भौतिक पूर्वाधार मन्त्रालयलाई गत वर्ष कोरोना र यसपटक मनसुनको बहाना, पुँजीगत खर्च ७% मात्र



काठमाडौं । चालु आवको पहिलो चौमासिकसम्ममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुँजीगत खर्च ७.०४ प्रतिशत गरेको छ । चालु आवको तुलनामा गत आवमा पुँजीगत खर्च ४.२५ प्रतिशत बढी थियो ।

आर्थिक वर्षको शुरुदेखिनै विकास बजेट खर्च नहुने पुरानै समस्या हो । मन्त्रालयका अनुसार ढिलासम्म सक्रिय भएको मनसुनका कारण काम गर्ने वातावरण नहुँदा खर्च कम भएको हो ।

पछिसम्म आएको वर्षा र वर्षातपछि लगतै चाडपर्व र दशैंका कारण विकास निर्माणका कामले तीव्रता लिन नपाउँदा मन्त्रालयले लक्ष्यअनुसारको पुँजीगत खर्च गर्न नसकेको मन्त्रालयका प्रवक्ता ललिजन खनालले बताए ।

चालु आवको दोस्रो चौमासिकमा भने लक्ष्यअनुसारको काम हुने र सोही अनुरुप प्रगति गर्ने प्रवक्ता खनालको दाबी छ ।

‘सडक विभाग र मन्त्रालय अन्तर्गतका सबै क्षेत्रहरुमा पहिलो चौमासिकमा लक्ष्यअनुसार काम भएको छैन,’ ललिजनले भने, ‘अहिले दोस्रो चौमासिकमा भने काम र खर्चको गति सोचे अनुरुप निकाल्न र पहिलो चौमासिकमा कमी भएको कामको समेत भरपाइ गर्ने गरी काम गर्न मन्त्री, सचिवहरु र सडक विभागका महानिर्देशकहरुको छलफल र स्थलगत अनुगमन भइरहेको छ ।’

भौतिक उपस्थितिमा र भर्चुअल दुबै माध्यमबाट हरेक क्षेत्रका योजना प्रमुख लगायत इन्जिनियरहरुलाई साइटमै बस्न प्रेरित गर्ने र कामको प्रगति विवरण लिने कामका लागि मन्त्रीबाट पहल भइरहेको प्रवक्ता खनालको भनाइ छ ।

‘यसरी काम दत्तचित्त भएर लाग्न सके प्रगति निस्किन्छ,’ खनालले भने ।

भौतिक पूर्वाधार मन्त्रालयलाई विकासे मन्त्रालयको रुपमा पनि लिने गरिन्छ । यस मन्त्रालयको पुँजीगत खर्च हेर्ने हो भने अरु मन्त्रालयको भन्दा पनि कम रहेको छ । यो मन्त्रालय भनेको अरु सबै आवश्यकताको पनि अग्रपंतिमा रहने कुरा भएको प्रवक्ता खनालको भनाइ छ ।

‘अघिल्लो वर्ष कोभिडले अप्ठ्यारो पार्यो,’ खनालले भने, ‘तर, प्रायः जसो भौतिक मन्त्रालयको आर्थिक वर्षको समष्टिगत प्रगति ८० प्रतिशतभन्दा माथिनै हुन्छ ।’

रेल विभागमा भने जग्गाको मुआब्जा समस्या नसल्टिएर प्रगति लक्ष्यअनुसार आउन नसकेको खनालको भनाइ छ ।

‘नत्र सडक विभागमा भने विगतका प्रगति विवरण हेर्दा पनि प्रायः ८० प्रतिशत खर्च र काम भएको छ,’ प्रवक्ता खनालले भने ।

विश्वमा भएको कोरोना महामारी नेपाल आएपछि भने मन्त्रालय अन्तर्गतका काम र पुँजीगत खर्चमा कमी आएको खनालले बताए ।

‘कोरोनाका कारण साइटमा गएर काम गर्न सक्ने वातावरण भएन,’ खनालले भने, ‘लकडाउनका कारण यस्तो भएको हो, नत्र सारै निराशाजनक त छैन ।’

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लम्बिएको मनसुन र अत्यधिक वर्षाले नेपालको विभिन्न ठाउँ मनाङ, बझाङ्गदेखि सिन्धुपाल्चोकसम्म पुर्याएको क्षतिले गर्दा खर्च र कामको प्रगतिमा भएको भएको खनालको भनाइ छ ।

सडक विभाग र मन्त्रालय दोस्रो चौमासिकमा सोचे र लक्ष्यअनुरुपको काम र खर्च गर्न लागि परेको प्रवक्ता खनालले बताए ।

भौतिक मन्त्रालय अन्तर्गतका कुन विभागले कति खर्च गरे ?
भौतिक मन्त्रालयको बजेट धेरै भएपनि पहिलो चौमासिकमा खर्च कम भएको छ । विकासे कामले सोचे जस्तो तीव्रता पाउन सकेको छैन ।

कुल १ खर्ब ५६ अर्ब २५ करोड १० लाख रुपैयाँ बजेट पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहिलो चौमासिकको पुँजीगत खर्च ७.०४ प्रतिशत बराबर मात्रै छ । उक्त मन्त्रालयले पुँजीगततर्फको बजेट १ खर्ब ४६ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ छुट्याएकोमा चालु आवको पहिलो चौमासिकमा पुँजीगत खर्च १० अर्ब ३० करोड ६ लाख रुपैयाँ बराबर गरेको हो ।

त्यस्तै, यसै मन्त्रालयको सडक विभाग अन्तर्गतले कुल १ खर्ब २९ अर्ब ३२ करोड २७ लाख रुपैयाँ बजेट पाएको थियो । यो विभागले चालु आवको पहिलो चौमासिकको पुँजीगत खर्च ०.०८ प्रतिशत मात्र भरेको छ ।

सडक विभागको पुँजीगत बजेट १ खर्ब २७ अर्ब ३७ करोड २२ लाख रुपैयाँ रहेको छ, भने पहिलो चौमासिकमा पुँजीगत खर्च ९ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ गरेको हो । सडकलाई विकासको मेरुदण्डको रुपमा पनि लिने गरिएको छ । यसैको पुँजीगत खर्चको प्रगति विवरण भने सन्तोषजनक छैन ।

मन्त्रालय अन्तर्गतको अर्को यातायात व्यावस्था विभागको पनि चालु आवको पहिलो चौमासिकमा पुँजीगत खर्च जम्मा ०.१४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । यो विभागले कुल २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ बजेट पाएकोमा पुँजीगत बजेट १ अर्ब ५० करोड ५८ लाख रुपैयाँ रहेको छ । विभागले चालु आवको पहिलो चौमासिकमा २० करोड ४१ लाख रुपैयाँ पुँजीगत खर्च गरेको हो ।

त्यस्तै, नेपाल पानीजहाज कार्यलयको चालु आवको पहिलो चौमासिकमा पुँजीगत खर्च ०.५० प्रतिशत भएको छ । यो कार्यलयले चालु आवको लागि कुल ८ करोड ५९ लाख रुपैयाँ बजेट पाएकोमा पुँजीगततर्फको बजेट ६ करोड ७५ लाख रुपैयाँ छ । पानी जहाज कार्यलयले आलु आवको पहिलो चौमासिकमा पुँजीगत खर्च ३ लाख ३७ हजार रुपैयाँ गरेको छ ।

अर्कोे राष्ट्रिय गौरवको सडक आयोजना फास्ट ट्रयाकको पनि चालु आवको पहिलो चौमासिकमा पुँजीगत खर्च जम्मा १.५ प्रतिशत मात्र भएको छ । यो आयोजनालाई नेपाल आर्मीले हेर्दै आएको छ । सरकारले चालु आवको लागि आयोजनालाई कुल ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट छुट्याएको थियो । यसको पुँजीगततर्फको बजेट ८ अर्ब ८४ करोड ४ लाख रुपैयाँ रहेकोमा आयोजनाले चालु आवको पहिलो चौमासिकमा १३ करोड २२ लाख रुपैयाँ पुँजीगत खर्च गरेको हो ।

मन्त्रालयले रेल विभागका लागि कुल ७ अर्ब ६३ करोड २४ लाख बजेट छुट्याएकोमा चालु आवको पहिलो चौमासिकमा विभागले पुँजीगततर्फ जम्मा ४.७१ प्रतिशत खर्च गरेको छ । विभागले चालु आवका लागि पुँजीगत बजेट ७ अर्ब ५६ बरोड ८५ लाख रुपैयाँ रहेकोमा पहिलो चौमासिकको अन्त्यसम्ममा पुँजीगत खर्च ३५ करोड ३७ लाख रुपैयाँ खर्च गरेको हो ।

त्यस्तै, मन्त्रालय अन्तर्गत रहेको सडक र्वोड नेपालको पनि चालु आवको पुँजीगत खर्च अरु विभागहरुको जस्तै छ । सडक बोर्डले पहिलो चौमासिकमा पुँजीगत खर्च ३.४४ प्रतिशत गरेको हो । यो विभागको चालु आवका लागि कुल ७ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ छुट्याएको थियो ।

जसमा पुँजीगततर्फको बजेट ८० करोड ६१ लाख रुपैयाँ रहेकोमा यो विभागले चालु आवको पुँजीगत खर्च २ करोड ७७ लाख ७० हजार रुपैयाँ गरेको छ ।


क्लिकमान्डु