चौधरी परिवारलाई फापेन व्यवसायिक राजनीति, बिनोदको जस्तो नियती करणलाई



काठमाडौं । २०५२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा विनोद चौधरीले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए ।

२०५० सालमा महासंघको अध्यक्षमा निर्विरोध अध्यक्ष चुनिएका चौधरीलाई २०५२ सालको चुनाव भने सोचे जस्तो भएन । उनी पद्म ज्योतिबाट पराजित भए ।

२०७८ सालमा महासंघमा जाने पहिलो खुड्किलोका रुपमा लिइने गाडी बिक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एशोसियन अफ नेपाल(नाडा)को अध्यक्षमा बिनोद चौधरीका भतिजा करण चौधरी पराजित भएका छन् ।

करण चौधरी पोखराका व्यवसायी ध्रुव थापासँग पराजित भए । २०५२ सालमा बिनोदले चुनाव हार्दा र करणले हार्दा एउटाको कुराको समानता देखिएको छ । बिनोदले आफूले हार्दा उनको टीमका धेरै व्यक्तिले चुनाव जितेका थिए । करणले आफूले हार्दापनि उनका टीमका १७ सदस्यमध्ये १२ जनाले चुनाव जितेका छन् ।

बिनोदले २०५४ सालमा महासंघमा रहेको कर्पोरेट सिण्डिकेटलाई तोड्न पोखराका व्यवसायी आनन्दराज मुल्मीलाई अध्यक्षमा जिताएका थिए । करण भने नाडामा रहेको कर्पोरेट सिण्डिकेट तोड्न पोखराबाट उदाएका व्यवसायी थापासँग पराजित बने ।

चौधरी परिवारमा बिनोद चौधरी महासंघको राजनीतिबाट अलग भएपछि कोही प्रत्यक्षरुपमा संलग्न थिएनन् । चौधरीको नेतृत्वमा नेपाल उद्योग परिसंघ खुलेपछि उनका परिवारका सदस्यहरु परिसंघका सक्रिय थिए । तर, चौधरीको लगानी रहेका व्यवसायिक प्रतिष्ठानहरु महासंघमा सदस्य भने थिए । बिनोद चौधरीका छोरा निर्वाण अहिले परिसंघमा उपाध्यक्ष छन् । उनलाई परिसंघको भविष्यको अध्यक्षका रुपमा लिइन्छ ।

करण नाडामा अध्यक्ष बनेमा उनी महासंघको राजनीतिमा सक्रिय हुने सम्भावना बलियो थियो । पछिल्लो समय नाडाको अध्यक्ष महासंघको नेतृत्वमा पुगेका छन् ।

महासंघका अहिलेका अध्यक्ष शेखर गोल्छा नाडाका पूर्वअध्यक्ष हुन् भने महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ नाडाका पूर्वउपाध्यक्ष हुन् । यस्तै गतवर्ष भएको महासंघको निर्वाचनमा एशोसियट उपाध्यक्षको निर्वाचन हारेका सौरभ ज्योति पनि नाडाका पूर्वअध्यक्ष हुन् ।

यसले महासंघको राजनीतिमा नाडाको महत्वलाई देखाएको छ । महासंघमा अहिले बरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकालले पनि व्यवसायिक संस्थाहरुको राजनीतिमा आफ्ना छोरा निशान्तलाई चौधरीको प्यानलबाट चुनाव लडाएका थिए । तर, निशान १ मतले चुनाव जित्नबाट चुके । यसले देशका प्रमुख व्यवसायिक घरानाहरुले नाडालाई ध्यानले यसको उचाइ बढाएको थियो ।

२०५२ सालमा महासंघमा भएजस्तो यो पटक नाडाको निर्वाचनमा यस्तै दृष्य थियो । नेपालमा पछिल्लो समय ट्रेडिङ व्यवसायमा निकै फस्टाएको भने गाडी व्यवसाय हो । विश्वका चर्चित ब्राण्डको डिलरसिप लिनका लागि नेपालका प्रमुख व्यापारिक घरानाबीच निकै प्रतिस्पर्धा हुन्छ ।

यसपटकको नाडाको निर्वाचनमा सदस्य संख्या जिल्लामा निकै थपिएको थियो । जसले गर्दा पहिलेजस्तो कर्पोरेट हाउससँग मतभार बढी थिएन । ठूला व्यवसायीहरु प्रष्ट रुपमा दुई समूहमा विभाजित थिए ।

चौधरीलाई टाटाको बिक्रेता सिप्रदी, हिरोको बिक्रेता नेपाल जनरल मार्केटिङ, यामाहाको बिक्रेता एमडब्लु तथा महिन्द्राको बिक्रेता अग्नी ग्रुपको समर्थन थियो ।

पोखराबाट उदाएका थापालाई काठमाडौं बाहिरका बिक्रेताको समर्थन थियो । यसबाहेक हुन्डाई गाडीको बिक्रेता लक्ष्मी ग्रुप, फोर्डका बिक्रेता गोल्छा समूहको समर्थन थापालाई थियो । नाडाका पूर्वअध्यक्ष तथा महासंघका अहिलेका अध्यक्ष शेखर गोल्छाको समर्थन समेत थापालाई भएको चर्चा निर्वाचन स्थलमा थियो ।

धेरैको अनुमान करणले चुनाव जित्नेमा थियो । शुरुमा गणना भएको सदस्यहरुको मतपरिणामले पनि चौधरीले अध्यक्षमा जित्न सक्ने संकेत गरेको थियो । अन्य समयमा फोन सम्पर्क समेत गर्न कठीन हुने र निर्वाचनमै उनको स्वकीय सचिवालयमार्फत् भोट माग्न लगाएपछि चौधरीसँग केही मतदाता उनीसँग रुष्ट थिए ।

नाडामा अध्यक्ष भएका थापा फोर्स मोटरका बिक्रेता हुन् । नाडा खास गरेर गाडी र यसका पार्टस बिक्रेताहरुको संस्था हो । पैसाको ठूलो कारोबार हुने तथा सरकारलाई राजस्वको स्रोत तथा मिडियालाई विज्ञानको एउटा मुख्य स्रोतको कारण यसको चर्चा बढी भएको हो ।

सवारी साधन आवश्यकताको विषय हो । पछिल्लो समय विकसित भएको विद्युतीय सवारी तथा नेपालमै एसम्बेलका लागि नीतिगत विषयमा नयाँ कार्यसमितिले कस्तो काम गर्न सक्छ त्यो भने भविष्यले बताउनेछ ।


क्लिकमान्डु