नारायणगढ-मुग्लिन: सडक बिस्तार सकिएको २ वर्षमा पनि बनेनन् पुल, कहिले सकिन्छ ?



काठमाडौं । नारायणगढ–मुग्लिन सडक बिस्तार सकिएको २ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम भने सकिएको छैन । यो सडक बिस्तारका क्रममा बन्नुपर्ने १९ वटा पुलमध्ये ४ पुल बनेपनि १५ वटा पुल भने हालसम्म पनि सम्पन्न हुन सकेका छैनन् ।

आयोजनाले भने कोरोना महामारीका कारण पुल निर्माणको काममा ढिलाइ भएको र अहिले यो कामले तीव्रता पाएको दाबी गरेको छ । नारायणगढ–मुग्लिन सडक बिस्तार आयोजनामा कार्यरत इञ्जिनियर सविना रानाभाटले सडक बिस्तारको काम २ वर्ष अघि सकिएको भएपनि १५ वटा पुल निर्माणको काम भने त्यसपछि शुरु गरिएको बताइन् ।

पुल समयमा नबन्दा यो सडक हुँदै दैनिक यात्रा गर्ने करिब ७ हजार मानिस र १० हजार सवारी साधनले जामको सास्ती भोग्न बाध्य छन् । सो सडक खण्ड पार गर्न अहिले औसत ३० मिनेट लाग्ने गरेकामा सबै पुल सम्पन्न हुँदा १० मिनेट समय कम लाग्ने रानाभाटको भनाइ छ । हाल सडक खण्डमा रहेका पुलहरु जीर्ण अवस्थामा छन् ।

‘कतिपय ठाउँमा रहेका ३ दशकभन्दा पुराना पुलमा एकतर्फी मात्र गाडीहरु आवतजावत गर्न मिल्छ,’ इञ्जिनियर रानाभाटले भनिन्, ‘अहिले सडक ठूलो छ तर पुल साँघुरा र जीर्ण अवस्थामा पुगेका छन् । सडकको चौडाइ जतिको फराकिलो बन्नुपर्ने पुल भने बनिसकेको छैन ।’

यहाँ बन्ने पुलको निर्माणलाई दुई चरणमा गर्ने गरी आयोजनाले काम अघि बढाएको थियो । आयोजनाका अनुसार पहिलो चरणमा मुग्लिनदेखि सिमलतालसम्म ७ वटा र दोस्रो चरणमा सिमलतालरदेखि जुगेसम्म ८ वटा पुल बन्दै छन् । पुल निर्माणको काम अघि बढाएको साढे दुई वर्ष भइसकेको छ ।

अहिले के हुँदै छ ?
यो सडक खण्डमा बनिरहेका पुलहरुको चौडाइ ११ मिटरसम्म हुनेछ । उनका अनुसार अहिले ९ वटा पुल निर्माणको काम भइरहेको छ । अहिले काम भइरहेका र डिजाइनमा रहेका सबै पुल दुई वर्षभित्रमा सम्पन्न गरिने उनले बताइन ।

निर्माण भइरहेका पुलमा निर्माण कम्पनीले नियमित काम गरिरहेको उनको दाबी छ ।

‘ठेक्का सम्झौतामा ३० महिनाको अवधि थियो,’ उनले भनिन्, ‘निर्माण भइरहेका कुनै पनि ठाउँमा व्यवसायीले ढिलाइ गरेको छैन र अरु विवाद पनि छैन । ढिला भएको त कोरना र भौगोलिक कठीनाइले गर्दा भएको हो ।’

जलविरे नदिमाथि निर्माण गरिएको पुल भने सञ्चालनमा आएको छ । रौताह कन्स्ट्रक्सनले करिब ३ वर्ष ६ महिना समय लगाएर आफै डिजाइन तयार गरी पुल निर्माण गरेको हो । इञ्जिनियर रानाभाटका अनुसार पुलको मुख्य काम सकिएको र पुल सवारी साधन सञ्चालनका लागि ८ महिना अघिदेखिनै खुल्ला भइसकेको छ ।

७५ मिटर लामो दुई लेनको पुल करिब १३ करोड ९० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको रानाभाटले जानकारी दिइन् ।

यो सडक खण्डमा बन्ने १५ वटा पुल निर्माणमध्ये जसमा ८ निर्माणाधीन अवस्थाका पुल अहिले अन्तिम चरणमा पुगेको उनले बताइन ।

‘केही पुल निर्माण स्थलमा व्यक्तिगत घर र जग्गा नभए पनि वरिपरि टहरा छन्,’ उनले भनिन्, ‘हामीले त्यहाँ भएका टहराहरू क्षतिपूर्ति दिएर हटाइरहेका छौँ ।’

अबको दुई वर्षमा पुल निर्माणको कार्य सम्पन्न हुने रानाभाटको भनाइ छ ।

‘प्रायः जसो निर्माधिन पुलहरुको पिल्लर ठडिएका छन् । कतिपयको ढलान भइसकेको छ,’ उनले भनिन्, ‘यो खण्डमा बनिरहेका पुलहरुको काम निर्माण कम्पनीले पनि छिट्टै सक्ने गरी काम गरिरहेको छ ।’

१ अर्ब २८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७६ चैत १० मा अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो ।

सडक बिस्तारका लागि सरकारले लगभग ३ अर्ब खर्च गरेको छ । यो राजमार्गलाई एडीबीको सहयोगमा एसियन मापदण्ड अनुसार बनाइएको हो ।


क्लिकमान्डु