बीमालेख धितोमा कर्जा: बैंकको भन्दा बढी ब्याज असुल्दै बीमा कम्पनी



काठमाडौँ । बीमा कम्पनीहरुले बीमालेख धितोमा कर्जा प्रवाह गर्दा बैंकको भन्दा बढी ब्याज लिने गरेका छन् ।

बीमा समितिले बीमालेख धितो कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरूले भने बैंकको भन्दा बढी ब्याज लिँदै आएका हुन् ।

अहिले बजारमा वाणिज्य बैंकको ब्याजदर १० प्रतिशतको हाराहारीमा छ ।

तर, बीमा कम्पनीहरूले बीमितलाई बीमालेख धितोमा कर्जा प्रवाह गर्दा १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका हुन् ।

सञ्चालमा रहेका चार जीवन बीमा कम्पनीले भने १० प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा प्रवाह गरेका हुन् ।

कम्पनीहरुले १२ प्रतिशतसम्म ब्याजदर लिने गरेका हुन् । अमेरिकन लाइफ इन्स्योरेन्स(मेट लाइफ), गुराँस लाइफ, एशियन लाइफ र राष्ट्रिय बीमा संस्थानले १० प्रतिशतभन्दा बढी ब्याज लिएका हुन् ।

यी कम्पनीमध्ये पनि मेट लाइफ इन्स्योरेन्सले १२ प्रतिशतसम्म ब्याज दर लिने गरेको छ । कम्पनीका सूचना अधिकारी राम कुमार यादवले बीमालेख धितोमा राखि कर्जा लिदा वार्षिक १२ प्रतिशत ब्याज दर लिने गरेको जानकारी दिए ।

एशियन लाइफ र राष्ट्रिय बीमा संस्थानले भने ११ प्रतिशतसम्म ब्याज लिने गरेका छन् ।

अन्य कम्पनीले भने बीमितलाई बीमालेख धितोमा राखेर कर्जा प्रवाह गर्दा १० प्रतिशत ब्याजदर लिने गरेका छन् ।

बीमा कम्पनीहरुले बीमालेख धितोमा राखि कर्जा प्रवाह गर्दा लिने ब्याजदरका बारेमा बीमा समितिको जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ ले व्यवस्था गरेको छ ।

उक्त निर्देशिकाले ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी र बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सक्ने व्यवस्था छ ।

बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन् ।

बीमालेख बाहेक अन्य धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट मुक्त पनि मानिन्छ ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

समितिले गत असारमा नयाँ निर्देशिका जारी गर्दै बीमालेख धितो राखी प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । यस अघि बीमितिले दुई किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो ।

निर्देशिका अनुसार बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

साथै, एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था बीमा समितिद्वारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुबाट बीमितले बीमालेख धितो राखी ५४ अर्ब २२ करोड रुपैयाँ कर्जा लिएका छन् ।


क्लिकमान्डु