बिपी राजमार्गमा सूचनाप्रणाली सञ्चालनार्थ अध्ययन



काभ्रेपलाञ्चोक । पूर्वीतराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा छ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचनाप्रणाली प्रविधिको अध्ययन भइरहेको छ ।

अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको प्रयोग गरी प्रविधिलाई निरन्तर सञ्चालनमा ल्याउने योजना बनाइने सडक विभागले जनाएको छ । उपआयोजनाद्वारा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत सडकखण्डमा व्यवस्थित गरिएको प्रविधिको राजमार्ग प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमासमेत मौसमअनुसारको सूचना अद्यावधिक गर्नसकेको थिएन ।

आयोजनाले राजमार्गको तत्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेललगायतका स्थानमा बोर्ड राखिएको थियो । सडक विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको छ ।

उक्त प्रविधिलाई पूर्णता दिइ सञ्चालनमा ल्याउन अध्ययन भइरहेको विभागको इञ्जिनीयर गीताञ्जली कोइरालाले बताए।

उनले भने, “जाइका एक्सपोर्टस् टिमले अध्ययन गरिरहेको छ, उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइनेछ ।”

उनका अनुसार लामो समयदेखि अध्ययन गरेको उक्त टिमसँग विभागले प्रतिवेदनको ताकेता गरिरहेको छ । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ ।

विभागका उपमहानिर्देशक एवं वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले पछिल्ला केही वर्षदेखि उक्त योजना निरन्तर सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव भएको र त्यसपछि कोरोना महामारीका कारण निरन्तरता दिन नसकिएको बताउँदै अब के कसरी गर्न सकिन्छ छलफल गर्ने बताए ।

“अब तत्काल यसबारे सरोकारवालासँग छलफल गरी रोकिएको काम अघि बढाउने छौँ”, उनले भने ।

यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण भएको थियो ।

पोखरेलका अनुसार हाल सडक बिस्तारका क्रममा अरनिको राजमार्ग प्रवेश क्षेत्र कोटेश्वरमा समेत सूचना बोर्डको पुनःनिर्माण हुनेछ । उक्त सडकको यात्रा सहज बनाउन आकस्मिक सूचना प्रविधियुक्त राजमार्ग बनाउन लागिएको थियो । आउने वर्षाको मौसमसम्म प्राणाली व्यवस्थित भइसक्ने बताइएको छ ।

राजमार्गमा वर्षा, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल र बर्दिबासमा रहने सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।

तीनै स्थानमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । ती बोर्डमा हाल पनि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे कुनैपनि जानकारी हुँदैन ।

राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी छ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको थियो ।

यतिमात्र होइन, वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तयगर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।

एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेबसाइट र इआइएसलाई इञ्जिनीयरिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ ।

यस प्रणालीअन्तर्गत चार केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तररुपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौँ थापाथलीस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालय र सिन्धुली जिल्ला विकास समितिमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस् मोडेलमार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरण एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो ।

२४सै घण्टा विवरण अपडेटमा विद्युत्भार कटौतीले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति ९सोलार०मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको थियो ।

उक्त राजमार्ग हाल राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा लिइएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट विसं २०५४ बाट बनेपा–सिन्धुली बर्दिबास १६० किलोमिटर सडक बिस्तार गरिएको थियो । यो वर्ष मनसुन निकै सक्रिय भएको थियो ।

भारी वर्षाका कारण हप्तासम्म पनि राजमार्ग अवरुद्ध हुन पुगेको थियो । उक्त प्रणालीमार्फत बिपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउनसके सहज हुने अपेक्षा गरिँदै आइएको छ ।


क्लिकमान्डु