्यस्तै, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै ५३ हजार बढी घरजग्गा किनबेच भएको छ । उपत्यकामा रहेको ९ वटा मालपोत कार्यालयबाट ६ महिनाको अवधिमा ५३ हजार ३ सय ८९ घरजग्गा किनबेच भएको विभागको तथ्याङ्क छ ।

उपत्यकामा तीन वटा जिल्लाबाट साउनमा १० हजार १५० वटा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, भदौमा ९ हजार २५९, असोजमा ९ हजार १६१, कात्तिकमा ७० हजार ५६, मंसिरमा ९ हजार ३७६ र पुसमा ८ हजार ३८७ घरजग्गा किनबेच भएको देखिन्छ ।

४३ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा विभागले ४३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त संकलित राजस्व हालसम्मकै उच्च हो । विभागले यसअघि ६ महिनाको अवधिको उक्त रकम बराबरको राजस्व संकलन गर्न सकेको थिएन । तर, उच्च रुपमा घरजग्गा कारोबार हुँदा राजस्व पनि सोहीअनुसार संकलन भएको विभागको भनाइ छ ।

देशभरको मालपोत कार्यालयबाट साउनमा ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ, भदौमा ८ अर्ब २६ करोड १७ लाख रुपैयाँ, असोजमा ७ अर्ब ३३ करोड २ लाख रुपैयाँ, कात्तिकमा ५ अबए ४९ करोड ५१ लाख रुपैयाँ, मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

साढे ३ अर्ब बढी छुट

विभागले ६ महिनाको अवधिमा साढे ३ अर्ब बढी राजस्व छुट दिएको तथ्याङ्कले देखाउँदछ । विभागले ‘प्रदेश आर्थिक ऐन २०७८’ अन्तर्गत कर छुटको व्यवस्थाले विभिन्न क्षेत्रमा छुटको व्यवस्था रहेकाले ६ महिनाको अवधिमा ३ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ राजस्व छुट दिएको हो ।

सरकारले जनआन्दोलन पहिलो, दोस्रो, जनयुद्ध र मधेश आन्दोलनमा सहादत प्राप्त गरेकका सहिदका आश्रित पति,पत्नी, छोरा र छोरी तथा मातापितको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रुपमा छुट दिने व्यवस्था छ ।

त्यस्तै, अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका तथा अल्पसंङ्ख्यक, सीमान्तकृत, जाति भनी स्थानीय तहबाट भएको सिफरिस वा आधिकारिक प्रमाणका आधारमा तिनिहरूको नामा स्वामित्व प्राप्त गरिने घरजग्गा रजिष्ट्रशन शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था छ ।

साथै, महिला, ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारका स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा लगाइएको रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत र एकल महिलाको हकमा ३५ प्रतिशत छुटको व्यवस्था छ ।

त्यसैगरी, गाउँपालिका क्षेत्रभित्रको जग्गामा महिलाको नाममा जुनसुकै स्वामित्व प्राप्त गरी लिखत पारित भएकमा ३५ प्रतिशत र रसुवा, धादिङ, सिन्धुपाल्चोक र दोलखाका सिमित गाविसमा महिलाको नाममा जग्गा पास गरेमा ५० प्रतिशत छुटको व्यवस्था छ ।

उक्त विभिन्न क्षेत्रका मानिसको हकमा घरजग्गा लिखत पारित भएमा २५ प्रतिशतदेखि ५० प्रतिशसम्म छुटको व्यवस्था छ ।


क्लिकमान्डु