लघुबीमामा कम्पनीहरुको आकर्षण न्यून, कार्यक्रमलाई प्रभावकारी बनाउन लाइसेन्स दिँदै समिति



काठमाडौं । लघुबीमामा बीमा कम्पनीको आकर्षण न्यून देखिएको छ । लघुबीमा व्यवसाय गर्दा आम्दानी थोरै हुने भएपछि कम्पनीहरु यसतर्फ आकर्षित नभएका हुन् ।

सरकारले समेत प्राथमिकतामा राख्दै आएको कार्यक्रमलाई वेवास्ता गर्दै बीमा कम्पनीहरु नाफा हुने व्यवसायतर्फ मात्रै केन्द्रित देखिएका छन् । जसले गर्दा लघुबीमा कार्यक्रम ओझेलमा पर्दै गएको देखिन्छ ।

बीमा कम्पनीहरुको कुल बीमा व्यवसायको एक प्रतिशतभन्दा थोरै हिस्सामात्रै लघुबीमामा देखिन्छ ।

न्यून आय भएका वर्गलाई बीमाको दायरामा समेट्ने लक्ष्यसहित बीमा समितिले लघुबीमा योजनाको व्यवस्था गरेको थियो । समितिले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीलाई नै लघु बीमा योजना सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

समितिको निर्देशन बमोजिम बीमा कम्पनीहरुले लघुबीमालेख जारी गरेका छन् । तर, कुल बीमा व्यवसायमा लघु बीमाको हिस्सा भने ज्यादै न्यनू देखिन्छ ।

जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा १ प्रतिशतभन्दा कम

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले एक लाख ६५ हजार २०२ वटा लघु जीवन बीमा पोलिसी बिक्री गरेका छन् । सो मात्रामा लघु जीवन बीमा पोलिसी जारी गरी कम्पनीहरुले कुल १० करोड २३ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका छन् ।

कुल जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा ०.२७ प्रतिशतमात्रै हुन आउँछ । तर, कुल बीमालेखमा भने लघु जीवन बीमालेखको हिस्सा ९.३७ प्रतिशत हुन आउँछ ।

यस व्यवसायमा मेट लाइफ, एलआइसी नेपालले मात्रै लघु जीवन बीमालेख जारी गरेका छन् ।

चालु आवको पहिलो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीहरुले ३७ अर्ब ३३ करोड ७८ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सो अवधिमा १७ लाख ६३ हजार ६१४ वटा कुल बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

निर्जीवन बीमा व्यवसायमा पनि लघुबीमाको हिस्सा १ प्रतिशतभन्दा थोरै

निर्जीवन बीमा व्यवसायमा पनि लघुबीमाको योगदान एक प्रतिशतभन्दा थोरै देखिएको छ ।

यस अवधिमा ५ हजार ३१४ वटा लघु बीमालेख बिक्री गरी ४ करोड रुपैयाँमात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ०.४३ प्रतिशतमात्रै हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

तथ्यांकअनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ७ लाख २२ हजार ६३२ वटा कुल बीमालेख जारी गरेका छन् ।

कम्पनीहरुले ५ हजार ३१४ वटा लघु बीमालेख जारी गरेका छन् । जुन कुल बीमालेखमा लघु बीमाको हिस्सा ०.७४ प्रतिशत हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउन लघुबीमाको लाइसेन्स दिँदै समिति

बीमा समितिले कार्यक्षेत्र तोकेर लघुबीमाको लाइसेन्स दिने भएको छ । हाल सञ्चालनमा आएका जीवन तथा निर्जीवन बीमा कम्पनीले लघुबीमा गर्दै आएका छन् ।

अहिले सञ्चालनमा रहेका कम्पनीहरुद्धारा हुँदै आएको लघुबीमा कार्यक्रम प्रभावकारी नभएको भन्दै समितिले छुट्टै लघुबीमा कम्पनीलाई लाइसेन्स दिने भएको हो ।

लघुबीमा कम्पनीलाई प्राद्रेशिकस्तरमा केन्द्रीय कार्यालय राखेर देशव्यापीरुपमा कारोबार गर्न दिइने समितिको तयारी छ । समितिले प्रदेशस्तरमा लघुबीमाको लाइसेन्स दिने तयारी गरिरहेको हो । ती कम्पनीहरुले प्रदेशस्तरमा बसेर व्यवसाय भने मुलुकभरिको गर्न पाउने समितिको भनाइ छ ।

बीमा कम्पनीहरुले शहर केन्द्रित भएर मुनाफा दिने विजनेशमात्रै लिन खोज्ने प्रवृत्ति देखिएकाले कार्यक्षेत्र नै तोकेर समितिले लघुबीमाको लाइसेन्स दिन खोजेको हो ।

समितिले जीवन तथा निर्जीवन दुबै खाले मोडेलमा लघुबीमाको लाइसेन्स दिने भएको हो ।

बीमा समितिले दुरदराजमा रहेका न्यून आयस्तर भएका नागरिकका लागि लक्षित गर्दै लघुबीमाको कार्यक्रम ल्याएको थियो ।

कम्पनीमार्फत् हुँदै आएको लघुबीमा कार्यक्रम प्रभावकारी नभएपछि समितिले लघुबीमा कम्पनी स्थापना गर्नका लागि अध्ययन समिति गठन गरी अध्ययन गरेको थियो ।

समितिका निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा गठित अध्ययन समितिले प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त अध्ययन समितिले कात्तिक २ गते प्रतिवेदन बुझाएको थियो ।

अध्ययन समितिले बुझाएको प्रतिवेदनमा लघुबीमा कम्पनी नै खोल्नु पर्छ भन्ने कुरा उल्लेख गरिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । छुट्टै लघु बीमा कम्पनी स्थापना हुँदा लघु बीमाका साथै कृषि तथा बाली बीमाको समेत क्षेत्र विस्तार हुने तर्क प्रतिवेदनले देखाएको सिलवालको भनाइ छ ।

‘लघु बीमा कम्पनी नै राख्नु पर्छ भनेर आएको छ,’ अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने, ‘लघु बीमा कम्पनीले मात्रै कृषिको, पशुको त्यसपछि गाउँघरका सानासाना पसलहरुको बीमा हुनसक्छ । र, क्षेत्र विस्तारसमेत होला भन्ने अध्ययनले देखायो ।’

लघु बीमा अध्ययन टोलीले बुझाएको प्रतिवेदनले सुझाएका कुराहरुमा नै आधारित भई अभ्यास गरिने सिलवालले बताए । कृषि, बाली तथा लघु बीमामा कम्पनीहरुको आकर्षण न्यून मात्रामा देखिँदा आफुहरु पनि चिन्तित भएको उनले दावी गरे । र, उपायका लागि समेत लागि पर्ने उनले जोड दिए ।

उनले देशका सबै क्षेत्रमा बीमा पुग्नु पर्ने बताए । सिलवालले भने ‘बीमा सबै क्षेत्रमा पुग्नु पर्यो । कृषिमा पुग्नु पर्यो । कृषिका सबै उत्पादनमा पुग्नु पर्यो । बालीहरुमा पुग्नु पर्यो । पशुपन्छीमा पुग्नु पर्यो । मान्छेका पसलहरुमा पुग्नु पर्यो ।’


बिजया बास्कोटा