भारतमा क्रिप्टोकरेन्सीलाई अनुमति दिने संकेत, केन्द्रीय बैंकले शुरु गर्यो छलफल



काठमाडौं । विश्वभर प्रभाव पार्दै गएको डिजिटल करेन्सी क्रिप्टोकरेन्सीलाई भारतमा पनि अनुमति दिन सकिने गरी भारतको केन्द्रीय बैंकले छलफल शुरु गरेको छ ।

नियमन र नियन्त्रणसहित यसलाई खुला गर्न सकिने विषयमा भारतको रिजर्भ बैंक (आरबीआई)ले क्रिप्टोकरेन्सी कारोबार गर्न दिने विषयमा विभिन्न वैठक गरेको छ ।

यस विषयमा केन्द्र सरकार र सरोकारवालाबीच पनि छलफल भएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

रिजर्भ बैंकले आयोजना गरेको बैंठकमा बैंकका बरिष्ठ अधिकारी, क्रिप्टो एक्सचेञ्जका प्रतिनिधि, क्रिप्टो ब्रोकर र भारतका आइटी विज्ञको सहभागिता थियो ।

प्रतिनिधीहरुले क्रिप्टोकरेन्सीको विषयमा ह्वाइट पेपरसमेत तयार गरेका थिए । चीनमा क्रिप्टोकरेन्सीलाई पूर्णप्रतिबन्ध लगाए पनि भारतमा भने नियन्त्रणसहित अनुमति दिन सकिने राय बैठकमा आएको समाचारमा उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकको यस बैठकमा केवाईसी फ्रेमवर्क र अवैध लेनदेनको विषयमा पनि चर्चा भएको थियो । सम्पत्ति शुद्धिकरणको समस्याबीच यदि क्रिप्टोकरेन्सीलाई अनुमति दिएमा सम्भावित वित्तीय अस्थिरताका विषयमा थप चिन्ता बढ्ने केही विज्ञको भनाइ छ ।

भारतामा करिब २ करोड लगानीकर्तासँग ४ देखि ५ अर्ब भारतीय रुपैयाँको क्रिप्टोकरेन्सी रहेको अनुमान छ । अहिले बिटक्वाइनमात्र नभएर हजारौं क्रिप्टोकरेन्सी रहेको बताइएको छ ।

यसरी नै क्रिप्टोकरेन्सी बढ्दै गयो भने निकट भविष्यमै रिजर्भ बैंकलाई मौद्रिक नीति बनाउनमा चुनौति थपिने भारतीय विज्ञहरुको भनाइ छ ।

मोदी सरकारले नै क्रिप्टोकरेन्सीलाई अनुमति दिन सकिने भनेर छलफल शुरु गरे पनि यो लागू गर्न सजिलो नभएको बैंक अधिकारीहरुले बताएका छन् । यसका लागि हरेक हार्डवेयरमा क्रिप्टो होल्डिङको ‘डिस्क्लोजर’ राख्नुपर्ने हुन्छ । क्रिप्टोका पक्षधरहरु भारतीय रुपैयाँको जस्तोभन्दा पनि यसको छुट्टै नियम हुनुपर्ने बताइरहेका छन् । जसलाई सजिलै नगदमा बदल्न सकियोस् ।

पछिल्लो पटक भएका छलफलले यसलाई आम्दानी वा पुँजीको रुपमा मानेर कर लगाउनु पर्नेमा जोड दिइएको छ । साथै, क्रिप्टोकरेन्सी खरिदबिक्रीमा विदेशी एक्सचेन्जले गर्ने अनियमितालाई कसरी नियमन गर्ने भन्ने विषयमा सोच्नुपर्ने उनीहरुको सुझाव छ ।

यसको नियमनका लागि कस्तो निकाय बनाउने भन्ने विषयमा पनि स्पष्ट हुन सकेको छैन् ।


क्लिकमान्डु