८०% अनुदान दिँदा पनि कृषि तथा बाली बीमामा आकर्षण न्यून, ३ महिनामा २७% ले घट्यो व्यवसाय



काठमाडौं । सरकारले अनुदानको व्यवस्था गर्दै आएको कृषि तथा बाली बीमामा आकर्षण न्यनू देखिएको छ ।

बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक बर्षको पहिलो त्रैमासको विवरणअनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ३७ करोड ५८ लाख बीमाशुल्क संकलन गरेका छन् ।

गत बर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ३ लाख रुपैयाँको व्यवसाय गरेका थिए । गत बर्षको तुलनामा कृषि तथा बीमा २७.७८ प्रतिशतले घटेको हो ।

निर्जीवन बीमा कुल व्यवसयामा कृषि तथा बाली बीमाको योगदान ३.९६ प्रतिशत मात्रै हुन आउँछ । गत आवको यसै अवधिमा कुल व्यवसायमा कृषि तथा बाली बीमाको हिस्सा ६.२७ प्रतिशत थियो ।

गत आवको यसै अवधिको तुलनामा कुल निर्जीवन बीमा व्यवसायमा कृषि तथा बाली बीमाको बजार हिस्सा खस्किदै गएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार गत आवको यसै अवधिको तुलनामा कृषि तथा बाली बीमाको हिस्सा २.३१ प्रतिशत विन्दुले घटेको हो ।

चालु आवको तीन महिनमा निर्जीवन बीमा कम्पनीले २८ हजार २८० वटा कृषि तथा बाली बीमालेख जारी गरेका छन् ।

गत आवको यसै अवधिमा कम्पनीहरुले ५७ हजार ११३ वटा कृषि तथा बाली बीमालेख जारी गरेका थिए ।

चालु आवको चीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा बाली बीमामा १२ करोड २० लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेका छन् ।

गत आवको यसै अवधिमा कम्पनीहरुले कृषि तथा बाली बीमामा ११ करोड ५० लाख रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेका थिए ।

सरकारले २०७०/७१ देखि कृषि बीमाशुल्कमा ५० प्रतिशत छुट दिएको थियो । समितिले २०७१ फागुन महिनादेखि कम्पनीहरुलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएको थियो ।

आव २०७१/७२ देखि सरकारले कृषि बीमाशुल्कमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । त्यसपछिका वर्षमा पनि सरकारले अनुदानलाई निरन्तरता दिँदै आएको छ ।

सरकरले उक्त अनुदान रकमलाई वृद्धि गर्दै ८० प्रतिशत कायम गरेको छ । किसानले कृषि बीमा गर्दा प्रिमियमको २० प्रतिशत रकममात्रै तिरेर बीमा गर्न सक्नेछन् ।


क्लिकमान्डु