सीइओको संलग्नतामा प्राइम लाइफमा नक्कली कर्मचारी भर्ना गरेर ३ करोड अनियमिता



काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले नक्कली कर्मचारी देखाएर ३ करोड रुपैयाँ हिनामिना गरेको बीमा समितिले फेला परेको छ ।

कम्पनीले २९ जना नक्कली कर्मचारी बनाई ३ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको नियामक निकाय बीमा समितिले फेला पारेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/०७६ मा कर्मचारी नियुक्त गरेको फेला पारे परेपछि बीमा समितिले स्पष्टिकरण सोधेको हो ।
यस विषयमा गत मंसिर २४ मा बीमा कम्पनीसँग स्पष्टीकरण साधेको समितिले जानकारी दियो । बीमा समितिको अध्ययनको क्रममा प्राइम लाइफका सीइओ मनोज भट्राईको संलग्नता अनियमितामा भेटिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु पौडेलले नक्कली कर्मचारी बनाएर ३ करोड हिनामिना गरेको आरोपमा कम्पनी सहित सीइओलाई कारवाही किन नगर्ने भनेर स्पष्टिकरण सोधेको जानकारी दिए ।

प्राइम लाइफ इन्स्योरेन्सले सो आर्थिक वर्षमा वैदेशिक रोजगारी म्यादी जीवन बीमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रूपमा २९ जना नक्कली कर्मचारी नियुक्त गरेको भेटे पछि समितिले कारबाही गर्ने तयारी गरेको हो ।

कम्पनीलाई बीमा ऐन २०४९ को दफा ३६ को उपदाफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना गर्ने समितिको सञ्चालक समितिले निर्णय गरेको हो ।
उक्त जरिवाना हुन नपर्ने भए पत्र पाएको ७ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेस गर्न समितिले प्राइम कम्पनीलाई निर्देशन दिएको छ ।

कम्पनीले २९ जना नक्कली कर्मचारी बनाई सो बराबरको रकम अनियमितता गरेको समाचारहरु बाहिरिए आए पछि समितिले निरीक्षण गरेको थियो ।
समितिको निरीक्षण टोलीले नक्कली कर्मचारी देखाई रकम हिनामिना गरेको विवरण पाए पछि कम्पनीलाई कारबाही गर्ने तयारी गरेको समितिका एक कर्मचारीले जानकारी दिए ।

‘चार वर्ष अघि कम्पनीले फेक कर्मचारी नियुक्त गरी रकमको अनियमितता गरेको समाचार आएपछि समितिको टोलीले निरीक्षण गरेको थियो,’ उनले भने,‘निरीक्षण टोलीले निरीक्षणबाट ल्याएको प्रविदेन पेश भएपछि कम्पनीलाई पत्र काटिएको हो।’

समितिको निरीक्षण टोलीले निरीक्षण गरेर आए पछि सो टोलीले बुझाएको रिपोर्ट दिए पछि कम्पनीलाई पत्र गएको उनको भनाइ छ ।


‘कर्मचारी नियुक्ति गरियो चाँही देखिन्छ । कर्मचारीको हाजिर चाँही देखिँदैन, समितिका ती कर्मचारीले क्लिमाण्डूसँग भने,‘कर्मचारीको हाजिर नै नदेखिएपछि समितिले कारबाहीको काम अघि बढाएको हो।’

कम्पनीले कर्मचारी नियुक्ति गरेको समेत देखिएको उनले जानकारी दिए । ‘कम्पनीले नियुक्ति गरेको सबै डकुमेण्ट चाँही देखिएको छ । ती कर्मचारीलाई हाजिर नै नगराएको देखिएको छ,’उनले भने,‘वैदेशिक रोजगारी म्यादी बीमाको विषयमा हाजिर गर्ने सिस्टम थिएन भन्ने कम्पनीको भनाइ थियो।’

समितिको निरीक्षण टोलीले नक्कली बीमालेख जारी गरेको समेत फेला पारेको ती कर्मचारीको भनाइ छ ।

प्राइम लाइफका सूचना अधिकारी चिरायु भण्डारी भने उक्त घटनामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कुनै पनि संलग्नता नरहेको दाबी गर्छन् ।

श्रम ऐनअनुसार ओर्क बेसमा काम गर्न लगाउन सक्ने भन्ने व्यवस्था छ । सो व्यवस्था अनुसार कम्पनीले काम लगाएको उनको भनाइ छ । सो कुरा पनि खुलाएर समितिमा पठाएको उनले बताए ।

‘सीइओलाई जरिवाना गर्ने नगर्ने भन्ने विषय नै छैन । ३ करोड रुपैयाँ अनियमितिता गर्यो । पैसा तिराउने भन्ने कुरा नै छैन,’,उनले क्लिकमाण्डूसँग भने,‘बीमा ऐन २०४९ को दफा ३६ को उप दफा १ बमोजिम रु १० हजार मात्र जरिवाना किन नगर्ने ? उक्त जरिवाना हुनु नपर्ने भए पत्र प्राप्त भएको मितिले सात दिन भित्र सप्रमाण सहित लिखित जवाफ पेश गर्नुहुन निर्णय अनुसार अनुरोध गरिन्छ भन्ने छ ।’

तर, कर्मचारीलाई नियुक्त पत्र दिएको उनले बताए । बैंक खाता खोली खातामा समेत रकम एकमुष्ट जम्मा गरेको उनको भनाइ छ ।

‘उनीहरुको महिनामा जे जति रकम आउँछ त्यो रकम बैंक खातामा राखिएको छ । सो प्रमाणसहितको प्रतिवेदन बीमा समितिमा बुझाएका पनि छौँ,’ उनले थपे, ‘त्यो जरिवाना पनि हामीले चित्त बुझ्दो रुपमा जवाफ दिएको अवस्थामा त्यो पनि नहुने अवस्था छ । चार वर्ष अघिको कुरा हो । जुन कुरालाई बीमा समितिले, सञ्चालक समितिले नै स्वीकृत गरि सक्यो ।’


बिजया बास्कोटा