पुँजी वृद्धिको भारले घट्यो वाणिज्य बैंकको लाभांश, ५ वर्षमा औषत ९ प्रतिशतले लाग्यो ओरालो



काठमाडौं । सेयर लगानीकर्ताका लागि सुरक्षित र भरपर्दो क्षेत्र मानिने वाणिज्य बैंकहरुले दिने लाभांशमा संचुकन आउन थालेको छ । कुनै समय औसतमा २३ प्रतिशतसम्म लाभांश दिने वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा १४ प्रतिशतमा सीमित हुनु परेको छ ।

पछिल्लो ९ वर्षको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुको औसत लाभांशको ग्राफ हेर्ने हो भने ओरालो यात्रामा छ । आजभन्दा ९ वर्षअघि न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी अहिले न्यूनतम ८ अर्ब रुपैयाँ पुगेको छ । लाभांश घट्दै जानुमा पुँजी वृद्धिको असर भएको निष्कर्ष बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले निकालेको छ ।

आर्थिक वर्ष २०६९/७० मा बैंकहरुको औषतमा लाभांश दर १७.६४ प्रतिशत रहेको थियो । उक्त आवमा नबिल बैंकले सबैभन्दा धेरै ६५ प्रतिशत, एभरेष्ट बैंकले ६०.६३ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ५० प्रतिशत लाभांश दिएका दिए । सबैभन्दा कम मेगा बैंकको एकल अंकमा अर्थात् ९ प्रतिशत रहेको थियो ।

आव २०७०/७१ मा वाणिज्य बैंकहरुको औषत लाभांश दर बढेर ५ प्रतिशत विन्दुले बढेर २२.७५ प्रतिशत पुग्यो । उक्त आवमा धेरै लाभांश दिनेमा नबिल बैंकको ६५ प्रतिशत, एभरेष्ट बैंकको ६२ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकले ५१.५ प्रतिशत लाभांश दिएका थिए । सोही अवधिमा सिभिल बैंक र सेञ्चुरी बैंकको लाभांश एकल अंकमा अर्थात ८.५ प्रतिशत र ९.४७ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७१/७२ मा वाणिज्य बैंकको औषत लाभांश अघिल्लो आवको तुलनामा घटेर १९.७९ प्रतिशतमा सीमित भयो । उक्त आवमा बैंकको लाभांश सबैभन्दा बढी स्टयान्डर्ड चार्टर्ड बैंकको ४४.२१ प्रतिशत थियो । त्यसअघिका वर्षमा धेरै लाभांश दिएका नबिल, एभरेष्ट बैंकको लाभांश दर घट्दा औसत लाभांशमा संकुचन आएको थियो । सोही अवधिमा नबिल ३६.८४ प्रतिशत रहेको थियो भने एभरेष्ट बैंकको ३६.५७ प्रतिशत रहेको थियो । यस्तै हिमालयन बैंकको लाभांश बढेर ४२.१ प्रतिशत पुगेको थियो । सोही अवधिमा एकल अंकमा लाभांश दिनेमा सिभिल र एनएमबि बैंक थिए ।

तत्कालीन समयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब पुर्याउने नीति अबलम्बन गरे । २०७२ साउन ७ गते राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकको पुँजी २ बाट बढाएर ८ अर्ब पुर्याउने नीति लियो ।

आव २०७१/७२ को तुलनामा आव २०७२/७३ मा औषत लाभांशमा केही सुधार भएर लाभांश २३.२५ प्रतिशतसम्म पुग्यो । तर चुक्ता पुँजी बढाउने निर्णय भएयता वाणिज्य बैंकको औषत लाभांश घट्दै गएको छ । उक्त आवमा लाभांश दिने बैंकमा सबैभन्दा बढी एभरेष्ट बैंकको ७० प्रतिशत रहेको थियो । एभरेष्टपछि नबिलको ४५, नेपाल इन्भेष्टमेन्ट बैंकको ४१ प्रतिशत रहेको छ । उक्त आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घटेर ३५.०८ प्रतिशत रहेको थियो । उक्त आवमा सबै कम्पनीको लाभांश दोहोरो अंकमा नै रहेको थियो ।

राष्ट्र बैंकको मौद्रिक नीतिपछि बैंकहरुले पुँजी बढाउन धमाधम हकप्रद सेयर निष्काशन गर्न थाले । आव २०७३/७४ मा सबैभन्दा बढी लाभांश स्ट्यान्डर्ड चार्टर्ड बैंकले १०५.२६ प्रतिशत लाभांश दिएको थियो । बैंकिङ इतिहासमा ३ अंकको लाभांश यो नै पहिलो हो । यस्तै नबिल बैंकले ४८ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत, एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा बैंकहरुको औषत ब्याजदर २०.६२ प्रतिशत रहेको थियो । त्यसयता बैंकहरुको औषत लाभांश दर २० प्रतिशत कटेको छैन ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकहरुको लाभांश औषतमा १४.८८ प्रतिशत रहेको थियो । उक्त आवमा धेरै बैंकको लाभांश घटेको थियो । पुँजी वृद्धिको असर बैंकको लाभांशमा देखिएको छ । उक्त आवमा सबैभन्दा बढी लाभांश नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत, नबिल बैंकको ३४ प्रतिशत, एनएमबि बैंकको ३० प्रतिशत, बैंक अफ काठमाडौंको २५ प्रतिशत, एभरेष्ट बैंकको २० प्रतिशत रहेको थियो ।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकको औषत लाभांश दर १९ प्रतिशत रहेको थियो । उक्त आवमा भने केही बढेको देखिएको छ । उक्त आवमा बैंकको औषत लाभांश दर बढ्न सबै बैंकको लाभांश आएर पनि हो । त्यसअघिका आवमा नेपाल, प्रभु बैंकको लाभांश रहेको थिएन । उक्त आवमा सबैभन्दा बढी लाभांश नबिल बैंकको ३४ प्रतिशत, कृषि विकास बैंकको ३० प्रतिशत, नेपाल बैंकको २५ प्रतिशत, सिद्धार्थ बैंकको २५.२६ प्रतिशत रहेको थियो ।

यस्तै आव २०७६/७७ मा वाणिज्य बैंकहरुको औषत ब्याजदर १३.९६ प्रतिशत रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा भने लाभांशमा केही सुधार देखिएको छ । गत आवमा बैंकहरुको ब्याजदर अघिल्लोको तुलनामा थोरै बढेर १४.०४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा सबैभन्दा बढी लाभांश ३५.२६ प्रतिशत रहेको थियो । कुनै बेला ७० प्रतिशतसम्म लाभांश दिएको एभरेष्ट बैंकले उक्त आवमा १०.५३ प्रतिशत लाभांश दिएको छ । कुनै आवमा १०५.२६ प्रतिशतसम्म लाभांश दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत मात्रै लाभांश दिएको छ ।

यस्तै आव २०७७/७८ मा बैंकहरुको लाभांश औषतमा १४.०४ प्रतिशत रहेको छ । उक्त आवमा बैंकको सबैभन्दा बढी लाभांश नबिल बैंकको ३८ प्रतिशत रहेको छ । दोस्रोमा रहेको हिमालयन बैंकको २६ प्रतिशत रहेको थियो । कृषि विकास बैंकको लाभांश २१.०५ प्रतिशत रहेको छ भने सिभिल, कुमारी, सेन्चुरी, नेपाल एसबीआई, सनराइज बैंकको लाभांश एकल अंकमा रहेको छ ।

पछिल्लो समय लाभांश घट्दा बैंकहरु पनि चिन्तित बनेका छन् । पुँजी बढेका कारण पनि लाभांश दर घटेको बैंकहरुको बुझाइ रहेको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसीले केही वर्षयता बैैंंकको लाभांश घट्नुमा पुँजी बढेको तथा व्यवसाय बिस्तारमा बढी रकम प्रवाह हुँदा त्यसको प्रभाव लाभांशमा देखिएको बताए ।

‘बैंकको पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ र अहिले ८ अर्ब रुपैयाँबाट १८ अर्ब रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘जसले गर्दा वाणिज्य बैंकको लाभांश खुम्चिँदै गएको छ ।’

अहिले बैंकहरुले नाफा धेरै कमाएको जस्तो देखिए पनि रिटर्न अफ इक्विटी (आरओई)भने घटिरहेको छ । आजभन्दा ८/१० वर्षअघि २२ प्रतिशत आरओई भएको कम्पनीको अहिले १२/१३ प्रतिशतमा सीमित भएको छ ।


क्लिकमान्डु