पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको नाफा १५%ले घट्यो, सबैभन्दा धेरै नेपाल लाइफको



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीको खुद नाफा घटेको छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तको अवधिमा १७ जीवन बीमा कम्पनीले एक अर्ब ६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीहरुको नाफा १४.९८ प्रतिशतले खुम्चिएको हो ।

गत आवको यसै अवधिमा कम्पनीहरुले एक अर्ब १७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका पुराना जीवन बीमा कम्पनीको खुद नाफा संकलन रकम घटेको हो । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चार वटा कम्पनीहरुको खुद नाफामा गिरावट आएको छ ।

चालु आवको असोज मसान्तमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी), गुँरास लाइफ र नेशनल लाइफको नाफा घटेको हो ।

जीवन बीमा कम्पनीमध्ये लिडर कम्पनीका रुपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट आएको छ ।

चालु आवको आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ९६.९३ प्रतिशतले घटेर ७० लाख ३३ हजारमा सीमित भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा २२ करोड ९० लाख रुपैयाँ थियो ।

सेयर नोक्सानी लगानीवापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ व्यवस्था गरेका कारण खुद नाफामा गिरावट आएको कम्पनीको भनाइ छ ।

यस्तै, नेपाल लाइफसँगै गुँरास लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को नाफा घटेको छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा गँरास लाइफको नाफा ४.१५ प्रतिशतले घटेर ४० करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ । कम्पनीले गत आवको यसै अवधिमा ४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, नेशनल लाइफको नाफा २६ प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँ र एलआईसीको नाफा ४४.९० प्रतिशतले घटेर ७ करोड ४५ लाखमा सीमित भएको छ ।

फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाका कारणले कम्पनीहरुको नाफामा प्रभाव पारेको हुनसक्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडलको बुझाइ छ ।

अहिलेसम्म प्रोभिजनिङ नगरेका कम्पनीहरुलाई प्रोभिजनिङ गर्दा नाफा संकुचनमा पारेको हुनसक्ने उनको अनुमान छ ।

समितिले दिएका निर्देशनलाई पालना गर्दै कम्पनीहरु एग्रेसिभरुपमा अघि बढ्ने उनको भनाइ छ । दोस्रो त्रैमासको अवधिमा कम्पनीहरुको नाफा बढ्न सक्ने उनले बताए ।

जीवन बीमा कम्पनीहरुको यो नाफा वास्तविक नाफा रहेको जानकारहरु बताउँछन् ।

बिस्तारै जीवन बीमा कम्पनीहरुको नाफा वास्तविक नाफातर्फ गएको उनीहरुको बुझाइ छ ।

समितिले चेक क्लियरिङ नभइ पोलिसी जारी गर्न नपाइने, बीमालेख जारी भएको तीन वर्षपछि मात्रै पोलिसी सरेण्डर गर्न तथा बीमालेख धितोमा राखी ऋण लिन पाउनेलगायतका विषयमा नयाँ निर्देशन जारी गरेको थियो ।

बीमा समितिद्वारा जारी तीनै निर्देशनले समेत जीवन बीमा कम्पनीहरुको नाफालाई प्रभाव पारेको विज्ञहरुको तर्क छ ।

कम्पनीहरुको यो नाफालाई वास्तविक नाफाका रुपमा लिनुपर्ने एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

जीवन बीमा कम्पनीहरु रियल बिजनेशतर्फ गएको र नाफा पनि रियल आकारतर्फ गएको उनको बुझाइ छ ।

‘अहिले रियल विजनेश भएको छ । रियल विजनेश हँुदा कम्पनीहरुको वास्तविक नाफा भएको हो,’ उनले भने, ‘यो म्यानुपुलेट नाफा होइन् ।

पहिलेको नाफा फेक विजनेश गरेर देखाइन्थ्यो । सरेण्डर हुने खालको विजनेश गरेर नाफा देखाइन्थ्यो । तर अहिले कम्पनीहरुले रियल विजनेश गरेको हुँदा नाफा पनि वास्तविक आकारमा आएको छ,’ ।

बीमा समितिले नगद नभई बीमालेख जारी गर्न नपाईने, सरेण्डर गर्न बीमालेख जारी भएको मितिले तीन वर्ष पुग्नुपर्ने तथा बीमालेख धितोमा राखि कर्जा लिन पनि तीन वर्ष कुर्नु भएका कारणले गर्दा पनि कम्पनीहरुको विजनेश वास्तविक हँुदा नाफा पनि वास्तविक भएको उनी बताउँछन् ।

‘बीमा कम्पनीहरुले हिजोका दिनमा लुप होल्सबाट फाइदा उठाएका थिए । त्यसको दुरुपयोग गर्न नपाउँदा जीवन बीमा कम्पनीहरुले वास्तविक विजनेश गरेका कारणले नाफा पनि रियल सेपमा आइरहेको हो,’ उनले भने ।


क्लिकमान्डु